Successfully Copied

कान्तिपुर नेसनल म्युजिक अवार्ड सम्पन्न

कार्यक्रममा करिब ६ दशकदेखि गीत लेखनमा सक्रिय यादव खरेललाई दीर्घ साधना (लाइफटाइम अचिभमेन्ट) अवार्ड प्रदान गरिएको थियो ।


पाँचौं ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड’ कार्यक्रम सम्पन्न भएको छ । राजधानीमा आयोजित कार्यक्रममा करिब ६ दशकदेखि गीत लेखनमा सक्रिय यादव खरेललाई दीर्घ साधना (लाइफटाइम अचिभमेन्ट) अवार्ड प्रदान गरिएको थियो । खरेललाई एक लाख रुपैयाँ र ट्रफीसहित सम्मान गरिएको थियो । त्यसका साथै रेडियो कान्तिपुरले २४ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा २०७८ देखि २०७९ साउनसम्म प्रसारणमा आएका गीतका आधारमा बिजेताहरू घोषणा गरेको थियो ।


विभिन्न १५ विधाका बिजेताहरूलाई अवार्ड वितरण गरियो । १५ विधाका लागि प्रत्येकतर्फ पाँच÷पाँच मनोनयमा परेका थिए । उत्कृष्ट नव गायक÷गायिकाको अवार्ड ‘रेलको बाटो’ बाट सुरज पण्डितले जितेका थिए । यसैगरी उत्कृष्ट रचानाकारतर्फ ‘हर्क शाउद’ ले घुमीघुमी गीतबाट अवार्ड हात पारेका थिए । त्यस्तै, उत्कृष्ट संगीत निर्देशकतर्फ हरि लम्सालले अवार्ड हात पारे । ‘पीर’बाट सम्झना भण्डारीले उत्कृष्ट लोकदोहरी गायिका र गायकतर्फ प्रकाश सपूतले अवार्ड जिते ।

उत्कृष्ट पाश्र्व गायिकातर्फ अस्मिता अधिकारी ‘बाबरी रंग’ बाट र रवि ओड ‘ए मेरो हजुर’ बाट उत्कृष्ट पाश्र्व गायक घोषित भए ।


उत्कृष्ट राष्ट्रिय संगीत विधातर्फ ‘आज मलाई यही माटो’ का गीतकार शान्तिराम भट्टराईले अवार्ड हात पारे । उत्कृष्ट पप गायिका तथा गायकमा सुवानी मोक्तान तथा स्वप्न सुमनले अवार्ड हात पारे । उत्कृष्ट सांगीतिक समूहको अवार्ड भने अनुप्रस्थले प्राप्त गरेको थियो । अनुप्रस्थले उक्त अवार्ड मंगलबार निधन भएका रकस्टार रबिन तामाङप्रति समर्पण गरेको थियो ।

उत्कृष्ट आधुनिक गायिका तथा गायकमा रचना रिमाल र राज सिग्देलले अवार्ड जिते । उत्कृष्ट युगल गीतको विधामा महेश काफ्ले र अस्मिता अधिकारीले अवार्ड प्राप्त गरे । ‘लजावति झार’ बाट उनीहरूले यो अवार्ड पाएका हुन् । यसैगरी सुशान्त केसी पिपुल च्वाइस अवार्ड प्राप्त गर्न सफल भएँ ।


कार्यक्रममा इन्डियन आइडल सिजन १० (२०१८) का बिजेता सलमान अलीले कैलाश खेरका ‘तेरी दिवानी’, ‘मेरे रस्के कमर’, ‘ओ लाल मेरी’ लगायतका गीतमा विशेष प्रस्तुति दिएका थिए ।
गायक÷गायिकाहरू प्रकाश सपूत, शिव परियार, सुवानी मोक्तान, राज सिग्देल र सुजाता वर्मा, गजलकार प्रदीप रोदन, शंकर बिसी, सन्दिप क्षेत्री, स्वप्न सुमन र समीर श्रेष्ठ लगायतले विभिन्न गीतसंगीत प्रस्तुत गरेका थिए ।

तस्बिरहरु - महेशमान प्रधान

 Image