Successfully Copied

साउन महिनाको महत्व

चारैतिर वातावरणमा आएको परिवर्तनसँगै महिला दिदीबहिनीले हरियो चुरा, टीका, पोते लगाउँछन् । यसले वातावरणलाई झनै हरियो र शान्त बनाउँछ । बजारमा जताततै हरियो चुरा, पोते र अन्य हरिया शृंगारका सामानहरू सजाएर राखिएका हुन्छन् । यतिबेला दिदीबहिनीमा एक किसिमको उल्लासमय खुसी छाउँछ ।


निना ढकाल
नेपाली नयाँ वर्षको सुरुवातसँगै धेरै कुराको थालनी र चाडबाड पनि सुरु हुन्छन् । जेठ महिनामा खेतीपाती गर्नेले धानको बीउ राख्न थाल्छन् । असार महिनामा वर्षाको सुरुवातसँगै महिला दिदीबहिनीले धान रोप्न थाल्छन् । असार १५ मा खुसीयालीका साथ उल्लासमय वातावरणमा धान रोपाइँ गर्दै दही–चिउरा खान्छन् । यसलाई राष्ट्रिय पर्वकै रूपमा मनाइन्छ । मौसममा आएको परिवर्तन र चारैतिर खेतीपातीले गर्दा जताततै हरियाली देखिन्छ । यसैगरी साउन महिनाको सुरुवातसँगै महिला दिदीबहिनीको पहिरनमा पनि परिवर्तन देखापर्छ । चारैतिर वातावरणमा आएको परिवर्तनसँगै महिला दिदीबहिनीले हरियो चुरा, टीका, पोते लगाउँछन् । यसले वातावरणलाई झनै हरियो र शान्त बनाउँछ । बजारमा जताततै हरियो चुरा, पोते र अन्य हरिया शृंगारका सामानहरू सजाएर राखिएका हुन्छन् । यतिबेला दिदीबहिनीमा एक किसिमको उल्लासमय खुसी छाउँछ ।
साउनमा महिलाले टीका, पोते, चुरा, मेहेन्दी तथा पहिरन सबै हरियो लगाउने चलन भगवान्कै पालादेखि नै चल्दै आएको हो भन्ने भनाइ छ । त्यसैले होला वृन्दावनमा साउन महिनामा भगवान्लाई हरियो वस्त्र, चुरा आदि लगाएर सजाएको पाइन्छ, यदाकदा हरियो पोते–लुगा लगाउने चलनको विरोध गरेको पनि पाइन्छ ।


विरोध गर्नुका पछाडि त्यसको कुनै कारण देखिँदैन । साउन महिनामा टीका, चुरा पोते, मेहेन्दी वस्त्र सबै हरियो लगाएर सजिनु हाम्रो परम्परा र संस्कृतिको जगेर्ना गर्नु पनि हो । हामीले सानैदेखि हजुरआमा, आमा, दिदीबहिनी तथा छिमेकीहरूले हरियो चुरा, पोते, मेहेन्दी एवं पहिरन लगाएर सजिएको देख्दै आएका छौं । त्यसैले हाम्रो मानसपटलमा आएको हरियाली दृश्यलाई तालमा ताल मिलाउँदै सबै पहिरन हरियो लगाउन मन लाग्छ । यो संस्कृति आजभोलि फेसनका रूपमासमेत देखिन थालेको छ । साउन महिनाको अन्त्यसँगै नेपाली महिलामा तीजको माहोल सुरु हुन्छ । त्यसमा दिदीबहिनीहरूले सबै पहिरन रातो लगाएर सजिन्छन् ।
साउन महिनामा सबै खेतीपाती, जंगल, रुख–बिरुवा सबै हरियो भएर आएका हुन्छन् । खेतीपाती तथा वर्षाको मौसम भएकाले चारैतिर हरियालीबाहेक केही देखिँदैन । खोलानाला समेत हरियाली वातावरणसँगै सुसाइरहेका हुन्छन् । यस्तो शान्त एवं उत्साहपूर्ण वातावरणलाई थप हरियाली र सुन्दर बनाउन दिदीबहिनीले आफ्नो सौभाग्यको प्रतीक मानिने चुरो, पोते, मेहेन्दी सबै हरियो लगाएर सजिनु वातावरणलाई थप हरियो र शान्त बनाउन मद्दत गर्छ । आफ्नो धर्म, संस्कृति तथा प्रचलनको संरक्षण र प्रवद्र्धन गर्न मद्दत पु¥याउँछ । यसले दिदीबहिनीलको मनमा शान्ति तथा आनन्दित र उत्साहित बनाइरहेको हुन्छ ।   

 Image