बजार रिपोर्ट

कसरी चिन्ने उपभोग्य वस्तु  ?

घरायसी खाद्यसामग्री खरिदका लागि ग्रोसरी मार्ट पुगेकी निलिमा त्यतिबेला झसङ्ग भइन् जब काउन्टरका क्यासियरले सय रुपैंयाँ मूल्य राखिएको सामानको १ सय २० रुपैंयाँको बिल थमाए । आफूसँग भएको निश्चित बजेटअनुसार सामान रोजेकी उनलाई त्यतिबेला असहज मात्र भएन उनको आत्मसम्मानमै ठेस पुग्यो । एउटा किन्दा अर्को नि:शुल्क अफरबाट सोनुले उठाएको एक दर्जन बिस्कुटका कारण घरका सबैजसो सदस्य झाडापखालाबाट ग्रसित हुन पुगे । म्याद गुज्रिएका सामग्री किन्दा ध्यान नपुर्‍याउनु उनको गल्ती थियो ।एक्कासि ज्वरो बढेर अस्पताल पुगेका दिनेश हतारमै भर्ना भैहाले । सम्पूर्ण जाँचपछि सबै कुरा ठीकठाक रहेको र सामान्य भाइरलका कारण ज्वरो आएको पत्ता लाग्यो । उनी दुई दिनमै एउटा निजी अस्पताललाई २५ हजार रुपैंयाँ बुझाएर घर फर्किए ।माथिका सबै पात्र उपभोक्ता हुन् । कुनै उपभोग्य वस्तु, सेवा वा भौतिक पूर्वाधार वा प्राकृतिक स्रोतलाई मूल्य तिरी वा नतिरी उपभोग तथा प्रयोग गर्ने व्यक्ति वा संस्था उपभोक्ता मानिन्छन् । अधिवक्ता तथा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ भन्छन्–‘बजारमा कोही कुनै वस्तु वा सेवा प्रदायक भए पनि अर्को वस्तु वा सेवाको उपभोक्ता हुन्छ । त्यसैले वस्तु, सेवा वा भौतिक पूर्वाधार वा प्राकृतिक स्रोत उपभोग गर्ने सबै व्यक्ति उपभोक्ता हुन् । अधिवक्ता ऋषि काफ्लेका अनुसार कुनै शुल्क लिई वा नलिई वस्तु, सेवा, भौतिक पूर्वाधार वा प्राकृतिक स्रोतको उत्पादन वा बिक्री–वितरण गर्ने स्थान विशेष वा कार्यलाई बजार भनिन्छ भने उपभोक्ताले उपभोग वा प्रयोग गर्ने वस्तु वा वस्तुहरूको सम्मिश्रणबाट बनेको स्वास्थ्यलाई हानी–नोक्सानी वा कुनै किसिमको साइड इफेक्ट नगर्ने पदार्थ सम्झनुपर्छ । उक्त शब्दले उपभोग्य वस्तुको निर्माणमा प्रयोग हुने कच्चापदार्थ, रंग, सुगन्ध वा रसायनलाई समेत जनाउँछ । चाडको चटारोसँगै बजारमा भीड बढेको छ । यो आर्थिक कारोवार आकासिने बेला हो, उपभोक्ताहरू सक्रिय हुने बेला हो । यतिबेला खरिददारीका साथै आर्थिक कारोबार चुलिने हुनाले विभिन्न छुट–सेल आदि पनि लागिरहेका हुन्छन् । यस्तो समय र अवसरमा उपभोक्ताहरू ठगिने सम्भावना बढी हुने अधिवक्ता बानियाँ बताउँछन् । बानियाँ भन्छन्–‘विशेष चाडवाडका बखत छुट, सेल तथा अफरहरू खुल्ने हुनाले ग्राहक–उपभोक्ता लोभिने सम्भावना बढी हुन्छ । यतिबेला बिक्री–वितरणका लागि राखिएका सामग्री म्याद नाघेका, बिग्रिएका, कमसल र नाजुकसमेत हुनसक्छन् । यिनै कारणले उपभोक्ताहरू ठगिन्छन् ।’ यस्तो अवस्थामा ग्राहक–उपभोक्ता स्वयं सजग हुनुपर्ने बानियाँको धारणा छ । यसका लागि सम्बन्धित विषयमा सुसूचित र चनाखो रहनुपर्ने, सामान खरिद गर्दा सामानमा प्रयोग भएका तत्वहरू, उत्पादन मिति, म्याद हेर्नुपर्ने एवं ठगिएको खण्डमा कहाँ उजुरी गर्ने भन्ने विषयमा जानकारी राख्नुपर्ने बानियाँले बताए । बजारमा देखिएका चुनौतीहरू नेपालको वस्तु र सेवा बजारमा एकाधिकारपूर्ण, अनुचित एवं निषेधित व्यापारिक क्रियाकलाप व्याप्त छ । प्रदायकहरूबाट कार्टेलिङ, सिन्डिकेट, गुणस्तरहीन वस्तु एवं सेवाको बिक्री, नापतौलमा ठगी, झूटो विज्ञापन, बिलबिजक जारी नगर्ने, दर्ता अनुमतिबिना उत्पादन, आयात, सञ्चय तथा बिक्री कार्य गर्ने, उत्पादनसम्बन्धी विवरण (लेबल) रीतपूर्वक उल्लेख नगर्नेे, म्याद गुज्रिएका सामानहरू बिक्री गर्ने प्रवृत्ति बढी छ । प्रदायकहरूबाट व्यावसायिक आचारको स्वघोषणा र त्यसको पालना हुन सकेको छैन । बजारमा भवन निर्माण आचारसंहिता विपरीत सार्वजनिक भवनहरूको निर्माण तथा प्रयोग, निर्माण सामग्रीहरूमा कम गुणस्तर, बजारमा अवैध रूपमा विषादी, अखाद्य रंग तथा प्रिजरभेटिभ प्रयोग भएका खाद्यपदार्थ बिक्री, अवैध रूपमा मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री तथा व्यापार, कृत्रिम अभाव, कृत्रिम मूल्यवृद्धि, बिचौलिया र कालोबजारीहरूको बिगबिगीजस्ता अनेकौं समस्या व्याप्त छन् ।निजी क्षेत्रका प्रदायकहरूमा संगठित र नाफामुखी प्रवृत्ति छ । सरकारी क्षेत्रका अधिकांश प्रदायक अनुचित राजनीतिक दबाब, स्वायत्तताको अभाव, कमजोर व्यवस्थापन एवं कार्यदक्षताको अभावका कारण संकटग्रस्त अवस्थामा रहँदै आएका छन् । तिनका कतिपय व्यवस्थापक/सञ्चालकहरूमा जागिरे प्रवृत्ति हाबी छ । अनुगमन एवं नियमन गर्ने निकायहरूमा साधनस्रोत र प्रभावकारिताको अभाव छ ।दैनिक घरायसी उपभोग्य वस्तु चामल, दाल, नुन, तेल, ग्यास, मटीतेल, डिजेल, पेट्रोल आदि, हवाई, जलविद्युत्, यातायात, खानेपानी, दूर सञ्चार, अस्पतालका साथै वैदेशिक रोजगारी आदि सेवाका क्षेत्रमा भैरहेको अनियमितता र ठगीबाट उपभोक्ताहरू आक्रान्त छन् । चिकित्सक, कानुन व्यवसायी, प्राध्यापक, इन्जिनियरिङजस्ता पेसाकर्मीमा आचारसंहिताको पालनामा र्‍हास आउँदै गएको छ । व्यावसायिक आचरण र नैतिकवान् व्यवसायीहरू अल्पमतमा पर्दै गएको पाइन्छ । बजारमा सेवा वा वस्तु खरिद गर्दा खुसी हुनुपर्ने उपभोक्ता ठगिएको महसुुुस गर्दै सधंै खिन्न मन लिएर बस्नुपर्ने अवस्था छ ।आजको विज्ञानको युगमा परिस्कृत वस्तु र सेवाको उत्पादन एवं उपभोगको माग बढ्दो छ । साक्षरताको प्रतिशत कम रहेको हाम्रो जस्तो मुलुकमा ठूलो संख्याका उपभोक्तामा सचेतना र जागरणको अभाव छ । उपभोक्ताले होसियार हुने पर्याप्त क्षमता राख्न सक्ने अवस्था छैन । यसरी वस्तु वा सेवामा सेवा प्रदायकबाट हुने दर्ता, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, भ्रमपूर्ण विज्ञापनबाट हुने गरेका अनियमितता, शोषण, अत्याचार एवं ठगीको मारमा पिल्सिनुपर्दा उपभोक्ताहरू पीडित छन् । समयअनुसार उपभोक्ता हित संरक्षणसम्बन्धी कानुनको तर्जुमा एवं परिमार्जनसमेत हुन सकेको छैन । भएका कानुन पनि अधिकार प्राप्त निकायहरूको इच्छाशक्ति र आवश्यक साधनस्रोतको अभावमा प्रभावहीन छ । आवश्यक नीति तथा कानुनहरूको तर्जुमा गरी उपभोक्ताको सचेतना, वकालत र पैरवीको माध्यमबाट प्रदायक र नियामक निकायलाई जिम्मेवार तुल्याई उपभोक्ता माथि परेको मर्काका विरुद्ध क्षतिपूर्ति प्राप्त गर्न सक्षम बनाउँदै स्वच्छ बजार कायम गरी आम उपभोक्ताको अधिकारको संरक्षणमा योगदान गर्नुपर्ने कुरा नै संघ, प्रदेश तथा स्थानीय तहका लागि चुनौती भएको छ ।