Successfully Copied

इजी रेसिपी बनाउने दीपा

उनले सबैको भान्सामा सजिलै उपलब्ध हुने सामग्रीबाट मीठा–मीठा परिकार तयार पार्छिन् र भिडियो बनाएर युट्युबमा हाल्छिन् । उनलाई लाग्छ, ‘सजिलै बनाउन सकिने र युनिक रेसिपीकै कारण भ्युज बढी आएको हुनसक्छ ।’


दीपा बस्नेत ‘इजी किचन रेसिपी’ नामको युट्युब च्यानल चलाउँछिन् । च्यानलको नामजस्तै उनका हरेक रेसिपी ‘इजी’ हुन्छन् । उनले सबैको भान्सामा सजिलै उपलब्ध हुने सामग्रीबाट मीठा–मीठा परिकार तयार पार्छिन् र भिडियो बनाएर युट्युबमा हाल्छिन् । उनलाई लाग्छ, ‘सजिलै बनाउन सकिने र युनिक रेसिपीकै कारण भ्युज बढी आएको हुनसक्छ ।’


‘चिउराको मीठो पुवा’, ‘हरियो मकैको रोटी’, ‘रायोको सागको अचार’,‘चाउचाउको अम्लेट’ जस्ता युनिक रेसिपी उनको च्यानलमा देख्न सकिन्छ । युट्युबमा भिडियो बनाएर हाल्ने सिलसिला भने लकडाउनका बेला सुरु भएको हो । ‘च्यानल लकडाउनअघि नै बनाएकी थिएँ । कहिलेकाहीँ १–२ वटा भिडियो हाल्थें । लकडाउनका बेला फुर्सद मिल्यो’ उनी भन्छिन्, ‘लकडाउनअघि आफै भिडियो खिच्नुपर्ने भएकाले भिडियोको गुणस्तर राम्रो नहुने र खिच्न पनि अप्ठ्यारो हुने, हल्लिने भएकाले निरन्तरता दिन सकेकी थिइन ।’

लकडाउनका बेला उनले निगुरोको रेसिपी बनाएर हालिन् । केही समयमै ३० हजार भ्युज गयो । उनी सुनाउँछिन्, ‘सुरुसुरुमा त एक सय मात्र पुग्दा पनि खुसी लाग्थ्यो । कति धेरै जस्तो लाग्थ्यो । यति धेरै पुग्ला भन्ने त सोचेकी पनि थिइन । पाँच सय सब्सक्राइबर नै पुग्यो । लगत्तै ‘पोखराको विन्दास आलु’को रेसिपी राखें । त्यसको पनि एक मिलियन भ्युज पुग्यो ।’ उनको हौसला बढ्दै गयो । त्यसपछि उनले दिनहुँ नयाँ–नयाँ रेसिपी बनाएर हाल्न थालिन् ।


उनलाई खाना पकाउन एकदमै रुचि लाग्थ्यो । बच्चालाई सकेसम्म घरमै बनाएर खुवाउँथिन् । त्यसैले उनले सुरुमा बच्चालाई घरमै के–के बनाएर खुवाउन सकिन्छ भनेर भिडियो बनाउन थालिन् । तर उनले सोचेजस्तो भ्युज आएन । उनलाई कमेन्ट पढ्न एकदमै रमाइलो लाग्छ । कतिले यसको रेसिपी राख्नु भन्दै सुझाउँछन् । कमेन्टबाट सुधार्नुपर्ने धेरै कुरा थाहा पाउँछिन् । अहिले उनले युट्युबबाट मासिक एक लाखसम्म आम्दानी गर्छिन् । 

 Image