Successfully Copied

ओठको सुरक्षा कसरी गर्ने ?

अनुहारको छालामा जस्तै ओठमा पनि स्क्रब जरुरी हुन्छ । ओठमा नियमित रूपमा स्क्रब गर्दा ओठमा भएका मृतकोशिका हटेर जान्छन् र ओठ नरम हुन्छन् ।


हामीमध्ये धेरैले अनुहार र केसलाई मात्र ध्यान दिन्छौं । अनुहारको चमक बनाइराख्न धेरै उपाय अपनाउँछौं । स्वस्थ केस बनाउन विभिन्न प्याक बनाएर लगाउँछौं । तर ओठलाई बेवास्ता गरिदिन्छौं । ओठको छाला अन्य हिस्साको भन्दा पातलो र संवेदनशील हुन्छ ।
चिसो मौसममा ओठमा विभिन्न समस्या देखिन्छन् । यतिबेला ओठ फुट्ने, सुख्खा हुने र रगत निस्कने समस्या हुन्छ । ओठमा रोमछिद्र नहुने भएकाले यसमा छुट्टै पोषण र हाइड्रेसनको आवश्यक पर्छ । 


सुख्खा हुन नदिने

ओठलाई नरम र गुलाबी बनाइराख्न सबैभन्दा सजिलो उपाय भनेको ओठलाई सुख्खा हुन नदिनु हो । सुख्खा ओठ छिट्टै फुट्छ र रगत आउन थाल्छ । धेरैजसोको ओठ जिब्रोले चाट्ने बानी हुन्छ जसले गर्दा ओठ फुट्छ । ओठमा नियमित रूपमा लिमबाम लगाइराख्नुपर्छ । यसले ओठ मोस्चर बनाइराख्छ । ओठ मुलायम र गुलाबी बनाइराख्न मद्दत गर्छ ।


स्क्रब जरुरी
अनुहारको छालामा जस्तै ओठमा पनि स्क्रब जरुरी हुन्छ । ओठमा नियमित रूपमा स्क्रब गर्दा ओठमा भएका मृतकोशिका हटेर जान्छन् र ओठ नरम हुन्छन् । स्क्रब घरमै बनाएर प्रयोग गर्न सकिन्छ । त्यसका लागि थोरै महमा चिनी मिसाएर पेस्ट बनाई ओठमा हल्का हातले मसाज गर्ने । केही समय मसाज गरेर पानीले पखाल्नुपर्छ । चामलको पीठोको प्रयोग गर्न पनि सकिन्छ । दाँत माझ्ने ब्रस भिजाएर हल्का ओठलाई ब्रस गर्न पनि सकिन्छ ।


मसाज गर्ने
कतिपयको ओठमा कालोपन देखिन्छ । यस्तोमा राति सुत्नुभन्दा पहिले नरिवलको तेल लगाएर मसाज गर्न सकिन्छ । यसले ओठको कालोपन हटाएर ओठलाई मुलायम र गुलाबी बनाउँछ ।


गुणस्तरीय लिपिस्टिकको प्रयोग
ओठमा सधैं गुणस्तरीय कम्पनीका लिपिस्टिकको प्रयोग गर्नुपर्छ । गुणस्तरहीन लिपिस्टिकले ओठ कालो बनाइदिन्छ र ओठ पनि फुट्छ । राम्रो कम्पनीको लिपिस्टिकमा मोस्चराइजर पनि हुन्छ जसले ओठलाई नरम बनाइराख्छ । जाडोमा म्याटी लिपिस्टिक भन्दा सेमी म्याट वा ग्लस प्रयोग गर्नुपर्छ ।


लिपबामको प्रयोग
ओठ सुख्खा हुन नदिनसधै गुणस्तरीय लिपबाम प्रयोग गर्नुपर्छ । दिनमा कम्तीमा पनि ४–५ पटक र राति सुत्नुअघि मेकअप हटाएर लिपबाम लगाउनुपर्छ । ओठमा गाईको घिउ पनि लगाउन सकिन्छ ।


स्वस्थ आहार
ओठलाई नरम राख्न स्वस्थ खाना खानुपर्छ । जाडोमा धेरैले कम पानी पिउँछन् । त्यसैले ओठ सुख्खा हुन्छन् । ओठलाई डिहाइड्रेसनबाट बचाउन हरियो तरकारी एवं फलफूलखानुपर्छ । सुन्तला खाँदा वा नरिवल पानी पिउँदा पनि शरीरमा इलेक्ट्रोलाइट्सको काम गर्छ । भिटामिन सी र ईले ओठलाई स्वस्थ राख्न मद्दत पु¥याउँछन् ।


राति सुत्नुअघि
राति सुत्नुअघि अनुहारको मेकअपसँगै ओठको लिपिस्टिक पनि हटाउनुपर्छ । त्यसपछि ग्लिसिरिनमा कागतीको रस मिलाएर दैनिक ओठमा लगाउनुपर्छ । यसले ओठ सुख्खा हुने, फुट्ने समस्या हटेर जान्छ अनि ओठ नरम र मुलायम हुन्छ ।


मृत छाला हटाउने
सुख्खा र फुटेको ओठलाई कम समयमै नरम बनाउन त्यसमा भएको मृत छालालाई हटाउनुपर्छ । त्यसका लागि बेकिङ सोडामा पानी मिसाएर पेस्ट तयार गर्ने र उक्त पेस्टलाई ओठमा लगाएर औंलाको सहायताले हल्का रगड्नुपर्छ । पानीले धोएर ओठमा ओलिभ वा नरिवलको तेल लगाउनुपर्छ । यसले ओठमा भएको मृत छाला हटेर जान्छ र ओठ नरम हुन्छन् ।


ओठको हेरचाह
–ओठ फुट्न नदिन प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
–लिपिस्टिकका कारण पनि ओठ बिग्रन सक्छन् । त्यसैले गुणस्तरीय लिपिस्टिकको प्रयोग गर्नुपर्छ ।
–हरिया सागपात, भिटामिन सी र ई भएका खानेकुरा खानुपर्छ ।
–जिब्रोले ओठ चाट्ने बानी भए हटाउनुपर्छ ।
–सुत्नुभन्दा पहिले मेकअप हटाएजस्तै लिपिस्टिक पनि हटाउनुपर्छ ।
–ओठमा हातले छोइरहनुहुँदैन । हातमा ब्याक्टेरिया हुनसक्ने भएकाले ओठमा संंक्रमण हुनसक्छ ।
–फुटेका ओठको जबर्जस्ती पाप्रा निकाल्नु हुँदैन । रगत निस्केर घाउ बन्न सक्छ ।
–बाहिर निस्कँदा अनुहारलाई कभर गरेर निस्कनुपर्छ । चिसो हावाले पनि ओठलाई सुख्खा बनाउँछ ।
–लिपिस्टिक लगाउनुअघि लिपबामको प्रयोग गर्नुपर्छ । यसले ओठ मोस्चराइज भइरहन्छ ।


(ऐना युनिसेक्स सलोनकी सञ्चालिका खुशी पाठकसँग सुजाता मुखियाले गरिएको कुराकानीमा आधरित)

 Image