दम्पती

कर्मयोगी जोडी

सुदूरपश्चिम बैतडीका माइकल (हरीश) चन्द र काठमाडौंकी भुवन थापाले सँगै साथ बिताएको ४७ वर्ष भयो । उनीहरूले आफूहरूलाई ‘कर्म’ ले जोडेको बताउँछन् । ‘हामी दुबै कर्मयोगी र इमान्दार भएकाले हाम्रो सम्बन्ध प्रगाढ छ’ दुवैले एकै स्वरमा भने । एक जमानाकी नामुद र अब्बल कलाकार भुवनको सुन्दरता र हिँडाइले रेडियो नेपालका अंग्रेजी समाचारवाचक माइकललाई तानेको थियो । ०२३ मा बैतडीबाट फर्पिङको त्रिभुवन आदर्श विद्यालय पढ्न आएका माइकल ०२४ मा एसएलसी उत्तीर्ण गरी त्रिचन्द्र क्याम्पसमा भर्ना भए । त्रिचन्द्र पढ्दाताका उनी विभिन्न सांगीतिक कन्सर्ट, स्टेज कार्यक्रमहरूमा उद्घोषणमा प्रख्यात भइसकेका थिए । ०४७ मा उनलाई नाचघरमा जागिर दिइयो । त्यसताका सुपरहिट तथा नेपालकै प्रथम नायिका भुवनलाई उनले कयौं पटक पर्दामा देखेका थिए । एकपटक नाचघरमा उनको भेट भयो । ‘पर्दामा देखेकी सुन्दरीलाई साक्षात् आफ्नै अगाडि देख्दा म अवाक् भएको थिएँ । उनको हिँडाइ र सौन्दर्यले मलाई नतमस्तक बनायो’ अतीत सम्झदै माइकल भन्छन्, ‘लेखेर आएको, मेटाउन सकिँदैन भनेको यही होला । त्यसपछि हाम्रो कुराकानीको क्रम झाँगिदै गयो । उनीमा भर्सटायल व्यक्तित्व थियो । अभिनय गर्ने, नाच्ने, गाउनेलगायत उनमा स्वावलम्बी बन्नका लागि सिक्नुपर्ने हरेक सीप र दक्षता चाहिन्छ भन्ने थियो । त्यसैले उनी खिचापोखरीमा सिलाइ सिक्न जान्थिन् । म उनलाई लिन–पुर्‍याउन जान्थें । बाटोमा हिँड्दा हामीबीच एकदेखि दुई मिटरको दूरी हुन्थ्यो । त्यो जमाना नै त्यस्तै थियो । प्रेम वा सम्बन्धलाई चरित्रसँग जोडेर हेरिन्थ्यो ।’ भुवनलाई प्राप्त गर्न आफ्नो व्यक्तित्व बढाउन निकै कसरत गरेको माइकल बताउँछन् । उता १०वर्षको उमेरदेखि रंगमञ्चबाट अभिनयमा उदाएकी भुवनले ०२१ मा ‘आमा’ चलचित्रमार्फत आफ्नो कलाको जादु देखाइसकेकी थिइन् । थुप्रै नाटक र तीन दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी उनी त्यतिबेला नेपालकै ख्यातिप्राप्त कलाकारमा दरिइसकेकी थिइन् । सानै उमेरदेखि आत्मनिर्भर र स्वपहिचान बनाएकी उनलाई मुख्यतः आमा पाल्नुपर्ने जिम्मेवारी थियो । त्यसैले होला त्यो जमानामा पनि उनलाई कसले के भन्ला भन्ने कुरासँग खासै मतलव थिएन । माइकलसँग भेट हुँदा उनको उमेरले दुई दशक काटिसकेको थियो । उतिबेला त्यो उमेरसम्म छोरीले विवाह नगरी बस्नु भनेको कमै मात्र हुन्थ्यो । माइकलको केयरिङ नेचर र परिश्रमी स्वभावले भुवनको मन छोयो । चार वर्षको अफेयरपछि उनीहरूले ०३३ मा विवाह गरे । उनी भन्छिन्, ‘पहिले त मैले त्यति गम्भीर रूपमा लिएकी थिइन । जब एउटा कार्यक्रममा ममा झुम्मिइरहेको भीड उहाँ आएपछि मलाई छोडेर उतै लाग्यो, प्रधानमन्त्री, मन्त्रीहरूले पनि ओहो माइकल म त तपाईंको ठूलो फ्यान भनेर नजिक आएर कुरा गर्न थाले तब मलाई अलिकति चसक्क भयो । यो मान्छेमा केही रहेछ भन्ने अनुभूति भयो । अनि म विवाहको टुंगोमा पुगें ।’ विवाहको भोलिपल्ट माइकल जर्मनी उडे, त्यसको केही दिनपछि भुवन कार्यक्रमको सिलसिलामा रस्सा पुगिन् । यिनीहरूको भेट केही महिनापछि जर्मनीको कोलोन सहरमा भयो । त्यहाँ आफूहरूले बिताएका रमणिय पल निक्कै अविस्मरणीय रहेको दुबै बताउँछन् । एकले अर्कालाई माया, सम्मान र श्रद्धा गरियो भने दाम्पत्य जीवन सुखद् हुन्छ भन्ने बुझेकी भुवन विवाहपछि श्रीमान्को पुर्ख्यौली घर बैतडी पुग्दा त्यहाँ महिलाले पाएको दुःख, विभेद र अन्याय देखेर त्यसको न्यूनीकरणका लागि केही भूमिका खेलेको बताउँछिन् । माइकललाई विवाह भनेको एक–अर्कासँगको प्रेमालाप मात्र नभई परिवार र सन्ततिको सुरुवातका लागि भगवान्बाट प्राप्त आशीर्वाद हो भन्ने लाग्छ । प्रेमको व्याख्यामा उनी भन्छन्, ‘प्रेम छायाँबिनाको घाम होइन न त पीडाबिनाको सबै सुख नै हो ।’ वैवाहिक जीवनको ४७ औं वसन्तसँगै बिताएको यो जोडीले कहिल्यै एक–आपसको कमाइ कति छ भनेर एक–अर्कालाई प्रश्न गरेन । तीनवटी छोरी शीला, शीतल र शिरुषको पालनपोषणमा दुवैको समान योगदान रह्यो । अहिले तीनवटै छोरी अमेरिकामा हुँदा यो जोडीलाई कहिलेकसो न्यास्रो लाग्छ । भुवन त भूकम्पमा ती छोरीहरूबाहेक अरु केही नसम्झिएको बताउँछिन् । त्यसैले उनी तत्काल टिकट काटेर छोरीहरू भेट्न अमेरिका पुगिन् । पाककलामा दक्ष माइकल भने मीठामीठा परिकार बनाएर श्रीमती र पाहुनालाई ख्वाउन असाध्यै रमाउँछन् । यी दुईबीच सरप्राइज गिफ्टको काइदा पनि गज्जबको छ । भुवन भन्छिन्–‘अरुबेला यति कमाएँ भनेर हातमा नराखिदिए पनि बर्थडे, एनिभर्सरीलगायतका उत्सवमा गजबकै गिफ्ट आउँछ त्यो पनि सरप्राइज्ली ।’ माइकलले घरमा ओसिटी (ओपन क्यास टेक्निक्स) को नियम लागू गरेका छन् अर्थात् दुबैको कमाई एउटै ठाउँमा राख्ने, जसलाई आवश्यक पर्‍यो उसले झिकेर खर्च गर्ने तर एक–अर्कालाई थाहा दिएर । ‘वैवाहिक जीवन बलियो र प्रगाढ बनाउन ‘कमन सेन्स’ मूल कुरा हो ।’ माइकल भन्छन्, ‘भुवनलाई कुनै कुराको लोभ, मोह छैन र उनमा बढी महत्वकांक्षा पनि छैन । उनको सन्तोषी स्वभावलाई मैले राम्ररी बुझेको छु । त्यो सेन्स ममा छ । उनले पनि मेरा बलियापक्षहरू बुझेर कमजोरीलाई आत्मसात् गर्दै सोहीअनुरूप व्यवहार गर्छिन् । यति समझदारी भएरै यो साथ आधा शताब्दीसम्म पनि रमणीय छ ।’ विवाहले पारिवारिक र सामाजिक सुरक्षा प्रदान गर्छ भन्ने भुवनको पारिवारिक पहिचान र खुसीको सुनिश्चितता नै विवाह हो भन्ने ठम्याइ छ । लामो साथ र प्रेमको अनुभव गरेका उनीहरू उज्यालो मुहार पार्दै भन्छन्–‘सबैको भाग्यमा हाम्रो जस्तो लामो साथ नहुन सक्छ । हामीबीचको गहिरो समझदारी र बलियो प्रेमले यो सम्भव बनाएको हो ।’ भुवनको नजरमा माइकलबलियो पक्ष : भद्र स्वभाव ।कमजोरी : झनक्क रिसाउने ।आकर्षक पक्ष : आवाज र पाककलामा दक्ष ।सुधार्नुपर्ने : मोबाइलमा वर्ड गेम कम खेले हुन्थ्यो ।अब के गरिदिए हुन्थ्यो ?: स्वस्थ र खुसी भइदिए हुन्थ्यो । माइकलको नजरमा भुवनबलियो पक्ष : काममा दृढ, सन्तोषी स्वभाव ।कमजोरी : तत्काल प्रतिक्रिया जनाइहाल्ने ।आकर्षक पक्ष : हरेक काममा परामर्श गर्ने कला ।मनपर्ने चलचित्र : सीमारेखा ।कस्ती नारी ? : आदर्श र प्रशंसनीय नारी । के भएको हेर्ने इच्छा छ ? : सदा तरोताजा र खुसी भएको हेर्ने इच्छा छ । 

