Successfully Copied

गाउँघरको स्वाद पस्किने कान्छीमाया

उनको पहिलो भिडियो माछा र ढिँडो पकाएको थियो । भिडियो पोस्ट गरेको केही दिनमै हजारौंले हेरे, सयौंले कमेन्ट गरे । आमाछोरा दुवैको हौसला बढ्यो । त्यसपछि एक–एक गरी भिडियो बनाउँदै पोस्ट गर्न थालें ।



रातो साडी, रातै चौबन्दी चोलो, कम्मरमा पटुकी लगाएर कान्छीमाया भण्डारीले युट्युबमा खाना पकाउँछिन् । उनले यसरी भिडियो बनाएको तीन बर्ष बितिसकेको छ । यो अवधिमा उनले थुप्रै गाउँघरमा पकाइने खानेकुराको रेसिपी पस्किसकेकी छिन् । छोटो समयमै लोकप्रिय बनेकी कान्छीमाया रहरले भन्दा पनि बाध्यताले युट्युबमा जोडिएको बताउँछिन् ।


कोरोना महामारीका कारण उनका छोरा प्रकाश कामविहीन भएका थिए । ट्रेकिङ गाइडको काम गर्ने उनका छोरा लकडाउनमा घर आएका थिए । उनका श्रीमान् बितेको पनि धेरै भएको थिएन । घर खर्च चलाउन मुस्किल हुँदै गएपछि कान्छीमायाले उनका छोरालाई जसरी भए पनि पैसा कमाउनुपर्छ भन्ने दबाब दिन थालिन् । केही वर्षसम्म मिडियामा काम गरेका कारण प्रकाशसँग क्यामेरा र अनुभव थियो । उनले आमालाई युट्युब च्यानल चलाउने कुरा बताए । प्रकाश सुनाउँछन्, ‘मम्मीलाई खाना मीठो पकाउन आउने, त्यसैले यही सीपलाई नै किन युट्युबमा नराख्ने भन्ने सोच आयो ।’

कान्छीमायाले छोराको प्रस्तावलाई सहजै स्वीकार त गरिन् । तर उनलाई क्यामेराअघि बोल्ने आँट जुटाउन सकिनन् । उनी सम्झिन्छिन्, ‘छोराले सधैझैं पकाउन भनी सिकायो । क्यामेराअघि बोल्न डर लागेपनि आफ्नै छोराले त खिचेको हो भनेर पकाउन थालें ।’ जसोतसो उनले खाना पकाइन् । उनको पहिलो भिडियो माछा र ढिँडो पकाएको थियो । भिडियो पोस्ट गरेको केही दिनमै हजारौंले हेरे, सयौंले कमेन्ट गरे । आमाछोरा दुवैको हौसला बढ्यो । त्यसपछि एक–एक गरी भिडियो बनाउँदै पोस्ट गर्न थालें ।
नेपाली महिलाको परम्परागत पहिरन भनेको रातो साडी–चोलो, रातो टीका–पोते हो । प्रकाश भन्छन्, ‘मौलिक परिकारहरू स्वाद चखाउने भएकाले पहिरन पनि परम्परागत नै हुनुपर्छ भन्ने सोच आयो । गाउँघरको परिवेश देखाउन त्यही थिममा सुरु गरेका हौं । सबैले मनपराइदिनुभयो ।’


अहिले कान्छीमायाको दैनिकी फेरिएको छ । युट्युबमा हप्तामा एउटा भिडियो बनाउँछिन् ।घरमा यसपटक के पकाउने भन्ने चर्चा हुन्छ । क्यामेराअघि पकाउन अप्ठ्यारो मान्ने उनी अहिले छोरालाई यसरी खिच, यताबाट खिच, टाढाबाटखिच, यसलाई नजिकबाट खिच भन्दै सिकाउँछिन् । मासिक युट्युबबाटै लाखौं आम्दानी गरिरहेकी कान्छीमाया भन्छिन्, ‘अहिले म धेरै खुसी छु । आत्मविश्वास बढेको छ ।’

 Image