Successfully Copied

‘बगान’मा करिश्मा

काखे बेलादेखि दुःखका साथ संघर्ष गर्दै हुर्काएकी छोरीले परिवार र समाजको पुरातन सोचलाई भत्काउँदै आफ्नी आमाको खुसीको सारथि बनेको कथा बोकेको छ ‘बगान’ ले ।


असार २९ गते रिलिज भएको ‘बगान’ चलचित्रमा अभिनेतृ करिश्मा मानन्धरको अभिनयको जादुले पुनः एकपटक चर्चा बटुलिरहेको छ । लामो समयपछि ठूलोपर्दामा फर्किएकी मानन्धर बीचको समयमा म्युजिक भिडियामा अभिनय, अध्ययन र विभिन्न कार्यक्रममा व्यस्त रहेको बताउ“छिन् । यही चलचित्रबाट नव अभिनेतृका रूपमा प्रमिला कार्कीको प्रवेश भएको छ ।


काखे बेलादेखि दुःखका साथ संघर्ष गर्दै हुर्काएकी छोरीले परिवार र समाजको पुरातन सोचलाई भत्काउँदै आफ्नी आमाको खुसीको सारथि बनेको कथा बोकेको छ ‘बगान’ ले । यसमा छोरीले आफ्ना सपना तिलाञ्जलि दिँदै आमाको खुसीका लागि सामाजिक विद्रोह गरेको देखिन्छ । ‘आमाबाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुँगामुढामाथि’ भन्ने पुरानो उखानलाई बगानको कथाले चुनौती दिएको छ ।’ मानन्धर भन्छिन्–‘अभिभावकले जति सन्तानका लागि त्याग गरेका हुन्छन्, युवापुस्ताले यो कुरा मनन गर्दै, उनीहरूले पनि अआफ्ना आमाबुवाको खुसीका लागि केही गर्नुपर्ने जिम्मेवारी हुन्छ, अहिलेका युवापुस्ताका लागि यो एउटा राम्रो ज्ञान हुनसक्छ, जुन कुरा चलचित्रमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।’

यो चलचित्र समाज र परिवारका सदस्यले भोगेको शक्तिशाली कथामा आधारित रहेको बताउँदै नवनायिका प्रमिला भन्छिन्–‘यसले तमाम एकल आमाको सामूहिक कथा बोल्छ । बोल्न नसकेका यस्ता आमाको आवाज यो चलचित्रले बोलेको छ ।’ यो चलचित्रमा डेब्यु डाइरेक्टरका रूपमा अभिनेता सरोज खनाल रहेका छन् भने चलचित्रको कथा स्वप्न नीरवले लेखेकी हुन् । निर्माता सुरेश वाग्ले, कार्यकारी निर्माता विनोद मानन्धर रहेको बगानमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नीर शाह, मिथिला शर्मा, वसुन्धरा भुसाल, प्रमिला कार्कीलगायतको अभिनय देख्न पाइन्छ ।

पहिरन- रुना श्रेष्ठ, इनोभ एट बुटिक, नक्साल नागपोखरी
मेकअप -रश्मिला श्रेष्ठ, रश्मिलाज फेसियल हाउस, काठमाडौं मल
लोकेसन-द स्ट्रान्ड लाउञ्ज एन्ड बार, बत्तीसपुतली
तस्बिर- महेशमान प्रधान
संयोजन -लक्ष्मी भण्डारी

 Image