जबसम्म हामी मानसिक रूपमा स्वस्थ हुन सक्दैनौं तबसम्म हामी कुनै पनि कुरामा सफल हुन सक्दैनौं । त्यस्तै शारीरिक रूपमा स्वस्थ हुन मानसिक रूपमा स्वस्थ हुनैपर्छ भन्ने सोच राख्ने कलाकार हुन्–बेनिशा हमाल । चलचित्र स्वरबाट डेब्यु गरेकी बेनिशाले जीवनमा कहिल्यै हार खाइनन् । उनीसँगै यो क्षेत्रमा आएका केकी र रीमा स्थापित भैसक्दा एक न एक दिन आफू पनि सफल हुन्छु भन्ने आत्मविश्वास थियो उनमा । जसको परिणाम उनले झ्याइँकुटी तथा ब्लाइन्ड रक्स आदि अब्बल चलचित्रमा काम गर्ने अवसर प्राप्त गरिन् । बेनिशाले ब्लाइन्ड रक्समा गरेको अभिनयको निकै चर्चा भयो । उक्त चलचित्रले उनलाई पहिलोपटक सर्वोत्कृष्ट अभिनेतृको अवार्ड समेत दिलायो ।
बेनिशाले चलचित्र क्षेत्रको लामो यात्रामा पात्रअनुसार मोटाउने, दुब्लाउने काम धेरै पटक गर्नुपर्यो । यसका लागि उनी नियमित जिम जान थालिन् । चलचित्र ब्लाइन्ड रक्सका लागि शरीर घटाउने क्रममा फिटनेस फ्रिक बनेकी बेनिशाले त्यसपछि आफूलाई मेन्टेन गर्दै आएकी छिन् । अहिले उनको फिगर आकर्षक छ । नियमित जिम जाने हमाल पब्लिक फिगर भएपछि फिट एन्ड स्मार्ट हुनुपर्ने धारणा व्यक्त गर्छिन् । हरेक दिन जिम गर्ने बेनिशा २० मिनेट कार्डियो तथा वेट लिफ्टिङ गर्छिन् ।
सुटिङमा बाहिर हुँदा पनि उनी स्किपिङ रोप लिएर जान्छिन् । हमालका अनुसार जब आफूलाई फिट र सुन्दर देखिन्छ आफूमा कन्फिडेन्ट लेबल पनि उत्तिकै बढ्छ । बेनिशाले फिट हुन डाइटिङ नगरेकी पनि होइनन् । डाइटिङले दुब्लाए पनि फेसियल चार्म भने घटेको उनले बताइन् । बेनिशा एक्सरसाइज गर्नुका अतिरिक्त ब्यालेन्स डाइट खान्छिन् । एक्सरसाइजले आफूमा काम गर्ने ऊर्जा तथा सिर्जनशीलता बढाएको हमाल बताउँछिन् । पब्लिक फिगरले मात्र नभई हरेक व्यक्तिले आफ्नो फिटनेसप्रति सचेत हुनुपर्छ बेनिशा भन्छिन्–‘स्वास्थ्य नै धन हो ।’
संयोजन : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
लोकेसन : जस्मिन फिटनेस क्लब, त्रिपुरेश्वर