जीवन शैली

जन्मान्तर कति र किन ?

 केस–१मोरङ, विराटनगरकी प्रभा दाहाल एउटा मात्र सन्तान हुर्काउने सोचमा थिइन् । तर, हुर्कदै गरेको सन्तानले पछि एक्लोपन महसुस गर्न थाल्यो । पहिलो सन्तान छोरी भएकीले उनले दोस्रो नजन्माउने अठोट गरेकी थिइन् । तर, प्रभाले आफ्नी छोरीको एक्लोपन हटाउन १० वर्षपछि फेरि अर्को सन्तान जन्माइन् । केस–२भक्तपुर, गठ्ठाघरकी सीता केसीका पाँच सन्तान छोरी भएपछि उनी छोराको आशमा थिइन् । उनले २५ वर्षपछि छोरा जन्माइन् । ‘छोरा नै चाहिन्छ’ भन्ने सोच भएको समाजका कारण लामो समयको अन्तरमा उनले अर्को सन्तान जन्माइन् । केस–३काठमाडौं, कोटेश्वरकी अमृता थापाले पहिलो सन्तान १६ वर्षको भएपछि दोस्रो जन्माइन् । जागिरका कारण एउटै सन्तानमा चित्त बुझाए पनि दोस्रो पटक गर्भ रहेकाले उनले गर्भस्थ शिशु जन्माउने निर्णय गरिन् । ४५ वर्ष भइसकेकीले गर्भपतन गराउँदा स्वास्थ्यमा समस्या आउला कि भनेर उनले धेरै वर्षको अन्तरमा दोस्रो सन्तान जन्माइन् ।माथिका त केही प्रतिनिधि उदाहरण मात्र हुन् । हरेक आमाबुवाका लागि शिशु जन्माउनु सौभाग्य हो । कतिपयले बाध्यताका कारण धेरै वर्षको जन्मान्तर राख्ने गरेको पाइन्छ । समाजशास्त्री मीना उप्रेतीले भनिन्, ‘जन्मान्तर धेरै वर्ष राख्नुमा आर्थिक स्थिति, आमाको स्वास्थ्य, वैदेशिक रोजगार प्रमुख कारण हुन् ।’ पछिल्लो समय एकल सन्तान हुर्काउने चलन बढ्दो छ । परिवारको चाहनाले दोस्रो सन्तान जन्माउने योजना धेरैले बनाएका हुन्छन् । यसकारण पनि दुई सन्तानबीच जन्मान्तर धेरै वर्ष हुने गरेको उनको भनाइ छ । वर्ल्ड हेल्थ अर्गनाइजेसन (डब्ल्युएचओ) का अनुसार पहिलो र दोस्रो सन्तानको जन्ममा लगभग २४ महिनाको अन्तर हुनु जरुरी हुन्छ । उक्त अवधिमा महिलाको स्वास्थ्य पूर्णरूपमा ठीक भइसकेको हुन्छ । विभिन्न अध्ययनले दुई सन्तानबीच कम्तीमा १८ महिनाको फरक हुनु जरुरी भएको देखाएको छ । दुई सन्तानबीचको जन्मान्तर कम भए ‘प्रि–म्याचुयर  डेलिभरी’ हुनुका साथै कम तौलको बच्चा जन्मिने खतरा बढी रहन्छ । ललितपुरस्थित निदान हस्पिटलकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ मीरा थापाले सन्तानबीचको जन्मान्तर गर्ने कुरा आमाबुवाको निजी विषय भएको बताइन् । ‘तर आमा र बच्चाको स्वास्थ्यका लागि दुई बच्चाबीच जन्मान्तर राख्नु जरुरी छ’ उनले भनिन् । ‘पहिलो बच्चालाई जन्म दिएपछि आमा शारीरिक तथा मानसिक रूपमा पूर्ण स्वस्थ नभएसम्म दोस्रोको बारेमा सोच्नु हुँदैन । दोस्रो बच्चा जन्माउने योजना बनाउँदा आमाको स्वास्थ्य कस्तो छ भन्ने कुरामा ध्यान दिनैपर्छ ।’ दुई सन्तानबीच जन्मान्तर धेरै कम भए बच्चालाई स्तनपान गराउँदा समस्या आउँछ । सन्तानलाई आमाको दूध पर्याप्त मात्रामा खान पुग्दैन । त्यतिमात्र नभई आमालाई पनि आराम गर्ने समय मिल्दैन । दुईवटा बच्चाको जिम्मेवारी एकैपटक पूरा गर्न गाह्रो हुन्छ । डेढदेखि दुई वर्षको अन्तर धेरै राम्रो मानिन्छ । महिला गर्भावस्था र सुत्केरी भइसकेपछि पुनः शरीरको रिकभर हुन समय लाग्छ । तर, दुई सन्तानबीच धेरै ग्याप रहँदा आमा र बच्चाको शारीरिक स्वास्थ्यमा खासै असर नपर्ने जिकिर डा.