धरान निवासी कोच नवीन मादेन लिम्बूको सपना बलिउड चलचित्र दंगलका अमिर खानसँग ठ्याक्कै मिल्थ्यो । दंगलमा छोरीहरूका बुवा अमिरलाई छोरीहरूलाई कुस्तीमा स्टार बनाउने चाहना थियो भने नवीनलाई तीन छोरीलाई तेक्वान्दोमा । लाहुरे बस्ती धरानमा जन्मिएका नवीनका छोरीहरूलाई बुवाको तेक्वान्दो खेलमा भन्दा नाच्ने, गाउने, राम्री हुने चाहना थियो । दुई दिदी तेक्वान्दो खेल्दा सिना सानै थिइन् । तर बुवाबाट आउने प्रशिक्षणको दबाब भने उनलाई पनि उस्तै हुन्थ्यो ।
बुवासँग तीनै जना छोरीहरू डराउँथे । घरमा सबैका लागि अनुशासनको घेरा थियो । बिहान बहाना गरी ढिला उठ्ने, अटेरी हुँदा धेरै पटक सजायँ खाने उनको दिनचर्या नै थियो । सानोमा उनलाई मैले कस्तो बुवा पाएँछु, अरूका बुवाहरूले छोरीहरूलाई पुलपुलाएको देख्दा आफूलाई दु:ख लाग्ने बताइन् । स्कुलमा नाच्न च्याम्पियन सिनालाई घरमा भने धेरै नाच्ने समय थिएन ।
जब सिना कक्षा ६ मा पुगिन्, उनको तेक्वान्दोको कक्षा घरबाट बाहिर व्यवस्था गरियो तर कोच भने बुवा नै थिए । दुवै दिदी राष्ट्रिय खेलसम्म खेले पनि विवाह पछि खेल्नै छाडे । त्यसपछि सिनाले संकल्प गरेकी थिइन्, म बुवाको सपनालाई पूरा गर्छु । त्यसैले उनको तेक्वान्दोप्रति रुचि बढेको हो । उनलाई जस्तै कोच नवीनलाई जेठी र माइली छोरीलाई पनि साफसम्मको यात्रा गराउने सपना थियो तर तुहियो ।
सिनाको एउटै लक्ष्य बन्यो, सागमा स्वर्ण पदक जित्ने । यसपटक साग गेम नेपालमा हुँदा पनि बुवा काठमाडौं आउन नपाउँदा मन खिसिक्क बनाएकी सिनाले जब स्वर्ण जितिन्, बुवालाई मात्र सम्झिन् । उनको एउटै वाक्य थियो, मैले बुवाको सपनालाई पूरा गरें । हुन त उनलाई कोचकी छोरी हुँ, जित्नुपर्छ भन्ने प्रेसर पनि थियो । उनले यो साग गेमका लागि धेरै मेहनत गरेकी छिन् । दुई वर्षदेखि पढाइलाई विश्राम दिएर काठमाडौंमा प्रशिक्षण लिएकी हुन् । जितले ऊर्जा र आत्मबल थपेको बताउने सिना मादेनको जीवनमै पहिलो फोटोसुट नारीका लागि गराएकी हुन् ।
(तस्बिर : महेश प्रधान, संयोजन : सिर्जना दुवाल श्रेष्ठ, पहिरन : कासा, पाटनढोका (रमिला नेमकूल) मेकअप तथा हेयर स्टाइल : सुजाता परियार, लोकेसन : होटल हिमालयन, कुपन्डोल)