उपभोक्ता सचेत र जागरूक हुनुपर्ने प्रमुख विषयदर्ता : दर्ताबिनाका वस्तु, सेवा एवं प्रदायक पहिचान गर्न कठिन हुने हुँदा उपभोक्ता ठगिने सम्भावना बढी हुन्छ । त्यस्ता वस्तु, सेवा तथा प्रदायकहरूलाई बहिष्कार गर्नुपर्छ । दर्ता भएका मालवस्तु, सेवा र प्रदायक कहाँ मात्र खरिद गर्ने र बिलबिजक लिने बानी बसाल्नुपर्छ ।आपूर्ति : बजारमा वस्तु र सेवाको आपूर्तिको अवस्था आम उपभोक्ताका लागि सहज र पहुँच योग्य हुनुपर्छ । सिन्डिकेट वा कार्टेलिङ गरी कृत्रिम अभाव सिर्जना गरेको, जम्माखोरी तथा अपचलन गरेको पाइए तत्काल नियामक निकाय वा उपभोक्ता संस्थामा उजुरी गर्नुपर्छ । गुणस्तर : लेबलिङ नभएका, म्याद गुज्रिएका सामग्री उपभोग गर्नु हुँदैन । विषादीयुक्त, बासी, सडेको, मिसावट एवं कमसल वस्तु वा सेवा भएको शंका लागे त्यस्ता वस्तु र सेवा लिन इन्कार गर्नुपर्छ । गुणस्तरहीन वस्तु वा सेवाले उपभोक्ताको स्वास्थ्य र सम्पत्ति दुवैको नोक्सान गर्छ । नापतौल : वस्तु वा सेवा खरिद गर्दा त्यसको नापतौल ठीक भए–नभएको यकिन गर्नुपर्छ । झुक्याएर कम नापतौल बिक्री–वितरण गरेको पाइए तत्काल उजुरी गरी त्यस्ता बिक्रेतालाई सजाय गराई नापतौलमा हुने ठगीबाट जोगिन र अरूलाई पनि जोगाउन सकिन्छ ।मूल्य : वस्तु र सेवा खरिद गर्दा मूल्य हेरी खरिद गर्नुपर्छ । तोकिएको भन्दा बढी तथा अनुचित मूल्य लिए बिक्रेताका विरुद्ध उजुरी गरी कालोबजारी, नाफाखोरी तथा ठगीमा सजाय गराउन सकिन्छ । त्यस्ता बिक्रेतालाई भएको जरिवानाको २५ प्रतिशत रकम उजुरीकर्तालाई कमिसनका रूपमा प्राप्त हुन्छ ।विज्ञापन : विज्ञापनको विश्वासमा परी वस्तु एवं सेवा खरिद गर्न हुँदैन । विज्ञापनमा उल्लेख भएबमोजिम वस्तु र सेवा नपाइए त्यस्तो प्रदायकलाई झुक्याएर बिक्री–वितरण गरेको तथा ठगी गरेको कसुरमा सजाय हुनसक्छ । त्यस्तो विज्ञापनबाट उपभोक्तामा पुग्न गएको हानी–नोक्सानी प्रदायकबाट क्षतिपूर्ति भराई लिन सकिन्छ । कर : रीतपूर्वकको बिलबिजक जारी नगर्ने बिक्रेताको मालवस्तु एवं सेवा कारोवार अवैध हुन्छ । त्यस्ताका विरुद्ध उजुरी गरी सजाय गराउनुपर्छ । करबाट नै राज्यले विकास निर्माणका काम एवं सामाजिक सुरक्षा प्रदान गर्ने भएकाले कर छली गर्ने बिक्रेतालाई बहिष्कार गर्नुपर्छ । नियमन : वस्तु र सेवासम्बन्धी अधिकार प्राप्त नियमन निकायबाट नियमित अनुगमन–नियमन भए– नभएको निगरानी राख्नुपर्छ । आवश्यक सूचना दिएर अनुगमन–नियमनमा सहयोग पुर्‍याउनु उपभोक्ताको कर्तव्य हो । अनुगमन–नियमनका क्रममा हुन सक्ने अनियमितताका सम्बन्धमा चनाखो रहनुपर्छ । उपभोक्ताले ध्यान दिनुपर्ने अन्य कुरा     विज्ञापनको भर नपरौं, गुणस्तर र मूल्य हेरी–बुझी मात्र वस्तु एवं सेवा खरिद गरौं ।    औषधि तथा खाद्यपदार्थ किन्दा उत्पादकको नाम, ठेगाना, दर्ता, मिश्रण, परिमाण, तौल, करसहितको अधिकतम खुद्रा मूल्य, ब्याच नम्बर, उपभोगको म्याद सकिने मिति हेरी उपयुक्त लागे मात्र खरिद गर्नुपर्छ ।     