विचार

तीज र पार्टी प्यालेसको दर

आर्थिक रुपमा पनि सक्षम बन्दै गएका दिदीबहिनीहरुलाई आफ्नो रहर र आवश्यकता पुरा गर्न श्रीमान र सासु/ससुराको आश गरिरहनु पर्दैन । अबका छोरीचेलीले माइत गएर पीडा पोख्नु पर्ने अवस्था छैन ।  यस्तो जमानामा पनि हामी संस्कृति  मौलिकता भनेर त्यही रुन्चे गीतको चाहाना राख्ने ?हिजो मात्र यसो फेसबुकको भित्तामा आँखा डुलाउँदै गर्दा एउटा समाचारको शिर्षकमा टक्क आँखा अडियो । समाचारको शिर्षक थियो– ‘होटल र पार्टी प्यालेसमा तीज मनाउन नपाइने ।’ समाचारमा लेखिएको थियो – ‘एक सूचना जारी गरी प्रशासनले तीजलाइ भड्किलो हुनबाट रोक्न होटल र पार्टी प्यालेसमा कार्यक्रम र भोज भतेर गर्नेलाई समातेर कारबाही गर्ने जनाएको हो ।’ महिला सामाजिक अभियन्ताकै नेतृत्वमा ज्ञापनपत्र  सहित तीजको भड्किलोपना रोक्न जिल्ला प्रशासन र प्रदेश सरकारको ध्यानाकर्षण गराएको रहेछ । महिनौ अघि देखि दिनहुँ दर खाने अहिलेको तीजले संस्कृति झल्काउँदैन र मौलिकता जोगाउँदैन भन्ने सामाजिक अभियन्ताको बिचार पढ्दा सोच्न मन लाग्यो कि महिनौं अघि देखि दिनहुँ पार्टी प्यालेसमा दर खाँदै हिंडेका महिलाको संख्या कति छ कुनै तथ्याङ्क छ ? पार्टी प्यालेसमा दर खानु संस्कृतिको खिलाप हो भन्ने कुरामा कति प्रतिशत महिलाले सहमति जनाउँछन् त्यसको जानकारी छ ? कुनै पनि कुराको जरासम्म नपुगी सतही मुल्याङ्कन गर्नु कत्तिको न्यायसंगत हुन्छ ? हाम्रो चाडपर्व, संस्कृति हाम्रा सम्पत्ति हुन्  । आफ्नो संस्कृति, मौलिकता र परम्पराको संरक्षण गर्नु हरेक सचेत नागरिकको कर्तव्य हो । समय परिवर्तनशील छ ।  हामीले चाहेर भन्दा पनि समयले नै हामीलाई परिवर्तन गराइरहेको हुन्छ । समयसंग आफूलाई हिँडाउन सकेनौँ भने हाम्रो अस्तित्व नै समाप्त हुन्छ । यहि परिवर्तित समयको माग हो अहिलेको पार्टी प्यालेसको दर । हामीलाई थाहा भएकै कुरा हो हाम्रा आमाहरुको पालामा आफ्नो कर्मघरमा नाँच्न गाउन त के कुरा पेटभरी खान पनि नपाउने र आफ्नो मनको कुरा भन्न पनि नसक्ने अवस्था थियो । यस्तो अवस्थामा तीज दिदिबहिनीको लागी माइत जाने, आराम गर्ने, मिठो मसिनो खाने, श्रीमानको घरमा भोगेका दुःख पीडाहरुलाई गीतका माध्यमबाट व्यक्त गर्ने एउटा खास पर्व थियो । वर्षभरी भोगेको कठोर बुहार्तनलाई यसरी खुलेर व्यक्त गर्न पाउँदा सायद उहाँहरुको मनले शान्ति प्राप्त गर्दो हो ।अहिले त्यो समय छैन । कहिं, कतै कुनै अपबाद बाहेक परिवारमा छोरी र बुहारीको स्थानमा खास भिन्नता छैन । महिला घरको हर्ताकर्ता छन् । आर्थिक रुपमा पनि सक्षम बन्दै गएका दिदीबहिनीहरुलाई आफ्नो रहर र आवश्यकता पुरा गर्न श्रीमान र सासु/ससुराको आश गरिरहनु पर्दैन । अबका छोरीचेलीले माइत गएर पीडा पोख्नु पर्ने अवस्था छैन ।  यस्तो जमानामा पनि हामी संस्कृति  मौलिकता भनेर त्यही रुन्चे गीतको चाहाना राख्ने ?  अहिले तीज पीडा पोख्ने माध्यम नभई व्यस्त समयको बाबजुद केहि समय निकालेर रमाइलो गरी आफूलाई पुनर्ताजगी गराउने पर्वको रुपमा विकसित भएको छ । अहिले महिलाहरुमा घरायसी कामको साथसाथै आर्थिक व्यवस्थापनको बोझ पनि थपिएको छ । यही कारणले पनि तीजलाई विशेष पर्वको रुपमा लिएर रमाइलो गर्ने चलन बढेको हो । घर बाहिर पनि काम गर्ने भएको हुँदा महिलाको सामाजिक परिचयको दायरा फराकिलो बन्दै गएको छ । आफ्ना नातागोता मात्र नभई साथीहरुको जमात पनि बढ्न थालेको छ । तीजको अघिल्लो दिन मात्र दर खानु पर्ने हो भने आफू माइत जाने कि, आफ्ना नन्द अमाज्यू, भाञ्जाभाञ्जी लगायत इष्टमित्रहरुलाई बोलाएर खुवाउने कि, साथीसँग मिलेर दर खाने कि कुनै एकलाइ रोज्नुपर्छ । यी सबै सम्बन्धहरुलाइ व्यवस्थापन गर्न खोज्दा समयले सिकाएको हो यो तरिका । घरमा पकाएर खाँदा धेरै कुराको व्यवस्थापन गर्नुपर्छ  भने पार्टी प्यालेसमा गर्दा एक दिन भए पनि आफूले नपकाई खान पाइने र पकाउने सीप भएका व्यवसायीहरुको