Successfully Copied

यमपञ्चकका पाँच दिन

तिहार कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि सुरु भएर कार्तिक शुल्क पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकोले यो पर्वलाई यमपञ्चक भनिन्छ ।


तिहार कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि सुरु भएर कार्तिक शुल्क पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकोले यो पर्वलाई यमपञ्चक भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने विश्वास छ । यमपञ्चकको पहिलो दिन कागको पूजा गरिन्छ । दोस्रँे दिन कुकुर र क्रमशः लक्ष्मी, गोवर्धन पर्वत र भाइ पूजा गरिन्छ ।
धेरै पहिले बहिनी यमुनाले यस दिन दाजु यमराजलाई विशेष सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले बहिनीको निम्तो स्वीकार गरी बहिनीको घरमा बास बसे। घरमा बस्दा निकै प्रसन्न भई यमराजले बहिनीलाई वर माग भन्दा उनले हरेक वर्ष तिहारमा टीका लाउन आउनुपर्ने र हामी दुईको प्रेम प्रगाढ रहोस् र दाजुको आयु लामो होस् भनेर वरदान मागिन् । यमराजले पनि तथास्तु भनेर बिदा भएपछि हरेक वर्ष त्यही दिन यो पर्व मनाइन्छ ।


पहिलो दिन काग तिहार
कार्तिक कृष्ण त्रयोदशीका दिन काग पूजा गरिन्छ । कागलाई यमदूतको प्रतीक मानिन्छ । काग चलाख र चिरञ्जीवी पंक्षी हो साथै कागले अन्नबालीमा लाग्ने कीरा–फट्याङ्ग्राहरू खाइदिने भएकाले कागको पूजा गरिन्छ । त्यसैगरी कागलाई सर्वभक्षी पंक्षीका रूपमा चिनिन्छ । किनभने यसले सबै खालका वस्तु खान सक्छ । कागले पृथ्वीमा भएका कतिपय विषालु कुरालाई पनि ग्रहण गर्न सक्छ । त्यसैले वायुमण्डल स्वच्छ बनाउन कागको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले यसदिन कागको पूजा गरी कागतिहार मनाउने गरिएको धार्मिक विश्वास छ ।
कार्तिक कृष्णपक्षको त्रयोदशीलाई धनत्रयोदशी अर्थात् धन्तेरस पनि भनिन्छ । यस दिन सुनचाँदीका गरगहना, सिक्का, काँस, तामा, पित्तल आदिका भाँडाकुँडा किन्ने परम्परा छ ।


दोस्रो दिन कुकुर तिहार
दोस्रो दिन कुकुर तिहार मनाइन्छ । यस दिन कुकुरलाई पूजा गरी माला लगाइदिएर यो पर्व मनाइन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुर यमराजको प्रिय भक्त र उनको दूतको रूपमा पनि लिइन्छ । कुकुर आज्ञाकारी र इमान्दार जनावर भएकाले मानिसहरूको प्रिय जनावर पनि हो । हाम्रो सुरक्षा गर्नेदेखि अपराध निवारण र अनुसन्धानमा समेत सहयोग पु¥याउने जनावर भएकाले कुकुरलाई सम्मान गर्ने पर्वका रूपमा कुकुर तिहार मनाइन्छ ।


तेस्रो दिन गाईतिहार र लक्ष्मीपूजा
धार्मिक कार्य गर्नुअघि गाईको गोबरले लिपपोत गरेर गाईको गहुँत सबैतिर छर्केर चोखो बनाई पूजाआजा गर्ने हिन्दूहरूको संस्कार छ । गाईलाई लक्ष्मी र गौमाताका रूप मानिन्छ । गाईको दूध, दही, घिउ, गोबर र गहुँत सबै हाम्रो स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । यसैगरी त्यस दिन साँझमा सुख, सम्पत्ति एवं ऐश्वर्य दिएर धनको वर्षा गराउने लक्ष्मीको पूजाआजा गरिन्छ । कार्तिक कृष्णऔंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । त्यसैले घरवरिपरि बत्ती बालेर उज्यालो बनाइन्छ ।

चौथो दिन गोरु तिहार
गोरु तिहार तिहारको चौथो दिन मनाइन्छ । गाईको गोठ वा पवित्र स्थानमा गोबरको गिरिराज बनाएर त्यसलाई पूजा गरिन्छ । गोरुलाई हातको पञ्जा वा फूलका थुँगाले रंगीचंगी टीका लगाई खानेकुरा दिएर फूलमाला लगाई पूजा गरिन्छ । गोरु धर्मको स्वरूप हो । गोरुले मानिसलाई सेवा पु¥याउँदै आएकाले उनीहरूलाई सम्मानस्वरूप पूजाआजा गरी गोरुतिहार मनाउने गरिएको हो ।


अन्तिम दिन भाइटीका
भाइटीका दिदीबहिनी र दाजुभाइको विशेष पर्व हो । दिदीबहिनीहरूले दाजुभाइलाई विधिपूर्वक पूजाआजा गरेर मीठोमसिनो खानेकुरा दिई निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गर्छन् । बहिनी यमुनाले टीकाकै दिन दाजु यमराजलाई सम्मान पूर्वक पूजा गरेको धार्मिक महत्व छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानीपोखरीको मन्दिरमा पूजाआजा गर्छन् ।

 Image