Successfully Copied

‘के हो फेसियल रिकन्स्ट्रक्सन’

यसमा पूर्णरूपमा कम्प्युटर प्रविधिको प्रयोग गरी व्यक्तिअनुकूल डिजाइन तथा ‘थ्री–डी प्रिन्टिङ टेक्नोलोजी’द्वारा दुरुस्तै मिल्ने गरी मुख तथा अनुहारको ढाँचा निर्माण गर्ने काम गरिन्छ ।


डा. आशुतोष कुमार सिंह, (मुख तथा अनुहार शल्यचिकित्सक, त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज)


मुख तथा अनुहारको हड्डीको पुनर्निर्माण (फेसियल रिकन्स्ट्रक्सन) के हो ?


यो प्रविधि नेपाल र नेपालीका लागि बिल्कुलै नौलो हो । विभिन्न रोग जस्तै ट्रमा (घटना–दुर्घटना) मा परेर वा मुख तथा अनुहारको हड्डीको ट्युमर, क्यान्सरलगायत जन्मजात वंशानुगत रोगले मुख र अनुहारको हड्डी नबढ्ने, झर्ने आदि रोगका कारण आउने समस्याको शल्यचिकित्साद्वारा समाधान गर्ने प्रक्रियालाई मुख तथा अनुहारको हड्डीको पुनर्निर्माण (फेसियल रिकन्स्ट्रक्सन) हो ।

यो कसरी गरिन्छ ?

केही वर्षअघिसम्म नेपालमा ‘फेसियल रिकन्स्ट्रक्सन’ को उपचारै थिएन । केही समय शरीरका अन्य भागबाट शल्यक्रियाद्वारा हड्डी निकालेर यो गरिन्थ्यो । यसमा पूर्णरूपमा कम्प्युटर प्रविधिको प्रयोग गरी व्यक्तिअनुकूल डिजाइन तथा ‘थ्री–डी प्रिन्टिङ टेक्नोलोजी’द्वारा दुरुस्तै मिल्ने गरी मुख तथा अनुहारको ढाँचा निर्माण गर्ने काम गरिन्छ । मुख तथा अनुहार वा त्यसभित्रका दाँत र हड्डीको जुन भाग झरेको, बिग्रिएको वा बाङ्गोटिंगो भएको छ त्यसलाई हुबहु बनाउने गरिन्छ ।


यसमा कस्तो प्रविधि र सामग्री प्रयोग गरिन्छ ?

यसमा प्रयोग हुने प्रविधिलाई ‘भर्चुअल सर्जिकल प्लानिङ’ भनिन्छ, जसमा कम्प्युटर एडेड डिजाइनिङ (क्याड) द्वारा कत्ति पनि फरक नपर्ने गरी हड्डी पुनर्निर्माण गर्ने सामग्री तयार पारिन्छ । यो सामग्री टाइटानियम धातु अथवा सिलिकोन र पोली इथर (पिक) किटोनले बनेको हुन्छ ।

यो उपचार कत्तिको टिकाउ हुन्छ ?

यसमा प्रयोग गरिने ‘टाइटानियम’ धातुका कारण यो टिकाउ हुन्छ । किनभने भार परीक्षणमा एक सामान्य मानिसले चपाउँदा च्यापुमा पर्ने भारलाई १० देखि १५ वर्षसम्म टिक्ने देखिएको छ ।

यसका के–कस्ता फाइदाहरू छन् ?

यो प्रविधिबाट जस्ताको तस्तै मुख तथा अनुहारको हड्डी पुनर्निर्माण गर्न सकिन्छ । हरेक व्यक्तिका लागि अगाडि नै छुट्टाछुट्टैडिजाइन गरिएको हुन्छ । यसमा अप्रेसनको अवधि छोटो हुन्छ र छिटै निको हुन्छ । यो प्रयोग गर्दा आफ्नै शरीरबाट शल्यक्रिया गरेर हड्डी निकालिरहनु पर्दैन । मुख्य कुरा त सेवा लिइसकेपछि बिग्रिएको, टेठो,बाङ्गोटिंगो, शल्यक्रिया गरेर निकालिएको खाली ठाउँ परिपूर्ति भई अनुहार सुन्दर र आकर्षक देखिन्छ ।

यसका साइड–इफेक्ट्स पनि छन् कि ?

शल्यक्रिया गर्दा इन्फेक्सन हुने सम्भावना भएकाले ‘हाइजिन मेन्टेन’ गर्नुपर्छ । त्यसो त जुनसुकै शल्यक्रियामा पनि संक्रमण हुने सम्भावना रहन्छ । धेरै कम मान्छेमा ‘मेटल एलर्जी’ पनि हुनसक्छ । यीबाहेक यसमा अन्य खासै ‘साइड–इफेक्ट्स’ छैनन् ।

 Image