मूल्य तिरेपछि बिल पाउनु उपभोक्ताको अधिकार हो । सामान खरिद गरेपछि बिल लिई सुरक्षित हुनुपर्छ ।    दर्ता नगरी भएका उत्पादन, बिक्रीका मालवस्तु तथा सेवा अवैध भै उपभोक्ता ठगिन सक्ने भएकाले तिनको बहिष्कार गर्नुपर्छ ।    कम नापतौल, कालोबजारी, नाफाखोरी, जम्माखोरी, कृत्रिम अभाव र मूल्यवृद्धि, काटेलिङ, सिन्डिकेट बन्धनयुक्त बिक्रीजस्ता उपभोक्ता माथिको ठगी र शोषणको प्रतिकार गर्नुपर्छ । यस्ता घटनामा उजुरी गरी दोषीलाई दण्डित गराउनुपर्छ ।    डाक्टरको सल्लाहबिना औषधिजन्य पदार्थ प्रयोग एवं सेवन गर्नु हुँदैन ।    विषादीहरू विष हुन् औषधि होइनन् । विषादीको हानिकारक प्रयोग भै अवशेष रहेका खाद्यवस्तु उपभोग गर्नु हुँदैन ।    उत्पादक, आयातकर्ता तथा बिक्रेताबाट वस्तु र सेवाको आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापन करमा हुन सक्ने ठगी एवं शोषणका विरुद्ध सचेत र जागरुक रहनुपर्छ ।    सिसाको मात्रा अधिक भएका, आकर्षक रंगरोगन गरिएका सौन्दर्य सामग्री प्रयोग गर्नुहुँदैन ।    सार्वजनिक स्थानमा सुर्ती एवं मदिराको बिक्री तथा उपभोग गर्नु–गराउनु हुँदैन ।     वातावरण मैत्री वस्तु तथा सेवा नै उपयोग गर्नुपर्छ ।    सूचना नदिने, गलत सूचना दिने, ढिलासुस्ती, असमान व्यवहार, अनियमितता एवं भ्रष्टाचार गर्नेहरूका विरुद्ध आवाज उठाई उनीहरूलाई दण्डित गराउनुपर्छ ।    गुणस्तरहीन वस्तु एवं सेवाका विरुद्ध आवाज उठाउनुपर्छ । उपभोक्तामा पर्न गएको मर्काका विरुद्ध उजुर गरी क्षतिपूर्ति प्राप्त गर्न सकिन्छ । ज्योति बानियाँअधिवक्ता तथा अध्यक्ष उपभोक्ता हित संरक्षण मञ्चउपभोक्ता अधिकारभित्र के–के पर्छन् ?उपभोक्ता अधिकारभित्र ९ वटा अधिकार छन् । सुरक्षाको अधिकार, सुसूचित हुने अधिकार, छनोटको अधिकार, सुनुवाइको अधिकार, उपभोक्ता शिक्षाको अधिकार, वातावरणको अधिकार, पहुँचको अधिकार, क्षतिपूर्तिको अधिकार, प्रतिनिधित्वको अधिकार आदिलाई नेपालको कानुनले सुनिश्चित गरेको छ । अन्याय परे कहाँ उजुरी गर्ने ?पहिलो चरणको उजुरीका लागि वडा कार्यालय, गाउँपालिका, नगरपालिका, प्रहरी एवं सरोकारवाला संघसंस्था आदिमा जान सकिन्छ ।मुद्दा कहाँ हाल्ने ?प्रथम चरणको उजुरीपछि जिल्ला अदालतमा क्षतिपूर्तिको दावीसहित मुद्दा दायर गर्न सकिन्छ । यसमा सजाय तथा क्षतिपूर्तिको व्यवस्था कस्तो छ ?ठगिएको ६ महिनाभित्र क्षतिपूर्तिको मुद्दा दर्ता गराउनुपर्छ । वस्तुको हकमा सामान किनेको हप्ता दिन भित्र साटफेर वा फिर्ता गर्न पाउने व्यवस्था छ तर बिल भने हराउनु हुँदैन । प्रमाणित भएको खण्डमा माग दावीअनुसारको क्षतिपूर्ति पाइने व्यवस्था छ । पछिल्लो समय उपभोक्ता अधिकारसम्बन्धी बढी देखिएका समस्या के–के हुन् ?अहिले उपभोक्ता आफू स्वयं पनि सजग देखिँदैनन् । अर्कातिर नापतौल, गुणस्तरलगायत अस्पताल र शिक्षा आदि सेवामूलक क्षेत्रमा बढी समस्या देखिएका छन् । यातायातका क्षेत्रमा पनि उपभोक्ताहरू मारमा छन् । 