व्यवसाय पनि चल्ने । यसमा विकृतिको कुरा कहाँबाट आयो ? हाम्रो संस्कृति र मौलिकतालाई जोगाउने कुरा गर्दै गर्दा अहिलेको दशैलाइ के भन्ने ? दशैँको बेलामा कार्टुनका कार्टुन रक्सी किनेर मासु, रक्सी र जुवातासमा रमाउन हाम्रो हिन्दु संस्कारले दिन्छ ? यसलाई विकृति भनेको त कतै सुनिदैन । अनि जन्मदिन, पास्नी, इङ्गेजमेन्ट, विवाह अदिमा गरिने तडकभडकलाई सामाजिक विकृति मान्ने कि नमान्ने ? सर्वसाधारणसंग प्रत्यक्ष सरोकार राख्ने यस्ता कार्यहरुमा हो खर्चको सीमा तोक्नु पर्ने । रातो सारी र साधारण चुरा पोतेमा सजिएका महिलाहरुमा तडकभडक देख्नु पुर्वाग्रह भन्दा अरु केहि होइन ।यस वर्ष मात्र होइन तीजमा विकृति आयो, तडकभडक भयो भन्ने हल्ला आउन थालेको चार पाँच बर्ष नै भैसक्यो । दुइ वर्ष अघिको तीजमा त दर खान असजिलो पार्नको लागी सरकारले घिउ बिक्री नै रोकेको थियो । कति दुःख लाग्दो कुरा महिलाहरुले आफ्नो घर र अफिस व्यवस्थापन गरेर फूर्सदको समयमा वा विदाको दिन पारेर दर खाँदा विकृति देख्ने आँखाले हरेक दिन दोहोरी साँझ र क्यासिनोको तामझाम र खर्चलाइ कसरी हेर्छ ? यस्तै अर्को समाचारको शिर्षक थियो– ‘चुरा पोतेमै नेपालको २ अर्व २८ करोड रुपैँया स्वाह ।’ भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७५/०७६ मा मात्रै नेपालमा २ अर्व २८ करोड ८८ लाख रुपैँया बराबरको चुरा, पोते , मेहेन्दी, टीका लगायतका श्रृङ्गार सामग्री विभिन्न मुलुकबाट आयात गरिएको रहेछ । यस्तो तथ्याङ्क थाहा पाउनु र सकेसम्म बैदेशिक आयात कम गर्ने कोशिश गर्नु देशको लागी राम्रो हो । तर, देशका सामान्य देखि तारे होटलहरुमा दिनहुँ खपत हुने सामान्यदेखि ब्रान्डेड भनिएका वाइन र वियर कति रुपैँयाको आयत हुँदो रहेछ त्यसको तथ्याङ्क छ ?  घरपरिवारको वास्ता नगरी हरेक साँझ बार, डिस्को, दोहोरी, जुवातासमा कति खर्च हुन्छ केहि लेखाजोखा छ ?  निराहार ब्रत बसेको तीजको दिनमा समेत हाम्रा आमा र दिदिबहिनीहरु आफ्नो परिवारलाई आफैले खाना खुवाएर नाचगानमा निस्किन्छन् । आफ्नो परिवारमा आमा, श्रीमती, दिदिबहिनीले गर्ने माया र जिम्मेवारीको कदर गर्न सिक्नुहोस् । सबै महिला हजुर हाम्रै परिवारका महिला सदस्य जस्तै हुन् । पुरुष सिर्फ एउटा व्यक्ति हो भने महिला सम्पूर्ण परिवार हो । मेरो आशय महिला र पुरुषबीच अनावश्यक तुलना गर्नु होइन । आमा बिना बाबुले  मात्र सम्हालेको  घर हेर्नुस् अनि बाबु बिना आमाले सम्हालेको घर हेर्नुस् । अब मेरो बिचार सहि हो कि होइन आफ्नो छातिमा हात राखेर भन्नुस् । प्रशासनको काम भनेको देशले दोस्रो दर्जाको जस्तो व्यवहार गर्दै आएका दिदिबहिनीहरुले तीजमा कहाँ, कति दर खाए भनेर अल्झिने होइन । आफ्नो देशका सुन फल्ने जमीन पटपट फुटाएर विषादीयुक्त दैनिक उपभोग्य बस्तुहरु उपभोग गर्न बाध्य पार्ने सरकारलाई तीजको अवसरमा पार्टी प्यालेसमा २ /४ दिन रमाइलो गरेर आफूलाई थप उर्जाशील बनाउन खोजेका दिदिबहिनीहरुलाई समातेर कारबाही गर्ने अधिकार छैन । मेरो आशय विकृति छँदै छैनन् भन्न खोजेको होइन । विकृति हरेक चाडपर्व र सामाजिक कार्यहरुमा छ । सबै क्षेत्रमा रहेका विकृतिहरुको  सहि पहिचान गरेर कारबाही गर्न सक्नु सरकारको दायित्व हो । आदरणीय दिदिबहिनीहरु आफ्नो घर र अफिस राम्रोसंग व्यवस्थापन गरी चिटिक्क परी पार्टी प्यालेस जाउँ, दर खाउँ, नाचगान गरौँ । यसरी रमाइलो गरौँ की  जसको कारण सकारात्मक सोचका साथ हरेक कार्य सम्पन्न गर्न सक्ने उर्जा अर्को तीजसम्लाइ पुगोस् । तर याद गरौं रमाइलो गर्दै गर्दा आफ्नो आर्थिक हैसियत नविर्सौ. । यसलाइ गहना प्रदर्शन गर्ने पर्वको रुपमा विकसति नगरौं । घाँटीभन्दा ठूलो हाड अड्क्यो भने के हुन्छ हामीलाइ थाहा भएकै कुरा हो ।यस्ता कुराहरुमा सचेत रही आउने पिंढीलाई सही संस्कार सिकाउनु सचेत दिदिबहिनीको कर्तव्य  हो । आउँदै गरेको २०७६ सालको तीजको सबैलाइ शुभकामना ।

