कभर गर्ल

जीवनदानमा समर्पण

‘महिलामा अद्भुत, अपार र अकल्पनीय शक्ति हुँदोरहेछ, जसरी समाजले कमजोर मुटु, कम आत्मबल भएका भनेर महिलालाई व्याख्या गर्छ, त्यसो होइन रहेछ । युवाहरू आँखैअगाडि छटपटाउंँदै प्राण त्याग गर्दा पनि हामी आफूलाई दह्रो बनाएर निरन्तर खटिरह्यौं, आफ्नो दायित्वप्रति निर्भीक उभिइरह्यौं, दिनभरिको कामपछि घर पुगेपछि आफैंलाई छाम्दा र गम्दा नारी शक्ति र साहसको कल्पना मात्रै गर्न सक्छु म, शब्दमा व्याख्या गर्न सक्दिन ।’ यो भनाइ डा. रायना श्रेष्ठको हो, जो महाराजगञ्जस्थित शिक्षण अस्पतालको कोभिड वार्डमा साताको चार दिन चौबीस घन्टा खटिरहेकी छन् ।विश्वभर फैलिएको नोबेल कोरोना भाइरसले हालसम्म लाखौंको ज्यान लिइसकेको छ भने करोडौं संक्रमित छन् । नेपालमा पनि यसको असरले सर्वत्र त्रास, तनाव र विचलन ल्याएको छ । यो अवस्थामा स्वास्थ्यकर्मी अहोरात्र खट्दै मानिसको जीवन रक्षाका लागि ‘फ्रन्टलाइनर’ बनेका छन् । संक्रमित होस् वा अन्य सबैले आफ्नो जीवन अब उनैको हातमा रहेको भनिरहेका छन् । अझ सरकारले लकडाउन गरिदिँदा सबै संघसंस्था, निकाय तथा व्यवसाय ठप्प छन् । यस्तो अवस्थामा यी ‘फ्रन्टलाइनर’ भने आफ्नो मात्रै नभएर सिंगो परिवारलाई नै जोखिममा राखेरै भए पनि आमनागरिकको ज्यान बचाउने ध्याउन्नमा व्यस्त छन् ।विगत १८ वर्षदेखि नर्सिङ पेसामा आबद्ध अञ्जना प्रजापति भन्छिन्, ‘आफ्नो त पेसा नै यस्तै पर्‍यो तर आफ्नै कारणले ती साना लालाबाला पनि जोखिममा परेको देख्दा मन कटक्क खान्छ, कहिलेकाहीँ आफूलाई दोषी भएको महसुस पनि हुन्छ महाराजगञ्जस्थित शिक्षण अस्पतालको कोभिड आइसीयुमा खटिएकी नर्सिङ अफिसर अञ्जनाका साढे तीन वर्ष र १० वर्षका छोराछोरी छन् । कोभिडको सुरुवातदेखि नै संक्रमितको स्याहार र उपचारमा खट्दै आएकी उनी आफूलाई त्यस्तो हतास भने भइनहालेको बताउँछिन् । कारण, अस्पतालले प्रदान गरेका सुरक्षा सामग्री सही ढंगले प्रयोग गरिए संक्रमणबाट जोगिन सकिने उनको अनुभव छ । उता डाक्टर रायनाको पनि राय उस्तै छ । उनी भन्छिन्, ‘कोभिडका दुवै भेरियन्टको चपेटामा काम गरेकीले जटिल परिस्थितिका बाबजुद पनि विकल्प निस्कनेमा विश्वास छ ।’ उनका अनुसार यो कठिन अवस्था भएकाले पनि विभिन्न तरिका अपनाएर आफूलाई सुरक्षित राख्नुपर्छ । ‘त्यो आफैंले गर्ने हो न त डाक्टरले गरिदिन्छन् न सरकारले नै,’ उनी भन्छिन्, ‘संक्रमित भइसकेपछि डाक्टरले यसबाट कसरी बाहिर निकाल्ने भनेर अथक प्रयास गर्ने हो । सरकारले पनि संक्रमण फैलिन नदिन जनतालाई कसरी सुशासित र सुरक्षित बनाउने भन्ने हो ।’