लक्ष्मी भण्डारी थापा, आश्विन ७, २०७६

-- पुरै पढ्नुहोस् --

खरिददारीको बदलिँदो ट्रेन्ड

हिजोआज प्राय: किनमेल डेबिड वा क्रेडिट कार्डबाटै हुन्छ । ठूला मल, सपिङ स्टोर, ग्रोसरी तथा मार्टहरूमा सामग्री किनमेलका लागि नगद बोकेर हिँड्नु पर्दैन । यस्ता ठाउँमा भएका आउटलेट तथा पसलहरूले पनि एससिटी, युनियन पे, भिसा, मास्टर आदि डेबिड तथा क्रेडिट कार्डद्वारा बिल तिर्न सकिने सुविधा उपलब्ध गराएका छन् भने सामान खरिदको बिल सरकारलाई तिर्ने करसहित आफ्नो हातमा आइपुग्छ ।

लक्ष्मी भण्डारी थापा, भाद्र २३, २०७६

-- पुरै पढ्नुहोस् --

घरमै स्वास्थ्य उपकरण

विगत केही वर्षयता नेपालीहरूले पनि स्वास्थ्य नै सबथोक भन्ने कुरामा ध्यान दिन थालेका छन् । स्वास्थ्यप्रति सजग, सचेत र सतर्क हुन थालेकै कारण अहिले मानिसहरू घरमै स्वास्थ्य जाँचका उपकरणहरू राख्न प्रेरित भएका छन् । घातकबाहेक अन्य सामान्य रोगका लागि उपयोगी उपकरण धेरै पैसा नपर्ने र प्रयोग गर्न पनि सजिला भएकाले अहिले मानिसहरू ज्वरो नाप्नकै लागि मात्र अस्पताल धाउँदैनन् ।

लक्ष्मी भण्डारी थापा, श्रावण ३०, २०७६

-- पुरै पढ्नुहोस् --

झलमल्ल भान्सा

अहिले जिउने कला फेरिएको छ । जीवन बिताउने शैली बदलिएको छ । जीवनशैलीमा आएको यो ठूलो परिवर्तनले कमैलाई माक्र नछोएको होला । हरेक व्यत्ति आफ्नो लाइफ स्टाइल अपग्रेडिङमा कन्सस देखिन्छन् । उहिले सुकुल–पिर्कामा बसेर खाना खाने हजुरबुवा–हजुरआमा अहिले डायनिङ टेबलमा बसेर आनन्दसँग खान्छन् ।

लक्ष्मी भण्डारी थापा, जेष्ठ २९, २०७६

-- पुरै पढ्नुहोस् --

सुन्दर देखिन नयाँ प्रविधि

सुन्दर देखिन सामान्यतया गाजल, टीका, सिन्दूर अनि चुरापोतेजस्ता सामग्री प्रयोग गर्ने हाम्रा आमा–हजुरआमाको समयमा अहिले ठूलो परिवर्तन आइसकेको छ । माथि भनिएका सौन्दर्य सामग्री प्रयोग नगरी अन्य विधिद्वारा आकर्षक देखिने ट्रेन्ड बढिरहेका बेला सुन्दरता थप्न नयाँ प्रविधिसँगै नयाँ शैलीको थालनी भएको छ ।

