![]()
विपिन कार्की, डाइटिसियनआधुनिक जीवनशैलीमा परिवर्तन आएको छ । योसँगै विभिन्न चाडपर्व, उत्सव एवं समारोहमा वाइनलाई विशेष प्राथमिकतामा राखेको देखिन्छ । पश्चिमा संस्कृतिको नक्कल हाम्रो देशमा पनि थालनी भइसकेकाले पार्टीमा वाइन संस्कारको प्रतीक बन्दै गएको छ ।वाइन शुद्ध प्राकृतिक फरमेन्टसन प्रक्रियाबाट बनाइने पेय पदार्थका रूपमा चिनिन्छ । यो मुख्यतः अंगुर तथा बेरीको जुसबाट प्रशोधित गरिन्छ । अंगुरको वाइन गुणात्मक हिसाबले राम्रो बन्ने हुनाले अंगुरलाई ग्राह्यता दिइन्छ । तर वाइन आल्चा, अम्बा, अनार, जामुन, स्याउ आदिबाट पनि बनाउन सकिन्छ । वाइनमा ८५ देखि ८९ प्रतिशत पानी, १० देखि १५ प्रतिशत अल्कोहल, एक प्रतिशत फ्रुटएसिड र धेरै प्रकारका फ्लेबर र गन्ध हुनुपर्छ ।वाइन बनाउन अंगुरको छनोटसँगै यसलाई सफा गरी क्रसिङ गरिन्छ र त्यसपछि फरमेन्टेसन १० देखि १५ दिनसम्म एअर टाइट कन्टेनरमा गरिन्छ । फरमेन्टेसनपछि वाइनलाई क्लारिफिकेसन गरी एजिङपछि बोतलमा लेबलिङ गरी बजारमा पठाइन्छ । फरमेन्टेसन प्रक्रियाका लागि मुख्यतः चिनी र इष्टको आवश्यकता पर्छ । इष्ट एक जीवाणु हो, यसले चिनीबाट कार्बनडाइअक्साइड र अल्कोहल बनाउँछ । फरमेन्टेसन प्रक्रियामा तापक्रमको मुख्य भूमिका रहन्छ । वाइनको विशेषता त्यसमा हुने अल्कोहलको मात्राले निर्धारण गर्छ ।इतिहासवाइनको विकास भूलवश अंगुर प्राकृतिक तरिकाले कुहेर बनेको भन्ने भनाइ छ । सामाजिक विकासमा वाइनले इतिहासमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । वाइन इतिहासकै पुरानो सिर्जना हो र यसको इतिहास खोतल्दा करिब ४५ सय वर्षअगाडि इजिप्टिसियनहरूले थालनी गरेको उल्लेख गरे पनि पहिलो वाइन मिडलइष्ट तथा चीनमा उत्पादन भएको भनाइ छ । वाइनले इतिहासको मुख्य घटनालाई पनि छोएको देखिन्छ । मुख्यतः क्रिश्चियन धर्मावलम्बीहरूका धर्मगुरु जिसस क्राइष्टले वाइनलाई आफ्नो रगत भनी रातको खानामा समावेश गरेको पाइन्छ । यसैगरी फिजिसियन हिप्फोत्रेट्सले करिब ३५० बिसीमा वाइन स्वास्थ्यका हिसाबले फाइदाजनक हुने अध्ययन गरेका थिए । ग्रीस सभ्यतासँगै यूरोपमा रोमनहरूले करिब १००० बिसीमा अंगुरको विविधता, गुण, रंग र त्यसलाई बनाउने र भण्डारणसम्बन्धी सूचना संकलन गरेको पाइन्छ । रोमनहरूले यूरोपलाई वाइन मेकिङको सेन्टर बनाए ।कति खाने ?