३० वर्षदेखि बिरामीको सेवामा खटिएकी अर्की नर्स हुन्– सरला केसी । उनी पनि महाराजगञ्जस्थित शिक्षण अस्पतालको कोभिड वार्डमै नर्सिङ अफिसरका रूपमा कार्यरत छिन् । कोरोना भाइरस नेपाल छिरेदेखि यसैमा दत्तचित्त भएर लागिपरेकी छन् । उनी भन्छिन्, ‘म कडा रूपमा सावधानीका उपाय अवलम्बन गर्छु । मास्क, गाउन, डिस्पोजल क्याप, ग्लोब्स र पीपीई अहिले छुटाउनै नहुने कुरा हुन् । सही तरिकाले मास्क लगाउँदा सर्ने सम्भावना कम हुन्छ ।’ कोभिडबाट हालसम्म सुरक्षित उनले कोभिड अघि र पछिका बिरामीलाई गर्ने व्यवहार परिवर्तन गर्नुपरेको बताउँछिन् । ‘उतिबेला बिरामीमा यति बढी हतास हुने, अत्तालिने थिएन’ उनले भनिन्, ‘रोग लाग्यो, अस्पताल आइएको छ ठीक हुन्छ भन्ने थियो तर अहिलेका बिरामी असाध्यै आत्तिएको पाइन्छ । उनीहरूलाई उपचारसहित आवश्यक परामर्श पनि दिन परेको छ ।’त्यस्तै, चितवनकी कृति नापित बिरामीको स्याहारमा खटिएको ६ वर्ष भयो । उनी सेवाभावको माइन्डसेट लिएर यो पेसामा प्रवेश गरेको बताउँछिन् । उनी पनि महाराजगञ्जकै कोभिड वार्डको ‘एमआइसीयु’ मा कार्यरत छिन् । यस महामारीका बखत कोभिडका बिरामीसँगको प्रत्यक्ष सम्पर्कमा काम गर्ने कृतिजस्ता थुप्रै साहसी छन् । उनी भन्छिन्, ‘बिरामीलाई खुवाउने, पोजिसन चेन्ज गराउने, उनीहरूलाई परामर्श दिने, ढाडस र हौसला दिने अनि उचित समयमा औषधि आदिको प्रबन्ध मिलाउने हाम्रो काम हो । यो काममा अहिलेसम्म दिक्क लागेको छैन ।’ जीवनदान महादान भन्ने भनाइमाथि अलिकति भए पनि योगदान दिन पाउँदा आफूलाई गर्व लागेको उनी बताउँछिन् । कृतिजस्तै सरलाको भनाइ पनि उही छ । भन्छिन्, ‘लाखौं स्वास्थ्यकर्मी छन्, सबैले कोभिडमा काम गर्न पाएका छैनन्, हामी यसैमा रातदिन खटिरहेका छौं मलाई त यो विपद्का बेला यसरी मान्छे बचाउन पाउँदा असाध्यै खुसी लागेको छ ।’डा. रायनाले आफ्नी हजुरआमासँग अत्यन्तै निकट रहेको बताउँदै भनिन्, ‘उहाँका कुरा नसुनी नहुने, एकदिन उहाँसँग बस्न नपाउँदा न्यास्रो लाग्ने म डेढ वर्षदेखि उहाँको छेउमा जान पाएकी छैन । के गर्ने, यो जटिल परिस्थिति हो । हामी सबै मिलेर यसलाई परास्त गर्नुपर्छ ।’ उनका अनुसार नेपालमा सीमित साधन, स्रोत र जनशक्तिका बाबजुद पनि जसरी स्वास्थ्यकर्मीले आफ्नो दायित्व सम्झेर काम गरिरहेका छन् त्यो सम्मानयोग्य छ । अस्पतालहरूले पनि भरिसक्य यसमा सघाएकै छन् । त्रिवि शिक्षण अस्पतालले महामारीयता कतिपय जनरल वार्डलाई पनि कोभिड वार्डमा परिणत गरेको छ । पछिल्लो समय यहाँ कोभिड बिरामीकै लागि भनेर आठ वटा वार्ड, तीन वटा आइसीयु र एउटा इमरजेन्सी सञ्चालनमा रहेको पनि उनले जानकारी दिइन् ।भक्तपुर माइती र चितवन घर भएकी अञ्जना भने सिकिस्त भएका बिरामी पुनर्जीवन पाएर घर फर्किंदा आफूमा खुसीको सीमा नहुने बताउँछिन् । उनी भन्छिन्, ‘त्यही पुनर्जीवन दिन हामीमा धैर्य, आत्मविश्वास र दह्रो मुटु हुनु आवश्यक छ ।’ अघिल्लो वर्ष जटिल अवस्थाका बिरामी पनि निश्चित समयमा निको हुने गरेको तर यो वर्ष दोस्रो लहरमा भने हेर्दाहेर्दै बिरामी गइहाल्ने गरेको उनले बताइन् । तसर्थ सबैजना अत्यन्त गम्भीर र सजग हुनुपर्ने उनको सुझाव छ । सरला र अञ्जनाबाहेक कृति भने कोरोनाको पहिलो लहरमै संक्रमित भइन् । उनलाई त्यो समय अत्यन्त गाह्रो भयो । केही दिनको आरामपछि उनी काममा फर्किहालिन् । बिरामी भएर घर बस्दा पनि एमआइसीयुमा सर्वत्र छरिएका बिरामीको मात्रै झझल्को आइरहने बताउने उनी १२ घन्टे ड्युटी अवधिभर डबल मास्क, फेस सिल्ड, पीपीई, बुट र त्यसमाथि प्लास्टिक यी सारा परिधान शरीरमा भिरेर हिँड्न कत्तिसम्म असहज र भारी होला, सुन्नेले कल्पनाबाहेक केही गर्न सक्दैनन् भन्ने तर्क प्रस्तुत गर्छिन् । यस्तो अवस्थामा शरीरमा कतिपटक पसिनाले निथ्रुक्कै भिजेर कतिपटक सुक्छ भन्ने समेत आफूलाई थाहा नहुने उनले बताइन् । यस्तो बेला ड्युटी अवधिभर त हो नि सकिएपछि त खोल्न पाइहालिन्छ नि भन्ने आश हुन्छ उनलाई । कोभिड वार्ड त्यसमा पनि आइसीयुमा खट्ने अधिकांश स्वास्थ्यकर्मीको खानाको टुंगो हुँदैन । जटिल अवस्थामा बिरामी आइरहेका हुन्छन् त्यसमध्ये पनि धेरै नै क्रिटिकल केश छ भने बिरामी छोडेर खान जाने कुरा हुँदैन । कृति भन्छिन्, ‘तर सकेसम्म आलोपालो गरेर खाने समय मिलाउँछौं । यति हुँदासम्म पनि यो विश्व महामारीमा आफै होमिएर बिरामी बचाउन पाउँदा आत्म सन्तोष छ ।’डा. रायनाका अनुसार विश्व समुदाय त्रासबाट गुज्रिरहेको छ । अघिल्लो वर्षको तुलनामा पछिल्लो समय केशहरू धेरै जटिल छन् । अघिल्लो वर्ष व्यक्तिमा देखिएको यो भाइरसले अहिले ढिक्का–ढिक्का अर्थात् परिवार पूरैलाई संक्रमित पार्दै मृत्युसम्म पुर्‍याइरहेको छ । मान्छेको जीवन अकालमै आफ्नै अगाडि जानु र त्यही कारणले सिंगो परिवार नै विस्फोट हुनु अत्यन्तै पीडादायक भएको उनी बताउँछिन् । भन्छिन्, ‘हामी डाक्टरहरूलाई पनि कम्ता धर्मसंकट परेको छैन, छेवैमा ७० वर्षकी आमा अक्सिजन नपुगेर श्वास फेर्न नसकिरहेकी हुन्छिन् भने त्यहीँ उतापट्टि २५/३० वर्षका लक्का जवान युवा अक्सिजनको अभावमा छटपटाइरहेका हुन्छन्, अक्सिजनको यस्तो अभाव छ । अब यो अवस्थामा कसलाई प्राथमिकतामा राख्ने ? मान्छे त सबै बराबर हुन्, जीवन त जीवन नै हो नि । एउटा जीवन बचाउन सकियो भने पनि धेरै ठूलो कुरा हो, हामी त्यो सोचेर काम गरिरहेका हुन्छौं, आफ्नो जीवनको बेपर्वाह गरेरै भए पनि ।’ सतर्कता अपनाउँदा अपनाउँंदै पनि आफू संक्रमणमा परेको बताइन् । उनलाई कम्ता सास्ती भएन । जिउ दुख्ने, आँखा झर्ला जस्तो हुने, स्वाद र गन्ध हराउने यी सबै कुरा उनले भोगिन् । निको भएपछि फेरि उनी आफूजस्तै पीडामा रहेकाहरूको सेवा र उपचारमा खटिन आइपुगिन् । पछिल्लो समय उनी आफूलाई मानसिक रूपमा स्फुर्त राख्न फोन कल वा सामाजिक सञ्जालमार्फत साथीभाइसँग आफ्ना कुरा सेयर गर्ने गरेकी छन् ।