लक्ष्मी भण्डारी थापा, चैत्र २६, २०७५

-- पुरै पढ्नुहोस् --

उज्यालोका लागि मात्र रहेन बत्ती

अहिले बजारमा ९९ प्रतिशतभन्दा बढी लिड–लाइट्स नै उपलब्ध छन् जसको मुख्य कारण कम बिजुली खपत नै हो । शुभ इलेक्ट्रिक इन्टरप्राइजेज भोटेबहालका नवराज पोखरेल बत्तीको इतिहास प्रस्ट्याउँदै भन्छन्–ॅपहिले फिलामेन, त्यसपछि सिसिएल, सिएफएल हुँदै हामी अहिले एलइडी अर्थात् लिडमा आइपुगेका छौं । लिडकै कारण आज हामी लोडसेडिङको चपेटाबाट मुक्त छौं ।’

लक्ष्मी भण्डारी थापा, चैत्र ३, २०७५

-- पुरै पढ्नुहोस् --

यसरी रहौं न्यानो

जाडो महिनामा मसलायुक्त खानेकुराको प्रयोग बढी मात्रामा हुन्छ जसले शरीरलाई न्यानो राख्न सघाउँछ । हिमाली भेगतिर, जहाँ अत्यधिक चिसो र हिउँ पर्ने हुन्छ त्यहाँ फापरको पिठो राखी बनाइएको सुपमा च्याङ्ग्राको सुकुटी मिसाइन्छ, त्यति मात्र होइन विभिन्न जडीबुटी हालेर त्यसलाई अझ स्वादिष्ट बनाइन्छ ।

लक्ष्मी भण्डारी थापा, माघ ३, २०७५

-- पुरै पढ्नुहोस् --

जाडोका प्रसाधन

जाडो लक्षित हेयर तथा स्किन केयरका विभिन्न प्रसाधन अहिले नेपाली बजारमा भित्रिएका छन् । अहिले उच्च गुणस्तरीय ब्रान्डका हेयर तथा स्किन केयर सामग्री नेपालमै उपलब्ध हुन थालेका छन् ।

नारी संवाददाता , पुस ११, २०७५

-- पुरै पढ्नुहोस् --

ज्वेलरी डिजाइनमा नैना

अमेरिकामा सम्पन्न ८० भन्दा बढी मुलुक सहभागी ‘प्रेस्टिजियस ज्वेलरी डिजाइन कम्पिटिसन’ मा टप फाइभमा परेकी काजलको ‘लोटस इन पोन्ड–रेनइसेन्स’ अर्थात् पोखरीमा तैरिरहेको कमलको फूलमा आधारित डिजाइनको औंठी संसारभरका मानिसले मन पराए ।

काजल नैना शेरचन राई, मंसिर १२, २०७५

-- पुरै पढ्नुहोस् --

छुट तथा सेलको रौनक

छुट तथा सेल ग्राहकलाई लोभ्याउने प्रमुख अस्त्र पनि हुन् । छुट भन्नासाथ कुनै पनि सामानमा सहुलियत भन्ने बुझिन्छ । चाडपर्वलगायतका विशेष अवसरमा छुटको बोर्ड सबैजसो पसलमा देख्न सकिन्छ । एउटा किन्दा अर्को सित्तैमा, दुईवटा खरिद गर्दा एउटा अर्को सित्तैमा, २५ देखि ५० प्रतिशतसम्म छुटजस्ता बोर्ड जताततै देखिन्छन् ।

नारी संवाददाता , आश्विन १६, २०७५

-- पुरै पढ्नुहोस् --

शिरोधारा

मनतातो तेलको स्पर्शले मस्तिष्कमा शीतलता प्रदान गर्छ अनि रक्त सञ्चार बढाउँछ । गसले ब्रेनमा अल्फाबिटा वेभ उत्पादन गर्न सहयोग पुर्‍याउने हुँदा डिप्रेसन, एन्जाइटी, अनिन्द्रा आदि समस्या कम गरी स्मरणशक्ति बढाउने काम गर्छ ।

नारी संवाददाता , भाद्र ३१, २०७५

-- पुरै पढ्नुहोस् --