उर्मिला त्रिपाठी, श्रावण २६, २०७६

-- पुरै पढ्नुहोस् --

सौन्दर्य प्रतियोगिता अवसर होइन्

विभिन्न सौन्दर्य प्रतियोगिताहरुले नारीको परिचयमा प्रश्न चिन्ह खडा गरेका छन् । मानिसहरु यसलाई अवसर भन्छन्, म बिकृति भन्छु । कतिलाई यो कुराले चित्त नबुझ्ला पनि । तर नकाप निकालेर र वास्तविकतालाई चिरेर हेर्ने हो भने सबै छर्लङ्ग हुन्छ ।

सुर्य चन्द , श्रावण ८, २०७६

-- पुरै पढ्नुहोस् --

समानताका लागि आरक्षण 

पछि परेका वर्ग समुदाय झन्–झन् पछि परेका छन् भने अर्कातिर सुविधासम्पन्न वर्ग मात्र अघि बढिरहेको छ । सुविधाबाट वञ्चित समुदाय तथा वर्गलाई मूलधारमा ल्याउन के उनीहरूलाई केही थप बल लगाएर अघि बढाउन मिल्दैन ?

मीना गुप्ता, श्रावण १, २०७६

-- पुरै पढ्नुहोस् --

नागरिकता र अवैध सन्तान

९ महिनासम्म गर्भमा राखेर सन्तान जन्माउने तथा हुर्काउने काम प्रकृतिले नै आमालाई दिएको छ । यसमा केही क्षणको गर्भाधान कर्मबाहेक बाबुको खासै भूमिका हुँदैन । सन्तानको पहिचान बाबुकै नामबाट हुने, आमाको खासै भूमिका नहुने अवस्था अहिले पनि विद्यमान छ । आमाको नामबाट नागरिकता प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था कानुनले गरे पनि कार्यान्वयन प्रक्रियामा निकै ठूलो झन्झट छ ।

अञ्जु कार्की , असार ११, २०७६

-- पुरै पढ्नुहोस् --

नारीलाई आरक्षण दिने मात्र होइन, सक्षम बनाऔं

महिला आरक्षण दिँदैमा नारीलाई मूल प्रवाहमा समावेश गर्न सकिँदैन । केहीलाई सकिएला तर सम्पूर्णलाई कदापी होइन । महिलालाई आरक्षण होइन, अवसर चाहिन्छ । महिलाहरू पुरुषको तुलनामा कम क्षमतावान् हुँदैनन् । महिलालाई आरक्षणमा मात्र सीमित गर्नु भनेको महिलामा अन्तरनीहित क्षमता उजागर नगर्नु हो ।

