विवाह विशेष

विवाहका फरक रंग

‘हरेक पुरुषले आत्माको अमरतामा झैं विवाहको अमरतामा विश्वास गर्नुपर्छ’ बाल्ज्याकले भनेझैं यदि मृत्युपछि पनि अमर रहने हो भने विवाह जरुरी छ भन्ने महावाणीहरू सबैतिर छन् । एच जाइल्सले भनेकै छन्, ‘वैवाहिक जीवनको पारस्परिक सन्तुष्टिभन्दा महान् सांसारिक सुख संसारमा अरु छैन ।’ यिनकै भनाइलाई हेर्ने हो भने पनि मानिस नै एक मात्र त्यस्तो प्राणी हो जो सुख प्राप्तिका लागि सदा संघर्षरत र चलायमान भइरहन्छ ।विवाह के हो ? भन्नेबारे अनेकौं भनाइ छन् । विवाह सामाजिक बन्धन हो, जसलाई मानव सभ्यताले निर्माण गरेको पारिवारिक संगठन पनि भन्न सकिन्छ । यसले महिला र पुरुषलाई निजी परिवार बनाउन उत्प्रेरित, नियमित र संगठित गर्छ । विवाह एक प्रकारको करारनामा हो भन्नेहरू पनि छन्, यस्तो करारनामा, जसका नाममा महिला र पुरुषले आफ्नै जीवनमाथिको स्वामित्व गुमाउँछन् ।आरती – अनिलयहीँबाट जीवनको साझेदारी सुरु हुन्छ । आफ्नो भौतिक र भावनात्मक अस्तित्वमाथि साझेदारी । त्यसो त विवाहलाई लिएर सकारात्मक–नकारात्मक दुवै खाले टिप्पणी सुन्नमा आउँछन् । विवाहमाथि सकारात्मक भनाइ यसकारण छन् कि यसले सामाजिक तथा मानवीय अस्तित्वलाई बलशाली बनाउँछ । विवाहमाथि कतिपय मान्छेहरू यसकारण नकारात्मक छन् कि यो बन्धन हो, यसले मान्छेको स्वतन्त्र उडानलाई अवरुद्ध गर्छ । यद्यपि बहस जे–जस्तो भए पनि विवाह सामाजिक सबलताको एउटा हिस्सा हो । विवाह हुन्छ, त्यसैले मान्छे बलियो हुन्छ । विवाह छ, त्यसैले व्यक्ति, घर, समाज र सभ्यता पूर्ण तथा चलायमान छ ।‘विवाहपछि तिमीलाई आफ्नी पत्नी संसारकी सबैभन्दा सुन्दरी, योग्य एवं राम्री स्त्री लाग्नुपर्छ किनभने विवाह हुनेबित्तिकै पत्नीले तिमीप्रति आत्मसमर्पण गरिदिन्छिन्’ खप्तड स्वामीको यो भनाइले पनि आजको पारिवारिक संस्था बलियो बनाउन उत्प्रेरणा थप्ने काम गरेको छ । यी र यस्तै भनाइ मात्र नभएर संसारमा चलिआएको चलन र नियम पालना गर्दै उदाहरणीय बन्न सफल जोडीहरूकै कारण पनि आजसम्म विवाह नामको संस्था अडिग रहेको समाजशास्त्री विशाल भण्डारी बताउँछन् ।डा. विभूती – डा. अरुणयो ब्रह्माण्डमा विवाहका अनेक रंग छन् । सप्तरंगी इन्द्रेणी झैं रंगहरू बोकेको विवाहका फरक–फरक प्रकार पाइन्छन् । विवाह चाहे जस्तोसुकै होस् तर यसको एउटै उद्देश्य भनेको मान्छेलाई बाँचुन्जेल सांसारिक सुखानुभूति गराउनु हो । मरिजाने चोलालाई सांसारिक सुखको अनुभूति गराएर जीवन सार्थक बनाउनु हो । मनोपरामर्शदाता कविता चापागाईं भन्छिन्, ‘मानव मनोविज्ञान अचम्मको हुन्छ । आफूले चाहेको अनुभव गर्दा उसलाई मानसिक सुख प्राप्त हुन्छ । विवाहलाई पनि यहीँ जोड्न सकिन्छ । जब सन्तान प्राप्त हुन्छ तब मानिस अझै मानसिक रूपमा आफूलाई बलियो महसुस गर्न थाल्छ । वंशको निरन्तरता, कालान्तरको सहारा र बुढेसकालको सुख देख्न थाल्छ र आफूभित्रको बोझलाई हल्का महसुस गर्न थाल्छ ।’