नीति शाह
हुने बिरुवाको चिल्लो पात भनेझैं अहिलेकी व्यस्त र्याम्प मोडल नीति शाह सानैदेखि मोडलिङ तथा मिडियातर्फ आकर्षित थिइन् । त्यतिबेलादेखि मिस नेपाल, मिस वल्र्ड आदि चासो दिएर हेर्ने नीतिले शीताष्मा चन्दले मिस नेपालको ताज जितेपछि आफूमा पनि मिस नेपाल बन्ने चाहना बढेको बताइन् । २० वर्षीया नीति अहिले सेन्ट जेभियर्समा पत्रकारितामा स्नातक तह अध्ययनरत छिन् । स्नातक पूरा गरेपछि मात्र मिस नेपालमा सहभागी हुने उनको योजना छ ।
११ कक्षा अध्ययनरत छँदै मोडलिङ सुरु गरेकी नीतिले १६ वर्षकै उमेरमा फोटोसुट गराइन् । विभिन्न पत्रपत्रिकाको कभर गर्ल बनिसकेकी नीतिलाई नेपालकै सुन्दर महिलाहरूको सूचीमा राख्न थालिएको छ । २०१३ मा हाउस अफ फेसनमा रनरअप भएपछि उनी र्याम्पमा देखिन थालेकी हुन् । फेस अफ आरबी डाइमण्ड नीतिलाई म्युजिक भिडियोमा भने पटक्कै रुचि छैन तर राम्रो चलचित्रको प्रस्ताव आए नाइँ नभन्ने सोच छ । फुर्सदमा नाच्न रुचाउने नीति राम्रो साल्सा डान्स गर्छिन् । नृत्यका साथै उनलाई भ्रमण तथा सामाजिक कार्यमा समेत रुचि छ । भूकम्पपछि उनी साथीहरूसँग मिलेर सहायता नेपाल नामक संस्थामार्फत धेरै ठाउँमा सहयोगका लागि पुगेकी थिइन् ।
नीतिका बुवा अवकाश प्राप्त सैनिक हुन् भने आमा शिक्षिका । एक्ली छोरी नीतिलाई बाल्यकालदेखि नै आमाबुवाबाट कुनै पनि कुरामा रोकटोक भएन । उनका हरेक इच्छा तथा निर्णयमा अभिभावकको साथ रह्यो । सकारात्मक सोच राख्ने हरेक व्यक्ति नीतिका आदर्श हुन् । नीति माल्भिका सुब्बा तथा मिस वल्र्ड–२०१३ मिरगन योडबाट प्रभावित छिन् ।
पहिरन : फेसन ट्रेन्डमा जे छ त्यो फलो त गर्छु तर आफूलाई सजिलो लाग्ने पहिरन नै बढी लगाउँछु । कुर्ती मन पर्छ । कतै जाँदा ठाउँ, समय हेरेर पहिरन छान्छु ।
फिटनेसका लागि : पहिले जुम्बा जान्थें तर अहिले घरमै व्यायाम तथा डान्स गर्छु । म स्वस्थकर खाना एवं फलफूलमा जोड दिन्छु ।
मेकअप : हल्का मेकअप गर्छु । आइलाइनर, क्रिम र लिपग्लस लगाउँछु ।
सपिङ : सपिङ त निकै मन पर्छ । हरेक दिनजस्तो केही न केही किनिरहेकै हुन्छु । त्यसमा पनि लुगा नै बढी किन्छु । पुस्तकमा पनि मेरो पैसा खर्च भैरहेको हुन्छ ।