मीराको छ । पछिल्लो समय धेरैजसो अभिभावकले आफ्नो पढाइ र करियरको चक्करमा ढिलो बच्चा जन्माउने वा दुई बच्चाबीच धेरै उमेरको अन्तर राख्ने गरेको पाइन्छ । यसले आमाबुवालाई सन्तान हुर्काउन सहज त हुन्छ तर बच्चाको हकमा त्यो हुँदैन । धेरै अन्तर हुँदा सानो बच्चाको तुलनामा ठूलोमा गहिरो मानसिक असर पर्ने मनोविश्लेषक वासु आचार्यको भनाइ छ । ‘यस्तोमा उनीहरूमा आफू एक्लो भएको महसुस गर्छन् । त्यसको असर उसको पढाइमा पनि पर्न जान्छ । उसलाई ‘एडजस्ट’ गर्न गाह्रो हुन्छ’ उनले भने, ‘किनभने यो उमेरमा उसले आफ्नो अवस्थाबारे सामना गर्न जानेको हुँदैन । ३–४ वर्षभन्दा बढी अन्तर भएका बच्चाहरूमा यो समस्या देखिन्छ ।’ उनका अनुसार साना बालबालिकाले सधैं हीनताबोध महसुस गर्छन् । उनले हेपिएको महसुस गर्छन् । धेरै वर्षको भन्दा एक–दुई वर्षको अन्तरका बच्चाबीच सम्बन्ध राम्रो बन्छ । सँगै खेल्ने, पढ्ने हुँदा उनीहरूले एक्लो महसुस गर्दैनन् । वासुको मतसँग समाजशास्त्री मीना सहमत छिन् । ‘धेरै उमेरको अन्तर हुँदा ठूलो बच्चा बुझ्ने भइसकेको हुन्छ’ उनले थपिन्, ‘त्यसले गर्दा भाइ वा बहिनी जन्मनुअघि सबै कुरा (सम्पत्ति) मेरो थियो अब बाँडिने भयो भन्ने डरले उनीहरूबीचको सम्बन्ध बिग्रन सक्छ ।’फाइदा - एउटा बच्चा हुर्किसकेपछि अर्को जन्माउँदा उसलाई पूरै समय दिएर हुर्काउन सकिन्छ । हेरचाह गर्न सजिलो हुन्छ ।- बच्चा ठूलो भइसकेपछि उसको हेरचाह गर्नु पर्दैन । ऊ आफ्नो काम आफै गर्ने भइसकेको हुन्छ । स्कुल जाने, कपडा मिलाउने, खाना खाने आदि काममा उसलाई सहयोगको आवश्यकता पर्दैन । सानो बच्चाको पनि राम्रोसँग हेरचाह गर्ने भइसकेको हुन्छ । - पहिलो बच्चाले पनि सानो बच्चाको हेरचाह गर्न सक्छन् । पढाइमा सहयोग गर्न सक्छन् । त्यसैले आमालाई सजिलो हुन्छ । बेफाइदा - नवजात शिशुप्रति ईर्ष्या जाग्छ । पहिलो बच्चाले उनलाई माया नगरेको महसुस गर्छ । - उसले आफूतर्फ ध्यान केन्द्रित गर्न विभिन्न किसिमको वहाना बनाउन सक्छ । कहिलेकाहीँ त नराम्रो बानीको पनि विकास हुन सक्छ । - धेरै वर्षको अन्तर राख्दा बच्चाको हेरचाह गर्ने तौरतरिका बिर्सन सकिन्छ । दुई बच्चामा एक–अर्काबीच लगाव हुँदैन । - सानो बच्चा सधैँ ठूलो बच्चासँग डराएर बस्छ । धेरै वर्षको अन्तरको कारण उनीहरू खुलेर रमाउन, खेल्न सक्दैनन् । - सानो बच्चाले हीनताबोध महसुस गर्छ ।  ‘बढी जन्मान्तरले मानसिक असर’वासु आचार्य, मनोविश्लेषकदुई सन्तानबीच उमेरको धेरै अन्तर हुँदा आमा र बच्चामा कस्तो मानसिक असर देखिन सक्छ ?एउटा सन्तान जन्माइसकेपछि अर्को जन्माउँदा धेरै वर्षको अन्तर भएमा सबैभन्दा बढी मानसिक असर पहिलो बच्चालाई पर्न जान्छ । सानोको बुद्धि विकास भएपछिमात्र उसलाई असर गर्ने भयो । परिवारका सदस्य, छरछिमेकले पनि अर्को बच्चा जन्मने भएपछि ‘तिमीलाई अब माया गर्दैनन्’, ‘तिम्रो सबै खेल्नेकुरा वा सामग्री भाइ वा बहिनीको हुने भयो’ ‘तिम्रो सम्पत्ति खाने अर्को आउने भयो’ भनिदिन्छन् । उसले कसैलाई पनि यो कुरा सेयर गर्न सक्दैन । ऊ एक्लै तड्पिँदै बस्छ । उसको स्वतन्त्रता खोसिन्छ । जसकारण उसलाई नकारात्मक प्रभाव पर्छ । त्यस्तै, आमामा पनि मानसिक असर देखिन्छ । पहिलो बच्चा हुँदा परिवारमा बेग्लै उत्साह छाउँछ । परिवारका सबै सदस्यले हेरचाह गरिदिने, श्रीमान्को सहयोग पाउने हुन्छ । तर, दोस्रो सन्तान हुँदा पारिवारिक सहयोग कम हुन्छ । हरेक कुराको व्यवस्थापन गर्न गाह्रो हुन्छ, जसले गर्दा आमा तनावग्रस्त परिस्थितिबाट गुज्रन्छिन् । यस्तो अवस्थामा कसरी परामर्श दिन सकिन्छ ?