अनेकौं रंगद्वारा रंगीन विवाहलाई हामीले यसपटक उसैगरी प्रस्तुत गर्ने प्रयास गरेका छौं । विविध खाले विवाह गरेका फरक प्रकृतिका जोडीहरूको कथा पढेर हाम्रा पाठकहरूले फरक महसुस गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ । अन्तरजातीय विवाह गरेका सञ्चारकर्मीद्वय अनिल परियार र आरती लम्साल, एउटै व्यवसाय अंगालेका डाक्टरद्वय विभूति शाह र अरुण शाही, दृष्टिविहीन जोडी जनक मिझार र ललिता चन्द तथा कलिलै उमेरमा वैवाहिक जीवनमा बाँधिएका अभी क्षेत्री र अरी श्रेष्ठको दाम्पत्य जीवनले पक्कै पनि नयाँ सन्देश प्रवाह गर्नेछ ।अन्तरजातीय विवाह गर्ने धेरै छन् तर विवाहलाई अभियानका रूपमा बदलेर समाज परिवर्तनको साहस उठाउने कमै भेटिन्छन् । तिनै अभियन्ता अनिल परियार र आरती लम्सालले अन्तरजातीय विवाह गरेर विस्थापित भएका, कानुनी उपचार नपाएका, विवाहकै कारण हत्या, आत्महत्या गर्न पुगेका, बहिष्करणमा परेकाहरूको हक, अधिकार र वकालतका लागि ‘बेला फाउन्डेसन’ नामक संस्था खडा गरेका छन् । ‘अन्तरजातीय विवाह गरेर परिवार, समाजबाट बहिष्करणमा परी विस्थापित हुन पुगेकाहरूलाई कानुनी उपचार दिलाउने, परामर्श दिने, तिनीहरूका बालबच्चालाई शिक्षा–दीक्षा दिने काममा सक्रिय भएर लागिपरेका छौं’ अन्तरजातीय विवाहलाई सेवामूलक उद्देश्य बनाएका उनीहरू एकैसाथ भन्छन्, ‘अझै पनि समाजमा अन्तरजातीय विवाह गर्नेहरू विभेदित, अपहेलित भएर बस्नुपरेको छ । यस्ता व्यक्तिहरूलाई दिइने पीडा कमैले आँकलन गर्न सक्छन् । पीडा सहन नसक्नेहरूले मृत्युवरण गर्छन् । त्यसैले हामी असल र सुशासित समाज तथा मानव निर्माणमा लागेका हौं ।’मानिसहरूको बाक्लो आवतजावत हुने घरमा जन्मिएकी आरती लम्सालले कहिल्यै जातीय विभेद महसुस नगरीकन हुर्किइन् । कट्टर ब्राह्मण परिवारकी छोरी उनलाई जातीय विभेद हुन्छ भन्नेसम्म भेउ थिएन । उता अनिल भने आरतीको परिवारले स्विकार्दैन भन्ने भयले विवाहलाई पूर्णविराम लगाउनेमा थिए । तर आरतीको अडिगपनले सात वर्षको अफेयर्सपछि ०७२ वैशाख २९ मा विवाह भएरै छाड्यो । आरती भन्छिन्, ‘जातीय विभेदको अनुभव श्रीमान्को घर गोरखा गएपछि मात्रै भयो त्यो पनि छिमेकी घरको विवाह समारोहमा । त्यसयता मलाई यो विषय निकै चुनौतीपूर्ण लाग्न थाल्यो । त्यो घटनाले हामीजस्तै बाटोमा अरुलाई ल्याउन सहज छैन भन्ने बोध गरायो । त्यसपछि विवाहकै कारण कोही व्यक्ति सामाजिक बहिष्करणमा पर्न नपरोस्, अनाहकमा मृत्युवरण गर्न नपरोस् भनेरै अभियान सुरु गरेका हौं ।’ आरतीका अनुसार अनिलसँगको विवाहपछि उनका समकालीन साथीसंगी छुटे तर उनका बुवा भने उनको पक्षमा खम्बा बनेर उभिएका छन् । अनिललाई जातीय विभेदमा हीनताबोध महसुस गराइदिने यही समाज हो भन्ने लाग्छ । तसर्थ जात ढाँट्ने अथवा जात परिवर्तन गरेर अर्कै लेख्ने गर्नुहुँदैन भन्दै उनी भन्छन्, ‘हाम्रै जातभित्र पनि कयौं डाक्टर, इन्जिनियर, पाइलटलगायत अन्य विशिष्ट पेसामा छन् तिनले आफ्नो वास्तविक जात प्रस्तुत गरेर उदाहरणीय बन्नुपर्छ अनि मात्र समाजमा चेतना आउँछ अन्यथा दलित सधै दलितै मात्र रहन्छन् ।’अरी–अभी हरेक काममा समान दायित्व बहन गर्ने यो जोडी अर्थ र शिक्षालाई मानव जीवनको बलियो हिस्सा मान्छ । अर्थशास्त्रमा स्नातकोत्तर अनिल र समाजशास्त्रमा स्नातकोत्तर आरतीले कठिनपूर्ण समयलाई चिरेर दृढताका साथ अगाडि बढ्नुमा दुवैको बलियो शैक्षिक पृष्ठभूमि र सबल आर्थिक पक्ष नै महत्वपूर्ण रहेको उनीहरुको तर्क छ । ०६२ को जातीय विभेद तथा छुवाछूत कसुर ऐनले विभेदलाई पूर्ण रूपमा बन्देज गरेको भए पनि अझैसम्म नेपालमा जातीयताकै कारण कयौं मानिसले ज्यान गुमाउनुपरेको तीतो यथार्थ कोट्याउँदै अनिल थप्छन्, ‘जब मैले विवाह गर्ने आँट गरें त्यसबेला म पूर्णरूपमा कानुनीलगायत अन्य सुरक्षाको समेत ज्ञान थियो र त मैले त्यो साहस गर्न सकें । यसैगरी सबैमा आफ्नो अधिकारका बारेमा सम्पूर्ण जानकारी तथा चुनौती आइहालेमा समाधान गर्न सक्छु भन्ने आत्मविश्वास भर्नु जरुरी छ । यही नै हाम्रो अभियानको मूल उद्देश्य हो ।’आरती र अनिलको जीवनमा ५ वर्षीर्र्या छोरी आयराले थप खुसी भरिदिएकी छन् । उतिबेला १८ महिनाकी आयरालाई छाडेर आरती अमेरिका जानुमा अनिलको साथ र सहयोगले ठूलो काम गर्‍यो । जहिले पनि श्रीमतीको व्यक्तिगत र व्यावसायिक उन्नति–प्रगतिमा सहयोगी भूमिका खेलेका अनिल भन्छन्, ‘आपसी समझदारी, एक–अर्काको काम र भावना बुझ्ने व्यवहार तथा एक–अर्काका कमजोरीलाई स्विकार्न सक्ने क्षमताले दाम्पत्य जीवन सफल तुल्याउँछ ।’ यसैमा आरतीले थपिन्, ‘जीवनको हिस्सेदार साथी प्राप्त गर्नु नै विवाह हो । सम्बन्धलाई बलियो र सुमधुर बनाउन आफ्ना कर्तव्य पूरा गर्दै जानुपर्छ ।’हास्यरसले पूर्ण डा. अरुण शाही तथा आफ्नो कर्तव्यप्रति अत्यन्तै जिम्मेवार डाक्टर विभूति शाहीको दाम्पत्य जीवन अत्यन्तै रोचक छ । पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विभूति एउटै पेसामा रहेर सेवा गर्न पाउनुमा गर्व महसुस गर्दै भन्छन्, ‘हामीले हाम्रो पेसालाई चुनौतीभन्दा पनि अवसरका रूपमा लिएका छौं । यस्तो महामारीमा समेत हामीले धैर्यपूर्वक विरामीलाई सेवा दिन सकेका छौं । जोडी नै एउटै पेसामा भएकाले हामी दुवैलाई यो अवसर प्राप्त भयो । यसले पनि हाम्रो दाम्पत्य जीवनलाई थप मजबुत बनाउन सघाएको छ ।’ उता विभूति भने आफूहरूको सम्बन्ध दन्त्यकथाजस्तै भएको बताउँछिन् । भन्छिन्, ‘मैले एमडी गर्दै गर्दा साथीहरूबाट कुरा आएको थियो । त्यतिबेला मैले त्यत्ति चासो दिइन किनभने मलाई पढाइ सिध्याउनु थियो । १० महिनापछि फेरि कुरा चल्यो उही व्यक्तिको । त्यतिबेला म पनि अब रिलेसनसीप बनाउनुपर्छ भन्ने मुडमा थिएँ । भेटघाट भयो । कुरा मिल्यो, सम्बन्ध अगाडि बढ्यो ।’अरुण र विभूतिको विवाह भएको चार वर्ष पूरा भएको छ, साथमा ३ वर्षीय छोरा छन् । यो अन्तरालमा उनीहरूबीच साधारणबाहेक कुनै मनमुटाव भएको छैन । अरुणको हँसमुख स्वभाव र छोराको मुस्कानले विभूतिको दिनभरीको थकाइ र तनाव भुलाइदिन्छ । विभूतिको साधारण र सभ्य व्यक्तित्वका साथै इमान्दारिताले आफूलाई आकर्षित गरेको बताउँदै अरुण भन्छन्, ‘परिवारका लागि समय निकाल्न मलाई असाध्यै कठिन हुन्छ त्यस्तो बेलामा पनि मेरो काम र पेसालाई बुझेर उनले हरेक कुराको व्यवस्थापन आफैंले गर्छिन् । वास्तवमा यही नै सम्बन्ध हो जुन दिनप्रतिदिन झन् प्रगाढ हुँंदै जान्छ ।’ दुवैजना आ–आफ्नो काममा व्यस्त भएकाले सँगै रहँदा गुणस्तरीय समय र संवाद हुने विभूति बताउँछिन् । विभूतिका लागि विवाहअगाडि र पछाडिको अवस्था केही बदलिएको छैन । घरपक्षका परिवारका सदस्य शिक्षित भएकाले छोरी र बुहारी हुनुको विभेद उनले महसुस नै गर्न पाइनन् । ‘विवाह करले होइन रहरले टिकाऔं’ भन्दै उनीहरू धैर्य, इमान्दारिता एवं राम्रा पक्षको प्रशंसा गर्ने बानीले वैवाहिक सम्बन्ध सुमधुर हुने बताउँछन् । ‘सम्बन्धलाई ग्रान्टेड लिन भएन, मेन्टेन गर्दै जाने हो । सही र गलत आफैंले छुट्याउँदै जाने हो ।’ दाम्पत्य जीवनलाई सदाबहार राख्नका लागि मूलतत्व केलाउंँदै विभूतिले भनिन्, ‘एक–अर्काको कमजोरीलाई सुधार्दै र स्विकार्दै, राम्रा पक्षहरूमाथि प्रशंसा गरी जीवनमा उत्साह थप्दै अगाडि बढ्न सकियो भने सधै नयाँ जोडीको अनुभूति गर्न पाइन्छ । सम्मान, समझदारी, विश्वास, गुणस्तरीय समय सम्बन्ध प्रगाढ बनाउने थप तत्व हुन् ।’छोराका लागि मात्रै होइन हरेक काम र व्यवहारमा अरुण र विभूतिले बराबर जिम्मेवारी बहन गर्दै आएका छन् । दुवै जना एउटै पेसामा भएकाले एक–अर्काको कामलाई बुझ्न सहज भएकै कारण आफूहरू सफल भएको उनीहरूको ठम्याइ छ । रोग, बिरामी र अन्य केसहरूका बारेमा एक–अर्कामा सेयरिङ गर्ने गरेका अरुण–विभूति एकले अर्कालाई सक्दो सल्लाह–सुझाव दिन्छन् । यो अवस्थामा कोभिड फ्रन्ट लाइनर भएर जनतालाई सेवा दिन पाउँदा गर्वानुभूति गरेको यो जोडीको चलायमान जीवनलाई गुणस्तरीय तथा रमणीय बनाउँदै लैजानुमा दुवैको उत्तिकै योगदान रहनुपर्ने धारणा छ ।