रायनाको राय म व्यावसायिक हिसाबले मात्रै यो पेसामा लागेकी होइन । मानवीय सेवाभावले यस क्षेत्रमा प्रवेश गरेकी हुँ । जहाँ मन बस्छ त्यहाँ आफ्नो शतप्रतिशत उत्कृष्ट क्षमता प्रदर्शन गर्ने हुटहुटी सधै रहिरहन्छ । अत्यन्तै सीमित स्रोत र साधनका बाबजुद पनि हामीले चुस्त, दुरुस्त र प्रभावकारी सेवा दिइरहेका छौं । दैनिक ६० देखि ९० जनासम्म बिरामी हेर्नुपर्दा हामी उत्तिकै थकित र गलेका हुन्छौं । तर, यो हाम्रो पेसागत धर्म र कर्तव्य हो । केही नपाए पनि गर्नैपर्छ भन्ने हुन्छ । सबैलाई आइपरेको यो जटिलता हल गर्न सबैले सरकारद्वारा जारी लकडाउनलाई मानिदिनुपर्छ । विवाह, व्रतबन्ध, भोज र पार्टी जस्ता कृयाकलापका कारण यसपटक बढी संक्रमित भइरहेका छन् । यो रोकिनुपर्छ । बाँचियो भने विवाह गरौंला । स्वास्थ्यमा खेलाँची नगरौं । सुरक्षित बसौं ।सरलाको सुझावमेरो विचारमा कडा रूपमा नियम पालना गर्ने हो भने कुनै पनि हालतमा कोभिड सर्दैन । बिरामीसँगै प्रत्यक्ष काम गर्ने हामीलाई आजको दिनसम्म संक्रमण भएको छैन । कतिपयले मास्क त लाउँछन् तर ढंग पुगेको हुँदैन । सुरक्षाका साधन पनि सही तरिकाले लाउनुपर्‍यो । अहिलेको समस्याको समाधान भनेकै संक्रमण हुनै नदिनु हो । बेलाबेलामा हात धोइराख्ने, सेनिटाइजर लगाउने, मास्क लगाउने र दूरी कायम गर्ने यत्ति मात्रै गरिदिए पुग्छ । अरु तनाव लिनै पर्दैन ।कृतिका कुराउपचारपछि निको हुँदा एक जना बिरामीले मेरी दुईवटी छोरी थिए अब तिमी मेरो तेस्रो छोरी भयौ भनेर मेरो टाउकोमा हात राखेर आशीर्वाद दिनुभयो । उहाँहरूप्रतिको हाम्रो दृढता, स्नेह, ममता र हेरविचार देखेर नै यो सब पाएका हौं । यो अवस्थामा हरेक स्वास्थ्यकर्मी म जत्तिकै सजग, सचेत र बिरामीप्रति कर्तव्यनिष्ठ भएर लागेका छन् । हामी तपाईंहरूका लागि खटिरहेका छौं । तपाईंहरू अब आफ्ना लागि गम्भीर भएर सोचिदिनुहोस् । नियम पालना गरेर आफू सुरक्षित रही आफ्नालाई सुरक्षा प्रदान गरौं ।अञ्जनाको अनुभवसर्वप्रथम त हामी स्वास्थ्यकर्मी नै मानसिक रूपमा बलियो हुनु जरुरी छ । अनि मात्रै हामीले बिरामीलाई उचित र प्रभावकारी सेवा दिन सक्छौं । यसका लागि अस्पताल आउँदा एउटा व्यक्ति र घर पुगेपछि परिवारमा अर्को मानिस भएर सोच्नुपर्छ । पोहोर साल कोभिडको छुट्टै वार्ड बनिसकेको थिएन, एउटै इमरजेन्सी र आइसीयुमा क्रिटिकल बिरामी ल्याउँदा ‘को कोभिड, को नन–कोभिड’ भएकाले धेरै स्वास्थ्यकर्मी संक्रमित हुन पुगे । अहिले त्यो अवस्था छैन । छुट्टै वार्ड भएकाले अब त हामी स्वास्थ्यकर्मीलाई पनि आफूलाई तयारी अवस्थामा राख्न सजिलो भएको छ । आमनागरिकले पनि गम्भीर भएर सुरक्षा अपनाउने हो भने दुख भोग्नु पर्दैन, जसको ज्वलन्त उदाहरण हामी हौं ।तस्बिरहरू : महेश प्रधानस्थान : त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज

लक्ष्मी भण्डारी, असार २, २०७८

-- पुरै पढ्नुहोस् --

बच्चाको धड्कन महसुस गर्दै छु : प्रियंका

मानव हुन् नारी । सृष्टि सिर्जना गर्न सक्ने दम र शक्ति भएका मानव नै नारी हुन् । प्रसव पीडालाई जितेर अर्को जीवनदान गर्ने साहस भएका भगवान्का सुन्दर रचना हुन् नारी ।

लक्ष्मी भण्डारी, जेष्ठ २, २०७८

-- पुरै पढ्नुहोस् --

‘साथीजस्तै हामी’

‘आमाको दोस्रो विवाह हुँदा सबैभन्दा खुसी त मै थिएँ’ परितोषिका पन्त

प्रकृति दाहाल, वैशाख ६, २०७८

-- पुरै पढ्नुहोस् --

महत्वाकांक्षी मलिका

अरूलाई हेरेर कहिल्यै आफूलाई कम नआँक्नुहोस् । अरुलाई उत्तम र दक्ष देखिन्छ तर त्यो व्यक्ति स्वयंलाई पनि धेरै कुरा नपुगिरहेको हुन्छ । तसर्थ जहिले पनि आफू आफैसँग मात्रै तुलना गरौं, हिम्मत बढ्छ, अघि बढिन्छ ।

लक्ष्मी भण्डारी, चैत्र ३, २०७७

-- पुरै पढ्नुहोस् --

नारी शक्ति

‘तपाईं आफू बन्नुहोस् अरु होइन, यसले तपाईंको अलग पहिचान र अस्तित्व स्थापित गर्नेछ ।’

लक्ष्मी भण्डारी, फाल्गुन ३, २०७७

-- पुरै पढ्नुहोस् --

बेवारिसेकी सारथी सपना 

भक्तपुरबाट ल्याइएको १७ वर्षीया बेवारिसे किशोरीको शवमा १७ वर्षकै सपना रोका मगरले दागबत्ती दिँदै गर्दाको अवस्था थियो, त्यो । उतिबेला सपनाको सपना त्यही धमिलो आकाशमा रडगिएको धूवाँको घुर्मैलो मुस्लोसँगै अदृश्यमा उड्दै थियो । उनी उदास थिइन् ।

लक्ष्मी भण्डारी, माघ ४, २०७७

-- पुरै पढ्नुहोस् --

‘नेपालको जैविक विविधताका बारेमा प्रचार गर्छु’

‘नेपालमा हरेक कुरा छ । प्राकृतिक रूपमा हामी असाध्यै धनी छौं । यो कुरा विश्वसामु चिनाउन र महसुस गराउन जरुरी छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा म यही मुद्दालाई विशेष रूपमा प्राथमिकतामा राख्नेछु ।’

नारी संवाददाता , पुस २, २०७७

-- पुरै पढ्नुहोस् --

‘महिला सशक्तीकरणमा लाग्छु’

‘सबैले सांसदकी छोरी भनेर चिन्थे, अब म उहाँंहरूलाई सन्ध्याका बाबाममी भनेर चिनिएको हेर्न चाहन्छु’।

नारी संवाददाता , पुस ५, २०७७

-- पुरै पढ्नुहोस् --

‘असफल हुँदैमा प्रयास छाड्नु हुँदैन’

म भित्रको बलियो इच्छाशक्ति । कतिले पहिला ‘टप–फाइभ’ मा परिसकेको मान्छे फेरि किन गएको, त्यति पनि पुग्न सकिएन भने...? भनेका थिए तर मैले हार मानिन ।

नारी संवाददाता , पुस २, २०७७

-- पुरै पढ्नुहोस् --

जमेको जोडी

जिम्पाटस्थित होटल सांग्रिलाको साम्बाला गार्डेनमा नारीका लागि ब्राइडल पोज दिदै थिए, नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ । ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना बिर्सना’ गरी दुई ठूला चलचित्र रिलिजको तयारीमा रहेका यी दुई कोरोना भाइरस महामारीले सबैभन्दा बढी असर चलचित्र क्षेत्रलाई नै पारेको बताउँछन् ।

लक्ष्मी भण्डारी, मंसिर ५, २०७७

-- पुरै पढ्नुहोस् --

प्रिज्मा र प्रिन्सी खतिवडा

चिसो सुरु हुँदै थियो l \'सुपर-एक्स्ट्रा\' मौसम अनुभूत गर्न पाइने बुढानिलकण्ठ क्षेत्र आसपास दिनभरी घाम-छाया भइरह्यो l

नारी संवाददाता , कार्तिक ४, २०७७

-- पुरै पढ्नुहोस् --