किंगफिसर सुपरमोडल आस्था

मोडलिङ एवं फोटोसुटमा रमाउने आस्था पोखरेललाई सानैदेखि केही गर्छु भन्ने थियो । र्‍याम्प मोडलिङमा स्थापित आस्थाले २०१५ को मिस नेपालमा सहभागिता जनाएकी थिइन् । मिस नेपालमा उपाधि हात पार्न सफल नभए पनि उनी मोडलिङमा अन्तर्राष्ट्रिय रूपमै आफूलाई चिनाउने योजनाका साथ भारतीय च्यानल गुड टाइम्सको कार्यक्रम ‘किंगफिसर सुपरमोडल–२’ मा भाग लिन पुगिन् ।

उनले देखेको सपना पूरा पनि भयो । आस्था पोखरेल भारतको चर्चित किंगफिसर क्यालेन्डरको आवरणमा छाउने प्रथम नेपाली मोडल बन्न पुगिन्  । ‘किंगफिसर सुपरमोडल–२’ सिरिजकी विजेता बन्दै उनी उक्त क्यालेन्डरमा देखिइन् । ६ हप्ता चलेको सुपरमोडल सिरिजमा उनी नौ स्वदेशी एवं विदेशी मोडललाई पछि पार्दै ‘किंगफिसर सुपरमोडल–२’ की विजेता भएकी थिइन् । ६ वर्षअघि मोडलिङमा प्रवेश गरेकी आस्थाले यसअघि ‘एसिया नेक्ट मोडल’ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

किंगफिसर सुपरमोडल भएर क्यालेन्डरको हिस्सा हुन पाउनु महत्वपूर्ण भएको उनी बताउँछिन् ।’ सन् २००३ मा प्रकाशन प्रारम्भ भएको किंगफिसर क्यालेन्डरमा बलिउड अभिनेतृ क्याटरिना कैफ, याना गुप्ता, पूनम पाण्डे, दीपिका पादुकोण, नरगिस फाखरी तथा उज्ज्वला रावतजस्ता अभिनेतृहरू सहभागी भैसकेका छन् । आस्था अन्तर्राष्ट्रिय फेसन मोडलिङमा स्थान बनाउन सफल सीमित नेपाली मोडलमध्ये एक हुन् । अहिले उनी भारतीय मोडलिङ एजेन्सीमार्फत भारतीय विज्ञापन तथा फेसन शोहरूमा व्यस्त छिन् । आस्था अन्तर्राष्ट्रिय मोडलका रूपमा स्थापित हुने लक्ष्यका साथ अघि बढिरहेकी छिन् ।

संयोजन : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
पहिरन : उमा नेमकुल, काव्य बुटिक, पाटनढोका
मेकअप : श्रद्धा मास्के
भिडियो : मनीष अमात्य
भिडियो सम्पादन : निशान्त श्रेष्ठ
लोकेसन : हेरिटेज गार्डेन, सानेपा

 

अन्य कवर गर्लहरू