Successfully Copied

सोखलाई व्यवसायमा बदलेकी बुनु

उनले मोतीको ब्यागसँगै मोतीबाट बनेका सबै सामग्रीहरू बनाउँछिन् । उनले बनाएका ब्याग नेपालसँगै युके, अस्ट्रेलिया, अमेरिका आदि ठाउँमा पनि पुग्छन् । अहिले उनलाई अर्डर पुर्‍याउनै भ्याइनभ्याई हुन्छ । उनको चाँडै स्टोर खोल्ने सोच छ ।

स्टाइलिस देखिन रुचाउने बुनुलाई नयाँ–नयाँ प्रयोग गर्न मन पर्थ्यो । उनले लकडाउनमा घरमै बसिरहेका बेला सामाजिक सञ्जालमा मोतीबाट बनेका ब्याग देखिन् । उनलाई पनि यस्तै ब्याग बनाउन पाए हुन्थ्यो भन्ने लाग्यो । एकदमै महँगो मूल्य भएकाले यसलाई त घरमै बनाउन सकिन्छ भनेर उनी ब्याग बनाउन चाहिने आवश्यक सामग्री खोज्न न्यूरोड पुगिन् । तर उनले सोचेजस्तो सजिलो थिएन । दिनभर न्यूरोड घुम्दा पनि भनेजस्तो सामान पाउने ठाउँ नै भेटिनन् । ब्यागको फोटो देखाउँदै पसलहरू चाहर्दा बल्लतल्ल भेटिन् ।


‘सुरुमा मैले आफ्नै लागि ब्याग बनाएँ’ उनी भन्छिन्, ‘पहिलो ब्याग नै राम्रो बन्यो । एकदमै खुसी लाग्यो । ब्याग देख्ने जति सबैले मनपराए । यो एकदमै नयाँ थियो । मोतीको ब्याग नेपालमा कमैले बनाउँछन् । त्यतिबेला सायद म मात्र थिएँ होला ।’ त्यसपछि उनलाई हौसला मिल्यो र फेरि अरु ब्याग बनाइन् । ती ब्याग उनका साथीहरूले नै किनिदिए ।

फार्मेसीमा स्नातक गरेकी बुनुलाई करियरमा फोकस हुनु थियो । त्यसैले उनले केही वर्ष मार्केटिङ रिप्रेन्जेटिभका रूपमा काम गरिन् । यसलाई नै व्यवसाय बनाउने सोच भने कहिल्यै आएको थिएन । पार्ट टाइम कामका रूपमा उनले बाँकी रहेको समय मोतीको ब्याग बनाउन थालिन् । यसलाई अनलाइन व्यवसायका रूपमा सुरु गर्न सकिन्छ भन्ने सोच आएपछि इन्स्ट्राग्राममा पेज खोलिन् । पेजको नाम ‘थैली’ जुराइन् ।



उनले धेरैपटक यहाँ भनेजस्तो कच्चापदार्थ पाएकी छैनन् । उनलाई धेरैले फोटो पठाउँदै यस्तै ब्याग बनाइदिनुपर्‍यो भन्छन् । कुनै बनाइदिन्छिन् भने कुनै सामान नै पाउँदिनन् । सामान नपाएकै कारण उनले तीन महिनासम्म बन्द नै गरिन् । एक त कच्चापदार्थ नै नपाइने पाए पनि महँगो पर्ने उनको गुनासो छ । टिकटक बन्द भएपछि उनको व्यापारमा असर पार्‍यो । उनी भन्छिन्, ‘टिकटकबाट धेरैजनामाझ पुगेकी थिएँ ।’
उनले मोतीको ब्यागसँगै मोतीबाट बनेका सबै सामग्रीहरू बनाउँछिन् । उनले बनाएका ब्याग नेपालसँगै युके, अस्ट्रेलिया, अमेरिका आदि ठाउँमा पनि पुग्छन् । अहिले उनलाई अर्डर पुर्‍याउनै भ्याइनभ्याई हुन्छ । उनको चाँडै स्टोर खोल्ने सोच छ । 

 Image