धेरै अन्तर राखेर सन्तान जन्माउँदा अभिभावकले पहिलोलाई सहज वातावरण बनाइदिनुपर्छ । बच्चालाई उसैको खुसीका लागि घरमा नयाँ बच्चा आउन लागेको भनिदिनुपर्छ । ‘तिम्रो एक्लोपन हटाउन तिम्रा लागि साथी ल्याइदिएको’ भन्न सकिन्छ । अथवा छरछिमेक कसैको उदाहरण दिन सकिन्छ । ‘उनीहरू सँगै बस्दा, खेल्दा कत्ति रमाइलो गर्छन् तिमीलाई पनि त्यस्तै रमाइलो हुन्छ’ पहिलो बच्चालाई भनिदिनुपर्छ ।  ‘धेरै ग्यापले समस्या’ मीना उप्रेती, समाजशास्त्री बच्चामा धेरै ग्याप नहुँदा उनीहरू सँगै खेल्ने, पढ्ने, हुर्कने, सोच्ने गर्छन् । झगडा गरे पनि उनीहरू मिलिहाल्ने स्वभावका हुन्छन् । एक–अर्कामा रिसइबी र इगो हुँदैन । तर, उमेर धेरै अन्तर हुँदा ठूलो बच्चा निकै बुझ्ने भइसकेको हुन्छ । उसलाई ‘सबै सम्पत्ति मेरो हो’ भन्ने भइसकेको हुन्छ । त्यसकारण घरमा नयाँ सदस्यको आगमन हुँदा सम्पत्ति बाँडफाँड हुने भयो भन्ने मनमा भय हुन्छ । जसले गर्दा उनीहरूको सम्बन्ध राम्रो हुँदैन । अर्को, जति पनि कुरा बच्चाले आफू बच्चा हुँदा सिक्छ त्यही नै उसले ठूलो भएपछि आफ्नो जीवनमा लागू गर्छ । जसका काररण बच्चा सानो हुँदा आना भाइबहिनीसँग जस्तो सम्बन्ध स्थापित भएको छ, पछिसम्म त्यस्तै रहन्छ । भन्नुको अर्थ, सँगै हुर्केका बच्चाहरूमा एक–अर्काप्रति माया, प्रेम, आत्मीयता, सद्भाव बढी रहन्छ र उनीहरू ठूलो भइन्जेल यो कायम रहन्छ । धेरै ग्याप हुँदा दुई बच्चाबीच यही आत्मीयता देखिँदैन । उनीहरूमा ईर्ष्या एवं रिसको भावना हुन्छ, जुन पछिसम्म रहन्छ । सानोमा बच्चा रिसाउने भए पछिसम्म पनि रिसाउँछ । उसले माया गर्न जान्दैन । जसले समाजमा प्रत्यक्ष असर पारिरहेको हुन्छ । दुई बच्चाबीच जन्मान्तर किन हुन्छ त ? यसका विभिन्न कारण हुन सक्छन् । आमाको स्वास्थ्य तथा आर्थिक कारणले पनि यो हुने भयो । अहिलेका अभिभावकलाई दुई वा त्यसभन्दा बढी बच्चा जन्माउँदा उनीहरूलाई राम्रोसँग शिक्षा–दीक्षा दिन सकिँदैन भन्ने चिन्ता रहन्छ । वैदेशिक रोजगारीका कारण पनि दुई बच्चामा उमेरको अन्तर रहन्छ । यो उनीहरूको बाध्यता हो । अर्को महत्वपूर्ण कारण पहिलो बच्चा छोरा भयो भने जन्मान्तर हुन्छ । पहिलो बच्चा छोरा भयो भने अर्को बच्चा जन्माउने कष्ट गर्दैनन् तर छोरी भयो भने तुरुन्तै अर्को बच्चाका लागि योजना बनाउँछन् । छोरा एक्लो भएको महसुस हुन्छ र उसलाई साथीको आवश्यकता पर्ने रहेछ भनेर अर्को बच्चा जन्माउँछन् । त्यसैले उमेरको अन्तर हुन जान्छ ।  ‘चार वर्षसम्मको अन्तर राम्रो’ मीरा थापा, स्त्री एवं प्रसूति रोग विशेषज्ञदुई सन्तानबीच कति वर्षको अन्तर राख्दा राम्रो हुन्छ ?सामान्यतया डेढदेखि चार वर्षसम्मको अन्तर राख्दा आमा र बच्चा दुवैको स्वास्थ्यका लागि राम्रो हुन्छ । दुई सन्तानबीच एक वा डेढ वर्षको फरक राख्दा उनीहरूबीच गहिरो सम्बन्ध त रहन्छ तर आमाको स्वास्थ्यमा असर पर्न सक्छ ।धेरै वर्ष जन्मान्तर राख्दा के आमा र बच्चाको स्वास्थ्यलाई असर पार्छ ?शारीरिक स्वास्थ्यमा प्रत्यक्ष असर त पार्दैन । अन्तर राख्दा अझ पहिलो बच्चाले राम्रो स्याहार–सुसार पाउँछ । तर कति वर्षको अन्तर राख्ने भन्ने कुरा आमाको उमेरमा पनि भर पर्छ । पछिल्लो समय ढिलो विवाह गर्ने र प्रायः पढाइ, करियर बनाएरमात्र बच्चा जन्माउँछन् । जसका कारण उमेर गइसकेको हुन्छ र धेरै अन्तर राख्दा आमाको स्वास्थ्यमा असर पर्न सक्छ । गर्भावस्थाको दौरान जटिलता आउन सक्छ । उमेर अलिक बढी भएपछि बच्चा जन्माउँदा उच्च रक्तचाप र मधुमेह देखिन सक्छ । अर्को कुरा सामान्य (नर्मल) डेलिभरी भएकाले चाँडै बच्चा जन्माउन सक्छन् तर अप्रेसन गरेका आमाले कम्तीमा पनि दुई वर्षको अन्तर राख्नैपर्छ । 