जन्मिएको ३ वर्षपछि दृष्टि गुमाउन पुगेका बाजुराका जनक मिझार र ४ वर्षको उमेरपछि दृष्टिविहीन बन्न पुगेकी दैलेखकी ललिता चन्दको जोडीलाई उदाहरणीय मान्नुपर्छ, कारण यी दृष्टिविहीन जोडी हाँसीखुसी जीवन बिताइरहेका छन् । जनक भन्छन्, ‘दृष्टि भएर पनि नभएजस्ता मान्छे यो संसारमा अनगिन्ती छन् । आफूजस्तै जीवनसंगिनी पाएर म अत्यन्तै हर्षित छु । आँखा देख्ने श्रीमती भएको भए जीवन यत्तिको सहज हुन्थ्यो हुन्नथ्यो म भन्न सक्दिन तर अहिले हामी दुवै खुसी छौं ।’ बाजुराको गाउँमा हुर्किएका जनक धनगढी हुँदै काठमाडौं पसेका हुन् । नेपाली साहित्यमा स्नातकोत्तर गरेका उनी लकडाउनअघि धूप बेच्ने काम गर्थे, त्यही पनि महामारीले खोसिदिएपछि तीन सन्तान र श्रीमती पाल्न हम्मे परेको बताउँछन् । ‘अरुले जसरी जीवनयापन गरिरहेका छन् हामीले पनि त्यसैगरी दुःखसुख जीवन चलाइरहेका छौं’ ललिताले भनिन्, ‘दाम्पत्य जीवन सहज र विश्वासयोग्य बनाउन एउटा आगो भए अर्को पानी बन्नुपर्छ । अनावश्यक शंका–उपशंका गर्नु हुँदैन ।’ श्रीमतीको शिष्टता र मीठो बोलीबचनमा जनक मोहित छन् भने श्रीमान्को बानी–व्यवहार ललितालाई असाध्यै मनपर्छ ।दुवै दृष्टिविहीन हुनुका लाखौं चुनौतीका बाबजुद पनि यो जोडी सौहार्द र खुसीयालीपूर्ण जीवनयापन गर्न सफल छ । श्रीमान्ले समय दिए हुन्थ्यो भन्ने ललिता श्रीमान्को दुःख देख्दा मन कटक्क खाने बताउँछिन् । जनकलाई भने ललिता आत्मनिर्भर भएको हेर्ने रहर छ । ३ वर्षको उमेरमा आँखा पाकेपछि बाजुराका गाउँलेले फिटकीरी घोलेर उनको आँखामा हालिदिए तब उनको आंँखाको दृष्टि गुम्यो । यता ललिता ४ वर्ष टेकेकी थिइन् टाइफाडले समात्यो र दृष्टिविहीन हुन पुगिन् । पढाइका लागि धनगढी झरेपछि यी दुईको भेट भएको हो । जनकले भने, ‘पढाइ सकिएपछि दुवै आ–आफ्नो बाटो लागियो । भावीको लेखा सँगै हुनु रहेछ बाह्र–पन्ध्र वर्षपछि फेरि भेट भयो । पहिल्यै एक–अर्काको सवै कुरा बुझेर विवाह गर्‍यौं ।’ केही कुरा भाग्य र कर्ममा विश्वास गर्नुपर्छ भन्ने ललिता विवाह निश्चित गर्दा नै सँगै बाँच्ने सँगै मर्ने कसम खाएकाले आफूहरूको जोडीलाई कुनै आँधीहुरीले नबिथोल्ने बताउँछिन् ।ललिता–जनकविवाह हुँंदा अरी श्रेष्ठ १८ वर्षकी थिइन् भने अभी क्षेत्री २० वर्षका । प्रेम विवाह गरेको यो वर्ष दिनभित्र उनीहरूले निक्कै संघर्ष गरेका छन् र पनि आफूहरूले खुसीसाथ जीवनयापन गरिरहेको बताउँछन् । ‘सानैमा विवाह गर्दा हरेक जिम्मेवारी आफ्नो थाप्लोमा आउने भएकाले छिट्टै परिपक्व भइँदोरहेछ’ छिटो विवाह गर्दाको अनुभव सेयर गर्दै अरी भन्छिन्, ‘आफूमा सबै व्यवहार परेपछि आमाबुवाले कति दुःख गरेर सन्तानलाई खुसी दिँदा रहेछन् भन्ने ज्ञान भयो । सुख–दुःख बुझियो । यही उमेरमै जीवन बुझियो ।’ सिन्धुपाल्चोकका अभी सम्बन्ध निभाउन सक्छु भन्ने आत्मविश्वास भएपछि मात्रै विवाह गुर्नपर्छ भन्ने धारणा राख्दै भन्छन्, ‘हाम्रो जस्तो उमेर र परिस्थितिमा जो कोही टिक्न सक्दैनन् । धेरै गाह्रो हुन्छ । अब म सम्बन्ध सम्हाल्न सक्छु भन्ने आत्मविश्वास भएपछि मात्रै विवाह गर्दा उत्तम हुन्छ ।’ टिकटकमा ‘अरिभी’ का नामले भाइरल यो जोडी उमेरमै विवाह गर्दा संघर्ष कठिन भए पनि सबै कुरा समयमै हुने र छिट्टै परिपक्व भइने बताउँछन् । दाम्यत्य जीवन टिकाउन विश्वास, समझदारी एवं समान जिम्मेवारी बोध हुनुपर्छ भन्ने अरिभी आफ्ना हातखुट्टा चलुन्जेल आफैं गरी खान सक्नुपर्छ अनि मात्र एकमाथि अर्को बोझ बन्दैन भन्नेमा विश्वास गर्छन् । विवाहलाई दुई व्यक्तिबीचको आपसी समझदारी भन्ने बुझेका अरिभीलाई बेलैमा विवाह गरेर आफूहरूले जीवनको सही निर्णय गरियो भन्ने लाग्छ । अरीको जिम्मेवारीपन, परिवारलाई महत्व दिने स्वभाव र परिपक्व व्यवहारबाट लोभिएका अभी रिसाउने बानी भने सुधार गर्नुपर्ने बताउँछन् । अरी भन्छिन्–‘अभी अली अटेरी छ, अह्राएको काम गरिहाल्ने बानी छैन यो सुधार्न सके ऊ धेरै अगाडि पुग्नेछ । अरु त ऊ पर्फेक्ट साथी र जीवनसाथी दुवै हो ।’आफ्नै बेस्टफ्रेन्डसँग लभ अफेयर्स हुँदा अरीले पाएको दुःख–पीडा र यातना देखेर उसलाई यो दलदलबाट निकाल्छु भन्ने उद्देश्यका साथ अरीसँग फ्रेन्डसीप गर्न पुगेका अभी कालान्तरमा उनैलाई दुलही बनाएर भित्र्याए । सिन्धुलीकी अरी पनि अभीको इमान्दारिता र आफूप्रतिको समर्पण देखेर उनीप्रति नतमस्तक छिन् । दुवैले एक–अर्काको गहिराइसम्म पुगेर बुझ्न सकियो भने विवाह सफल हुन्छ भन्ने उनीहरू तँभन्दा म के कम्, म गर्ने तँ नगर्ने भन्न थाल्ने हो भने उमेर पुगेरै गरेका विवाह पनि टुंगिने धारणा राख्छन् । अभी भन्छन्, ‘अरी जे छ ऊ पूर्ण छ, उसको साथ पाएर म खुसी छु । ऊ सँगै हुँदा जे पनि गर्न सक्छु भन्ने ममा आत्मविश्वास बढेको छ ।’ अभीका मामा–माइजू, हजुरआमा आदिले स्वीकार गरे पनि आमाले अझैसम्म स्वीकार नगर्दा अरीलाई नमीठो लाग्छ । परिवार एकत्रित हुने चाहना व्यक्त गर्दै अरी भन्छिन्–‘ममीले अभीलाई मात्रै बोलाउनुहुन्छ, खानेकुरा–उपहार पठाइदिनुहुन्छ तर मसँग भेट्न मान्नुहुन्न, यस्तो बेला एकदमै नरमाइलो लाग्छ । अभीका बुवा हुनुहुन्न, दुईवटा भाइ, ममी र मलाई एकैठाउँमा राखेर ऊ खुसी भएको हेर्ने रहर छ । उसले आफ्नो सपना र लक्ष्य पूरा गरेको देख्ने इच्छा छ ।’- तस्बिरहरु : महेश प्रधान

