![]()
प्रत्येक व्यक्तिका आ–आफ्नै रुचि हुन्छन् । त्यही रुचिलाई धेरैले आ–आफ्नो जीवनमा पछ्याइरहेका हुन्छन् । तर, आफ्नो रुचिलाई पछ्याउँदै प्रिन्ट कलामार्फत रूपान्तरण गर्नेहरू बिरलै भेटिन्छन् । विद्याधीश राजभण्डारी तिनैमध्येका एक थिए । उनले आफ्नो जीवनकालमा धेरै हुलाक टिकट संकलन गरेका थिए । वि.सं. १९४३ देखिका शताब्दीभन्दा बढी इतिहास बोकेका टिकटहरू उनको संकलनमा थिए । ती टिकटलाई आफ्नो जीवन छँदै प्रदर्शनी गरी नयाँ पुस्तालाई देखाउने उनको सपना थियो । पाँच वर्षअघि उनको आकस्मिक निधनले त्यो सपना अधूरै रह्यो । बुवाको निधनपछि ती ऐतिहासिक टिकट संरक्षण गर्ने हेतुले चित्रकार सम्झना राजभण्डारीले सिर्जनामा उतारिन् । बुवाले कालान्तरमा महत्व रहने बताउँदै टिकट संकलन गरिरहेको उनले बाल्यकालदेखि नै नियाल्दै आएकी थिइन् । महामारीको समयमा पुराना टिकटहरूको अवस्था देखेपछि उनले बुवाले साँचेको सपना, केही स्मृतिहरू, टिकटमा समेटिएका ऐतिहासिक समय तथा परिवेशलाई कलामा रूपान्तरण गरेको सम्झनाले बताइन् ।काठको ब्लक (उड कट प्रिन्ट) मा उतारिएका राजभण्डारीका साढे दुई दर्जनभन्दा बढी तिनै हुलाक टिकटका प्रिन्ट चित्रलाई काठमाडौंको बबरमलस्थित ‘नेपाल आर्ट काउन्सिल’ मा गत वैशाखको अन्त्यतिर प्रदर्शनीमा ल्याइन् । साताव्यापी चलेको प्रदर्शनीमा राजभण्डारीले पुराना एक दर्जन हुलाक टिकटलाई हुबहु प्रिन्ट कलामा उतारेकी थिइन् । ‘प्रिन्ट्स अ ट्रिब्युट टु द पास्ट’ शीर्षक दिइएको प्रदर्शनीमा हुलाक टिकटसँगै उनले दिवंगत बुवाको मुहार चित्र पनि ‘उड कट प्रिन्ट’मा पस्केकी थिइन् । उनले सिंगो प्रदर्शनीलाई इतिहास र बुवाको स्मरणका निम्ति श्रद्धापूर्वक समर्पित उपहारका रूपमा लिएको बताइन् । ‘बुवाले लामो समयदेखि हुलाक टिकटहरू संकलन गरिरहनुभएको थियो’, उनले भनिन्,‘यसको महत्व पछि रहन्छ । यसलाई संरक्षण गरेर राख्नुपर्छ भनेर मलाई भन्नुहुन्थ्यो ।’ बुवाले ४० वर्ष लगाएर गर्नुभएको संकलनलाई आफूले प्रदर्शनीमार्फत उजागर गर्न खोजेको प्रतिक्रिया दिइन् । ‘उहाँ (बुवा) ले कसैलाई नबेच्नू भन्नुभएको थियो । यी सबै प्रिन्ट मेरो बुवाको सम्झना र सम्पदा तथा उहाँसँग जोडिएको इतिहासको उपहारका रूपमा समर्पण गर्न चाहन्छु’, उनले भनिन् । संकलित सबै हुलाक टिकटको पृष्ठभूमिमा देखिएका सम्पदा, तत्कालीन समयमा चलनचल्तीमा रहेका पैसालाई प्रिन्ट चित्रमा निकै सुन्दर ढंगले प्रस्तुत गरिएको थियो । दुई पैसा इंगित स्वयम्भू पृष्ठभूमिसहितको हुलाक टिकट, छ पैसा र त्रिचन्द्र अंकित टिकट, २५ पैसासहित कालभैरवको टिकट, ५० पैसाको कालभैरवको टिकटलगायतका चित्रहरू प्रदर्शनीमा थिए । चित्रकलाको पुरानो विधा त्यसैमा पुरानै पक्षलाई कलामार्फत व्यक्त गर्न पाउँदा प्रिन्ट कलालाई अगाडि बढाइरहेकी राजभण्डारीको प्रदर्शनी महत्वपूर्ण रह्यो । उनले भनिन्,‘पछिल्लो समय उड कट प्रिन्टको प्रयोग निकै कम हुन्छ । पुराना हुलाक टिकटहरू पनि हाम्रा लागि इतिहासजस्तै हुन् । यी दुवैलाई अगाडि ल्याउन चित्रकार भएको नाताले मैले आर्ट फर्ममा ल्याएकी हुँ ।’
सुशीला तामाङ, असार १२, २०७९
-- पुरै पढ्नुहोस् --