अमेरिकी निकाय ‘युएसडिए’ को गाइडलाइनअनुसार पुरुषले दैनिक दुई गिलास (२५० मिलिलिटर) र महिलाले एक गिलास (१२५ मिलिलिटर) सम्म वाइन पिउन सक्छन् । महिलाको शरीरमा पुरुषको भन्दा तुलनात्मक रूपमा पानीको मात्रा कम हुनाले एकै मात्राको वाइन सेवन गर्ने महिलाहरू रगतमा पुरुषको भन्दा अल्कोहलको मात्रा उच्च रहने हुनाले महिलाहरूले वाइन पिउँदा गाइडलाइन फलो गर्नुपर्छ । वैज्ञानिक अध्ययनअनुसार दैनिक १२५ देखि २५० मिलिलिटर रेडवाइन पिउँदा मुटु रोगको जोखिम नहुने र खनिज पदार्थ जस्तै क्याल्सियम, फस्फोरस, जिंकको राम्रोसँग अवशोषण हुन मद्दत पुग्छ ।वाइनका फाइदा‘युनिभर्सिटी अफ रोम’ को एक अध्ययनका अनुसार शुद्ध प्राकृतिक वाइनको सेवनले रगतमा एसिड अल्डिहाइड’ रासायनिक तत्वलाई कम गराई कलेजोमा जम्मा भएका विकारलाई निष्कासन गर्न मद्दत गर्छ । रेडवाइनमा पाइने ‘एन्टिअक्सिडेन्ट’ ले मुटु रोग, सुगर र मृत्युदरको जोखिमलाई कम गराउने अर्को अनुसन्धानले बताएको छ ।अंगुरको बोक्रामा पाइने ‘पोलिफेनोल’ रसायन स्वास्थ्यका लागि राम्रो मानिन्छ । रातो अंगुरमा ‘पोलिफेनोल’ को मात्रा सेतो अंगुरको तुलनामा बढी हुनाले स्वास्थ्यको हिसाबले रातो अंगुर फाइदाजनक हुन्छ । त्यस्तै ब्लुबेरी र अंगुरमा रेसभेराट्रोल रसायन पनि पाइन्छ र यसबाट प्रशोधित वाइनको सेवनले रगतमा खराब कोलस्टेरोलको मात्रा कम गराई राम्रो कोलस्टेरोल बढाउने काम गर्छ । यसले मुटु रोगको जोखिम कम हुन्छ । बेफाइदाधेरै वाइन सेवनले स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्छ । यसले स्तन क्यान्सर, माइग्रेन, प्यांक्रियाटाइटिस, मोटोपन, उच्च रक्तचाप तथा बाँझोपन हुनसक्छ ।निद्रा नपुग्ने : बढी वाइन पिएपछि धेरै मानिसमा सुस्त हुने, रिंगटा लाग्ने, टाउको दुख्ने आदि समस्या देखापर्छन् । यसको मुख्य कारण अल्कोहल पाचन योग्य नहुनाले सानो आन्द्रा हुँदै रक्त प्रवाहमा प्रवेश गर्छ र शरीरका प्रत्येक कोषमा गई सेलुलर गतिविधिलाई वाधा पुर्याउने हुनाले निद्रामा असर पुग्छ ।मोटोपन : वाइन पिउने लत बसेका मानिसले एकैपटकमा एक बोतलसम्म पिउँछन् । एकदेखि दुई गिलास वाइनमा २०० क्यालोरी हुन्छ । एक वैज्ञानिक अनुसन्धानअनुसार पेय पदार्थ बढी सेवन गर्नेहरू खाना बढी खाने र शारीरिक योग कम गर्नाले मोटोपन निम्तिन सक्ने उच्चतम जोखिम हुन्छ ।उच्च रक्तचाप : अल्कोहल बढी सेवन गर्नाले रक्तचाप बढ्नुका साथै मुटु रोग तथा स्ट्रोकको जोखिम बढाउँछ ।प्रजनन क्षमतामा समस्या : गर्भवती महिलाले वाइन तथा मादक पदार्थ सेवन गर्नाले शिशुको तौल कम हुने, जन्मदोष, शारीरिक अपाङ्गताजस्ता समस्या निम्तिन सक्छन् । पुरुषमा पनि बढी अल्कोहल सेवनले गर्दा टेस्टोस्टेरोन हर्मोनको कमी हुँदा शुक्रकीटको गतिविधिलाई असर पारी बाँझोपन निम्तिन सक्छ ।
नारी संवाददाता , फाल्गुन १४, २०७७
-- पुरै पढ्नुहोस् --