सुजाता मुखिया, मंसिर ७, २०७८

-- पुरै पढ्नुहोस् --

सुवर्णको फिटनेस मन्त्र

बिहान एक्सरसाइज गर्दा पनि हेभी ब्रेकफास्ट लिनुपर्ने हुन्छ । उनी प्रायः बिहान दालभात नै खान्छन् । ‘म बाहिरको खाना तथा जंकफुड खाँदिन । बाहिर खानुपरे घरबाटै बनाएर लान्छु । उनी भन्छन्, ‘मैले खानेकुरामा कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ । साँझको खानामा फलफूल एवं कुखुराको मासु हुन्छ ।’

नारी संवाददाता , माघ ६, २०७७

-- पुरै पढ्नुहोस् --

कस्तो हुनुपर्छ वर्षातको खाना ?

यतिबेला पानी परिरहने भएकाले पानीमा भिज्दा कतिपयलाई ज्वरो आउने तथा रुघा खोकी पनि लाग्न सक्छ । त्यसैले स्वस्थ रहनका लागि खानपानमा पनि ध्यान दिनुपर्ने सल्लाह डाइटिसियनले दिन्छन् ।

उपासना घिमिरे, असार ११, २०७७

-- पुरै पढ्नुहोस् --

यी खानेकुरा खानुस्, तनाव घटाउनुस्

विभिन्न वैज्ञानिक अनुसन्धानले खानपानबाट तनाव गर्न सकिने तथ्य प्रमाणित गरेको छ । तनावकम गरी मन शान्त बनाउने केही खानेकुराबारे पोषणविद् सुवर्ण गुरागाईंको टिप्स यस्तो छ ।

लक्ष्मी भण्डारी, असार ३, २०७७

-- पुरै पढ्नुहोस् --

स्क्रिन अघि धेरै समय बस्नु घातक, जोगिने कसरी ?