 लक्ष्मी भण्डारी, कार्तिक ७, २०७९

-- पुरै पढ्नुहोस् --

परिपक्व सम्बन्ध 

खुल्ला प्रतिस्पर्धाबाट पहिलो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प्रमुख कार्यकारी निर्देशक बनेका मोहनप्रकाश चन्दको दाम्पत्य जीवन बडो रसिलो र कसिलो छ ।

लक्ष्मी भण्डारी, आश्विन १६, २०७९

-- पुरै पढ्नुहोस् --

गजबका जोडी

४८ वर्षअघि प्रज्ञा प्रतिष्ठान, कमलादीमा वसन्त श्रेष्ठ सहायक नृत्यनिर्देशकका रूपमा जागिरे थिए । त्यसताका दोलखाकी १७ वर्षीया लक्ष्मी श्रेष्ठ नृत्य प्रशिक्षार्थीका रूपमा त्यहीँ पुगेकी थिइन् । सुरुमा उनीहरूबीच गुरु र शिष्यको नाता बन्यो ।

लक्ष्मी भण्डारी, असार १२, २०७९

-- पुरै पढ्नुहोस् --

लकडाउनले जुराएको जोडी

विवाह वा प्रेम सम्बन्धले बनेको पारिवारिक संरचनाले स्वस्थ बच्चालाई स्वस्थ नागरिकका रूपमा रूपान्तरित हुन सहयोग गर्छ ।

नारी संवाददाता , जेष्ठ १३, २०७९

-- पुरै पढ्नुहोस् --

झांगिएको प्रेम 

रंगकर्मी तथा निर्देशक आकांक्षा कार्की र कलाकार सुदाम सिकेलाई विवाहप्रति उत्ति रुचि थिएन । विवाह र प्रेमलाई फरक–फरक तरिकाले बुझेको यो जोडीलाई प्रेममय जीवन सँगै बिताउन विवाह नै गर्नुपर्छ जस्तो लाग्दैन ।

नारी संवाददाता , चैत्र १०, २०७८

-- पुरै पढ्नुहोस् --

जीवनमा सन्तुलन अनिवार्य

‘मेरो पहिलो पाठक उनै हुन् । मलाई सम्पादन गर्ने पनि उनै हुन् र प्रतिक्रिया दिने पनि उनै हुन् । उनकै कारण आज म यहाँ छु ।’ 

 लक्ष्मी भण्डारी, माघ १३, २०७८

-- पुरै पढ्नुहोस् --

धर्मले नछेकेको प्रेम

‘सही मान्छे छान्नु भनेको जीवनलाई नै सार्थक बनाउनु हो ।

नारी संवाददाता , माघ ५, २०७८

-- पुरै पढ्नुहोस् --

भिन्न परिवेशका जोडी

विवाहबारे एउटा भनाइ छ–भगवान्ले जोडी बनाएरै पठाउँछन् । कहाँको मान्छे, कोसँग, कसरी जोडिन पुग्छन् थाहै हुँदैन ।

नारी संवाददाता , श्रावण २१, २०७८

-- पुरै पढ्नुहोस् --

हामी एक–अर्काका बल हौं

‘म कमजोर भएका बेला रिचा मेरो शक्ति हो’नेपाल आइडलबाट चर्चामा आएका गायक निशान आफ्नी मोडल पत्नी रिचाबारे भन्छन्, ‘उनलाई परेको कठिन घडीमा म उनको बल बन्ने गर्छु ।’

नारी संवाददाता , जेष्ठ ७, २०७८

-- पुरै पढ्नुहोस् --

सन्न्यासीको भ्यालेन्टाइन

जब प्रेम उत्कर्षमा पुग्छ तब प्रेमी या प्रेमिकाले एक–अर्कामा सन्तान र जन्मदाताको रूप देख्न थाल्छन् । तर, त्यो प्रेम आत्मिक हुनुपर्छ जुन शरीरबाट पार गरेको हुनुपर्छ । जोकोहीले भने यो महसुस गर्न सक्दैनन् ।’

नारी संवाददाता , फाल्गुन २, २०७७

-- पुरै पढ्नुहोस् --

स्मार्ट चिकित्सक जोडी

कहिलेकाहीँ त म चौबीसै घण्टा काममा खटिइरहेको हुन्छु । खाने, हिँड्ने, घर आउने–जाने कुनै टुंगो हुँदैन । ६ महिने सानी छोरीलाई हप्तौं भेट्न पाउँदिन र पनि मेरी श्रीमती मसँग कहिल्यै कुनै गुनासो गर्दिनन् ।’ यो भनाइ हो डाक्टर वीरेन्द्र यादवको । युवा उमेरमै गहन जिम्मेवार पदमा पुग्न सफल क्यान्सर रोग विशेषज्ञ उनी सही दाम्पत्यले जीवन मात्र होइन करियर र पेसा–व्यवसायलाई नै सही मार्गमा लैजाने बताउँछन् ।

नारी संवाददाता , माघ ५, २०७७

-- पुरै पढ्नुहोस् --