मीना गुप्ता, जेष्ठ २४, २०७६

-- पुरै पढ्नुहोस् --

आमा, म र नेपाली समाज

२०–२५ वर्षसम्म खाई–नखाई दुःख गर्दै कहिल्यै रुन पनि नदिई हुर्काएका सन्तानले आज मेरो फुर्सद छैन भन्छन् । आफ्ना छोराछोरीको ख्याल गर्नुपर्छ, पढाउनुपर्छ पनि भन्छन् । ती सन्तानले किन र कसरी भुल्न सक्छन्, कति छिटो भुल्न सक्छन् ? ती बूढी आमा हाम्रो सेवामा छिट्टै बूढी अनि रोगी भा’की छिन् । आमा छोरीको घरमा किन बस्न नहुने ? छोरी पनि त्यही कोखका सन्तान होइनन् र ? 

कल्पना केसी क्षेत्री, जेष्ठ १४, २०७६

-- पुरै पढ्नुहोस् --

मातृत्वको सम्मान गर्न जाने रोकिन्छ अराजकता

आधुनिकता र विकासका नाममा धेरै जानकारी, सूचना र शिक्षाको सुविधा उपलब्ध हुँदाहुँदै पनि व्यक्ति द्विविधामा बाँच्न विवश छ किन ? एउटी आमाले सन्तानलाई जन्म दिएपछि प्रेम के हो उनलाई सिकाउनुपर्छ ? अवश्य पर्दैन, मातृत्वसँगै प्रेमको भाव आफै फक्रिएर आउँछ ।

डा. नम्रता पाण्डे, जेष्ठ १३, २०७६

-- पुरै पढ्नुहोस् --

आमा, म र नेपाली समाज

मानिसहरू आफ्नो जन्म दिनको निकै सम्झना गर्छन् तर तिनै जन्म दिने आमाको कहिल्यै सम्झना गर्दैनन् । यही विषयलाई लिएर सम्झनाका शब्दहरू कोर्न मन लाग्यो । त्यो दिन साँच्चिकै दर्दनाक एवं पीडादायी दिन थियो । त्यो दिन अस्पतालसम्म जान नसक्ने स्थिति वा वातावरण थियो ।

कल्पना केसी क्षेत्री, जेष्ठ ४, २०७६

-- पुरै पढ्नुहोस् --

स्टेरिङमा साउदी महिला

साउदी अरब विश्वकै एकमात्र देश थियो, जहाँ अहिलेसम्म महिलालाई ड्राइभिङको अनुमति थिएन । पछिल्ला वर्षदेखि भने महिलालाई पनि चालक अनुमति पत्र दिनुपर्ने माग गर्न थालियो । त्यसका लागि केही नाराबाजी एवं प्रदर्शनसमेत भए । साउदी शासनले यो अभियानलाई दबाउने प्रयास गर्‍यो तर अन्त्यमा उसले पनि घुँडा टेक्नुपर्‍यो । 

युवराज गौतम, जेष्ठ ३, २०७६

-- पुरै पढ्नुहोस् --

नर्स   

नर्सले बिरामीको सेवा गरिरहेका हुन्छन् । बिरामी निको हुँदा नसैलाई लक्की पर्सनका रुपमा स्याबासी दिन्छन् । झन्डै १५ वर्षको अनुभवमा धेरै क्यान्सर तथा अन्य रोगका बिरामीको सेवा गरिसकेको छु । धेरै पीडामा भएका बिरामी र कुरुवाहरु खुसी हुँदै धन्यवाद दिदा नर्स भएकोमा गर्व लाग्छ । 

हिरा डंगोल , वैशाख १६, २०७६

-- पुरै पढ्नुहोस् --

महिलाको संकल्प र खुसी

नारी शक्ति अतुलनीय शत्ति हो, एउटा घरलाई घर मात्र नभएर मन्दिर बनाउने कुरामा । अदृश्य भगवान् र मन्दिरमा राखिएका निर्जीव मूर्ति पूजा गरेर वरदान पाउने आशा गर्नुभन्दा परिवारका सदस्यलाई उत्प्रेरणा दिन, प्रेमपूर्वक बाँच्न सिकाउन तथा सिर्जनात्मक एवं नैतिक बनाउन महिलाको ठूलो भूमिका हुन्छ । संकल्पका केही आयाम जान्न सके त्यसले विधायक रूपमा जिउन सहयोग पुर्‍याउँछ ।

डा. नम्रता पाण्डे, वैशाख ३, २०७६

-- पुरै पढ्नुहोस् --