लक्ष्मी भण्डारी, मंसिर ७, २०७७

-- पुरै पढ्नुहोस् --

बिहाबारी कति वर्षपारि ?

विवाहका लागि सही जीवनसाथी चयन गर्नु सबैभन्दा कठिन कार्य हो । अहिले त विज्ञानका अनुसार पनि विवाहका लागि सही उमेरका बारेमा जानकार हुनु आवश्यक छ ।

रोजिन शाक्य, मंसिर ५, २०७७

-- पुरै पढ्नुहोस् --

विवाहको बन्दोबस्ती

विवाहको बन्दोबस्ती पहिलेको तुलनामा अहिले सजिलो भएको छ । कतिपय कम्पनीले विवाहमा आवश्यक सबै तारतम्य मिलाइदिने भएकाले सजिलो भएको हो । अहिले कार्ड छाप्ने, किनमेल गरिदिने, कार्ड बाँड्ने, घर सजाउने, गाडीको व्यवस्था गर्ने, खानपान, अतिथि सत्कारदेखि गरगहना किनमेलसम्मको काम गरिदिने कम्पनी खुलेका छन् ।

मंसिर ५, २०७७

-- पुरै पढ्नुहोस् --

शरीरका यी अङ्गको एक्सफोलिएट 

ओठको पनि एक्सफोलिएट गर्नु जरुरी छ । यसबाट ओठका शुष्क तथा मृतकोशिकाहरू हटाउन सकिन्छ । बजारमा अनेकौं प्रकारका लिप स्क्रब उपलब्ध हुन्छन् । ओठलाई नरम एवं गुलाफी बनाउन खैरो चिनीमा थोरै मात्रामा ओलिभ आयल वा मह मिसाएर ओठमा मल्न सकिन्छ । 

नारी संवाददाता , मंसिर २०, २०७६

-- पुरै पढ्नुहोस् --

प्रि–म्यारिटल काउन्सिलिङ 

विवाह सम्झौता र पश्चातापमा बिताउनु नपरोस् भनेर प्रि–म्यारिटल काउन्सिलिङ आवश्यक हुन्छ । विवाहपछि जिम्मेवारी बढ्छ, जसलाई निर्वाह गर्न, एक–अर्काको अपेक्षा बुझ्न तथा त्यसमा खरो उत्रन आवश्यक हुन्छ ।

