एक दिन

दुना–टपरी गाँस्न सिकाउँदै  हजुरआमा

किशोरावस्थाका बालबालिकाको बीचमा केश फुलेर सेतै भएकी हजुरआमा प्रशिक्षकको भूमिकामा छिन् । हातमा पात र सिन्का बोकेर उत्साहपूर्वक हजुरआमाले सिकाएको सीप सिक्न व्यस्त छन्–उनीहरू । अहिले लोप हुँदै गएको दुना–टपरी गाँस्ने प्रशिक्षण पनि प्रदान गरिन्छ भन्दा अनौठो लाग्न सक्छ । यद्यपि धनकुटास्थित हाम्रो बहुमुखी पाठशालाले दुना–टपरी गाँस्न सिकाउन ८५ वर्षीया लक्ष्मीदेवी श्रेष्ठलाई प्रशिक्षक बनाएको छ । सालको पातबाट बनाइने दुना–टपरी गाँस्ने प्रशिक्षणमा जिल्लाका ८ विद्यालयका ३० जना बालबालिका सहभागी छन् । बढ्दो प्लास्टिकजन्य वस्तुलाई निरुत्साहित गर्न पनि पातबाट बनाइने दुना–टपरी तालिम प्रदान गरिएको पाठशाला प्रशासनले बताएको छ ।‘लु यता ध्यान दिएर हेर त बाबुनानी’ प्रशिक्षक श्रेष्ठ सहभागीहरूको ध्यान खिच्दै थिइन् । उनी छात्रछात्राहरूलाई दुना–टपरी तथा बोहता बुन्न सिकाइरहेकी थिइन् । सहभागीहरू उनले बनाएको शैली नियाल्दै थिए । नयाँ पुस्तालाई सीप सिकाउन पाउँदा उत्साह जागेको श्रेष्ठले बताइन् । ‘खुसीको सीमा छैन’, उनले भनिन्–‘अहिलेका बालबालिकाले सिक्न चाहे भने सजिलै सिक्दा रहेछन् । झन्डै साढे सात दशक पहिले आफ्नी आमाले सिकाएको सीप पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न पाउँदा म निकै खुसी छु ।’ स्थानीय त्रिवेणी माध्यमिक विद्यालयमा अध्ययनरत अनुजा राईले आफ्ना गाउँघरमा पाइने ठूला हरिया पातबाट दुना–टपरी बनाउन सकिने भएकाले सीप सिक्न आएको बताइन् । राईले भनिन्–‘अब घरमा फुर्सदमा दुना–टपरी बनाउनेछु ।’प्रशिक्षकका रूपमा ६० वर्षीया शारदा श्रेष्ठ पनि साथमा छिन् । उनले पनि आफ्नी आमाबाट सिकेको सीप पछिल्लो पुस्तामा हस्तान्तरण होस् भन्ने चाहेको बताइन् । गोकुण्डेश्वर माविकी ८ कक्षाकी छात्रा सजना बिसंखे नौलो प्रकारको सीप सिक्न पाएकोमा दंग छिन् । उनले चाडपर्वमा अत्यावश्यक दुना–टपरी बनाउन सक्ने भएको बताइन् । आफ्नै गाउँघरका बारी–कान्लामा हुने रुखका ठूला पात र जंगलमा पाइने सालको पातबाट दुना–टपरी बनाउन सकिने सहभागीहरूले बताए । १० बालक र २० बालिकाले तालिम लिइरहेको पाठशालाका संयोजक सरोज भुजेलले जानकारी दिए । बालबालिकालाई संस्कार र संस्कृतिका बारेमा ज्ञान प्रदान गर्दै पुस्तकमा देखिएका र पढिएका कुरालाई व्यावहारिक रूपमा ढाल्न दुना–टपरी बनाउने प्रशिक्षण दिइएको उनले बताए । पहिलो चरणमा बालबालिका सहभागी गराएर दुना–टपरीको महत्व र आवश्यकताका विषयमा छलफल गरिएको थियो । स्थानीय बालसंसार माविका गरिमा श्रेष्ठ, आर्यन खनाल आदिले पनि दुना–टपरी बनाउने सीपलाई घरमा प्रयोग गर्ने बताए । जिल्लाका कतिपय होटलमा समेत टपरीमा खानेकुरा राखेर बिक्री गर्ने चलन छ । यस्तो अवस्थामा प्रशिक्षण फलदायी साबित हुने प्रशिक्षक शारदाले बताइन् । यो सीपलाई आम्दानीको राम्रो स्रोत बनाउन सकिने पाठशालाका संरक्षक मीनकुमार श्रेष्ठ बताउँछन् । दुना–टपरी बनाउने काममा प्रायः महिलाहरू सहभागी हुने भए पनि सीप सिकेपछि अब १० जना किशोरसमेत यो काममा दक्ष हुँदैछन् ।  

रमेशचन्द्र अधिकारी, जेष्ठ ५, २०७६

-- पुरै पढ्नुहोस् --

निर्णायक तहमा  महिला सहभागिता  समग्र विकासको आधार

असम्भव केही छैन’ भन्ने उदाहरण हुन्–अम्बिका शर्मा लामिछाने । महिला विकास र सशक्तीकरणका लागि शिक्षालाई पहिलो सर्त मान्ने अम्बिका कामप्रतिको दृढता र आत्मविश्वासले सफल भइन्छ भन्ने कुरामा विश्वास गर्छिन् । विद्यावारिधिकी विद्यार्थी लामिछाने मूलधारको राजनीति तथा नीति निर्माण तहमा महिला सहभागितालाई समग्र विकासको आधार मान्छिन् ।

लक्ष्मी भण्डारी थापा, माघ १०, २०७५

-- पुरै पढ्नुहोस् --