योजना बनाएर स्क्रिन अघि बस्नुहोस् । बिहानको समय आफ्नो स्वास्थ्यमा बढी ध्यान दिनुहोस् । सुत्नुअघि एक घण्टाअघि नै स्क्रिनबाट टाढा रहनुस् । सकेसम्म मोबाइलमा अलार्म नराख्नुस् । 

दिवस थापा ( आईटी इञ्जिनियर ), जेष्ठ ११, २०७७

-- पुरै पढ्नुहोस् --

बन्दाबन्दीले बढ्दो मानसिक समस्या र समाधान

वयस्क र युवामा सामान्य किसिमका मानसिक लक्षण मात्र देखिएका छन् । तर यसलाई समयमै निक्र्यौल गर्न सकेनौ भने भविष्यमा कडा खालको मानसिक रोग उत्पन्न हुनसक्ने अध्ययन पहिलेका महामारीमा देखिएको छ ।  

उपासना घिमिरे, जेष्ठ ८, २०७७

-- पुरै पढ्नुहोस् --

अहिले नै जोखिम कम भएको छैन  

अहिलेको समयमा र अब आउने दिनमा पनि जोखिम रहिरहेको छ । अबका दिन पनि जोखिमकै दिन हुनेछन् भनेर बुझ्नु जरुरी छ । त्यसैले बन्दाबन्दीका बेला पछिल्लो ४८ दिनसम्म सिकेका कुरा, अपनाइएका सावधानीलाई निरन्तरता दिँदै व्यवहारमा उतार्नु जरुरी छ । 

उपासना घिमिरे, वैशाख २९, २०७७

-- पुरै पढ्नुहोस् --

मोटोपन नियन्त्रणका लागि कस्तो खाना खाने ? यस्तो छ डाइटिसियनको सुझाव

मौसमी रंगीबिरंगी फलफूल दैनिक २,३ पटक खाने बानी बसाल्नाले यसमा पाइने रेशाले भोक ढिला लगाउनुका साथै पेट भरी भएको महसुस गराउँछ । जसकारण तौल नियन्त्रणमा मद्दत पुग्दछ । दैनिक २१ देखि ३५ ग्राम रेशा (फाइबर) शरीरलाई आवश्यक पर्दछ ।

विपीन कार्की, डाइटिसियनवैशाख २६, २०७७

-- पुरै पढ्नुहोस् --

लकडाउनमा तौल घटाउन सहयोगी खानेकुरा

दैनिक एक कचौरा दही सेवन गर्नाले तौल र पेटको बोसो कमगर्न सकिन्छ । यसमा क्याल्सियम, प्रोटीन, भिटामिन हुन्छ जसले वजन कम गर्नका साथै स्वस्थ राख्न मद्दत गर्दछ । दहीमा रहेको प्रो–बायोटिक ब्याक्टेरियाहरूले पाचन प्रणालीमा सुधार गर्छ ।

लक्ष्मी भण्डारी, वैशाख २५, २०७७

-- पुरै पढ्नुहोस् --

कसरी गर्ने अनिद्राको व्यवस्थापन 

बिस्तारामा जाने बित्तिकै निद्रा पर्नु पर्छ भन्ने मानिसको सोचाइ हुन्छ । वैचारिक हिसाबमा त्यो नराम्रो सोच हो । रातभरि नै हामी बिस्तारामा पल्टिनुपर्छ भन्ने खालको सोच्छौ । कतिपयमा आज रातभरि निद्रा परेन भने भोलि दिनभर काम गर्न सक्दैनौ भन्ने सोच पनि आउँछ । यो पनि निद्रासँग सम्बन्धित सोचको विकृति हो । 

डा. विनोद घिमिरे, वैशाख १९, २०७७

-- पुरै पढ्नुहोस् --

जंकफुड खुवाएर छोराछोरीलाई रोगी बनाउँदै छन् अभिभावक

जंकफूडको असर तत्कालिन रुपमा नदेखिएपनि दीर्घकालिन रुपमा यसले भयावह स्थिति ल्याउनेमा शंका छैन । घरकै भान्सामा पाक्ने दाल भात, तरकारी, रोटी, आलु, भटमास, मकै, बारीमा फलेका मौसम अनुसारका फलफूललाई बेवास्ता गरिएको छ । 

नारी संवाददाता , वैशाख १७, २०७७

-- पुरै पढ्नुहोस् --