Successfully Copied

दीपोत्सव

नेपाली समाजमा प्रकृति पूजाको आफ्नै महत्व र गरिमा छ भने त्यसको लामो परम्परा पनि छ । प्रकृतिमा रहेका पन्छी, जनावरको पूजा गर्नुले हाम्रो परम्परा र संस्कृतिको वैज्ञानिक महत्व पनि झल्किन्छ ।


सरस्वती ढुंगाना

दीपहरूको महान् उत्सव नै दीपावली हो । तमसोमा ज्योतिर्गमय भन्ने भावले ओतप्रोत भएको दीपावली हिन्दूहरूको महान् पर्व हो । अँध्यारोको ठाउँमा उज्यालोको कामना गरी मनाइने पर्व भए पनि यसको धार्मिक, सांस्कृतिक, जैविक दृष्टिकोणले महत्व रहेको पाइन्छ । परापूर्वकालदेखि लोक जीवनमा चलिआएको दीपावली उज्यालो र समृद्धिको द्योतक हो । यो पर्वमा आयुर्वेदका आचार्य धन्वन्तरीको पनि सम्झना हुन्छ ।
यो बेला प्रकृति पनि निकै सुरम्य हुन्छ । बारीका पाटाभरि सयपत्री, मखमली, गोदावरी फुलेका हुन्छन् । खेतमा धान पाकेर पहेंलपुर हुन्छन् । यस अवसरमा गाइने लोकगाथाको आफ्नै महत्व छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म मनाइने यो पर्वमा काग, कुकुर, गाई–गोरु एवं भाइको पनि पूजा हुन्छ । चारैतिर गाइने देउसी र भैली गीतले वातावरण नै आकर्षक देखिन्छ । तिहारलाई मिठाईं, फलफूल र उज्यालो अर्थात् दीपले अझ शोभायमान बनाएको पाइन्छ ।

नेपाली समाजमा प्रकृति पूजाको आफ्नै महत्व र गरिमा छ भने त्यसको लामो परम्परा पनि छ । प्रकृतिमा रहेका पन्छी, जनावरको पूजा गर्नुले हाम्रो परम्परा र संस्कृतिको वैज्ञानिक महत्व पनि झल्किन्छ । काग, कुकुर, गाई–गोरु एवं दाजुभाइको विशेष श्रद्धा र आस्थाले पूजा गरिने यस पर्वको जैविक एवं वातावरणीय महत्व पनि रहेको छ भन्दा अत्युक्ति हुँदैन । आफू बाँच्न अरूलाई पनि बचाउनुपर्छ, सबैको समान अस्तित्व रहेको हुन्छ भन्ने सन्देश यस पर्वभित्रको अर्को महत्वपूर्ण पक्ष हो । मानव वा जीवको क्रमिक विकासमा उज्यालोको कति महत्व छ भन्ने कुरालाई विज्ञानले समेत पुष्टि गरेको छ ।


मोहन्जारो र हरप्पादेखिको मानव सभ्यतामा उज्यालो अर्थात् दीपको आफ्नै महत्व रहेको छ । त्यतिबेलादेखि मानव जीवन्त र अभिन्न अंग बन्न पुगेको यो दीपको पर्व वा उत्सव नै दीपावली हो । हरेक क्षण दीपको आवश्यकता पर्छ । आजको वैज्ञानिक युगका मानिस हिजो ढुंगेयुगमा हुँदा पनि आगो वरपर नै रमाउँथे ।

दीपावलीको अवसरमा सबैतिर दीपोत्सव गरिन्छ । यस अवसरमा घर, चोक, डबली एवं सरकारी तथा आवासीय भवनमा पनि विशेष प्रकारले दीपावली गरिन्छ । धन–समृद्धिकी देवी लक्ष्मीको विशेष पूजा गरिन्छ भने भाइ तथा आत्माको पूजा पनि गरिन्छ । विभिन्न रंगोली कलाको उत्कृष्ट सजावटका कारण पनि दीपावलीको अझ महत्व बढेको पाइन्छ । घरघरमा बन्ने ताजा मिठाईंका कारण पनि यो पर्वको आफ्नै सांस्कृतिक महत्व रहेको छ ।
तिहारमा फलफूल, मिठाईं एवं विभिन्न प्रकारका सुख्खा मसलाको व्यापार बढी हुन्छ । दिदीबहिनीले दाजुभाइलाई रंगीन टीका लगाएर आपसी सम्बन्ध विस्तार गर्ने तिहार सद्भाव र प्रेमको पर्व पनि हो । तिहारमा सबैको सुस्वास्थ्य एवं दीर्घायुको कामना गरी घरघरमा पुगेर नाच–गान गरिन्छ । पौराणिक कथनअनुसार यस पर्वमा राजा बली, आयुर्वेदका जनक धन्वन्तरी र गोवद्र्धनको पनि पूजा गरिन्छ ।

 Image