सुजाता मुखिया, मंसिर ९, २०७६

-- पुरै पढ्नुहोस् --

मौसम मधुमासको

नवदम्पतीहरू विवाहलगत्तै एक–अर्कासँग नितान्त निजी पल साट्न चाहन्छन् । विवाहको धपेडीबाट विश्राम लिने उपयुक्त बाहना पनि हो यो हो भने भोलिका दिनमा कसरी दाम्पत्य जीवनलाई अघि बढाउने भन्ने पूर्वतयारी पनि हो । त्यसैले विवाह लगत्तैको हनिमुन एउटा सुखद् सुरुवात हो । विवाहको थकान मेट्ने अवसर भएकाले हनिमुन जानु भनेको रिफ्रेस हुनु पनि हो ।

नारी संवाददाता , मंसिर ४, २०७६

-- पुरै पढ्नुहोस् --

जात–जातिहरूको विवाह संस्कार

विवाह प्रथाको इतिहास धेरै पुरानो मानिन्छ । विवाह आजसम्म आइपुग्दा तीन स्थितिबाट गुज्रिसकेको छ । एक समय थियो जब विवाह शक्तिको बलमा हुन्थ्यो । केटाले जुन केटी मन पराउँथ्यो, उसले केटीलाई चोरेर वा शक्ति प्रदर्शन गरी जितेर ल्याउँथ्यो र आफ्नी पत्नी बनाउँथ्यो । राजा–महाराजाहरूमा स्वयम्वरमार्फत विवाह गर्ने प्रथा थियो ।

त्रिचन्द्र प्रतीक्षा, माघ २२, २०७५

-- पुरै पढ्नुहोस् --

दुलहीको  दाँतको हेरचाह कस्मेटिक उपचार

विवाहको मौसम छ । हाम्रो जीवनमा सौन्दर्य र फेसनका साथै मुस्कानको पनि महत्वपूर्ण भूमिका हुन्छ । त्यसकारण पनि राम्रो मुस्कानका लागि चिटिक्क मिलेका सेता दाँत आवश्यक मानिन्छ ।

डा.रिना शाक्य, माघ १७, २०७५

-- पुरै पढ्नुहोस् --

फोटो–भिडियोका लागि ड्रोनको माग बढेको छ

विवाह जीवनकै सबैभन्दा सुन्दर मुभमेन्टमध्ये एक हो । यो सुन्दर क्षणलाई स्मरणीय बनाउन अहिले वेडिङ फोटोग्राफी तथा भिडियोग्राफी गर्ने चलन छ । वेडिङ फोटोग्राफीलाई नेचुरल मुभमेन्ट र एक्प्रेसन कैद गर्ने फोटोग्राफीका रूपमा लिइन्छ, जहाँ विवाह गतिविधिका सबै सुन्दर, खुसी, उमङ्ग र रोदनका क्षणहरूलाई सुन्दर एवं जीवन्त रूपमा क्यामेरामा कैद गरिन्छ ।

नारी संवाददाता , माघ १५, २०७५

-- पुरै पढ्नुहोस् --

पूर्ण प्याकेजमा के–के हुन्छ ?

विवाहका लागि पूर्ण प्याकेज उपलब्ध गराउनेहरूले विवाहको छिनोफानोदेखि हनिमुनसम्मको प्याकेज उपलब्ध गराउँछन् । प्याकेजमा सपिङ, ठाउँ छनोटदेखि बजेटको योजनासम्मको कामका साथै ब्याचलर पार्टीको समेत प्रबन्ध मिलाइन्छ ।

नीता पौडेल, वेलकम वेडिङ माघ ५, २०७५

-- पुरै पढ्नुहोस् --

मन खोलेर गरिन्छ विवाह

विवाह अब बुवाआमा वा परिवारको चाहनामा मात्र सीमित रहेन । अहिले दुलहा–दुलहीले आफ्नो चाहनाअनुसार विवाहको योजना बनाउन थालेका छन् । तिनै जोडी र परिवारको इच्छा पूरा गर्न थुप्रै कम्पनीले विवाह प्याकेज उपलब्ध गराउन थालेका छन् जहाँ विवाहको छिनोफानो गर्नेदेखि हनिमुनसम्मका प्याकेज उपलब्ध हुन्छन् ।

सिर्जना दुवाल श्रेष्ठ, माघ ५, २०७५

-- पुरै पढ्नुहोस् --