Successfully Copied

पर्वतकिन्नरी लिएर आइन् शर्मिला

साहित्यकार शर्मिला कार्कीले मुक्तक संग्रह पर्वत किन्नरी बजारमा ल्याएकी छिन् । कार्कीको पहिलो कृति पर्वतकिन्नरीको साहित्यकार ज्ञानुवाकार पौडेल, समालोचक कृष्ण प्रधान लगायतले शनिवार विमोचन गरे ।


काठमाडौं–साहित्यकार शर्मिला कार्कीले मुक्तक संग्रह पर्वत किन्नरी बजारमा ल्याएकी छिन् । कार्कीको पहिलो कृति पर्वतकिन्नरीको साहित्यकार ज्ञानुवाकार पौडेल, समालोचक कृष्ण प्रधान लगायतले शनिवार विमोचन गरे । पुस्तक विमोचन गर्दै पौडेलले पहिलो कृति नै गतिलो लेखेको प्रतिक्रिया दिए । ‘पहिलो कृतिमै छक्का हानेकी छन् शर्मिलाले,’ पौडेलले भने, ‘जुन आत्मविश्वासकासाथ मुक्तक लेखेकी छन्, यसलाई सन्तोष मान्नु पर्छ ।’ कृतिमा भावन, विचार र अनुभूतिको सन्तुलन रहेको पौडेलले बताए । ‘यिनका मुक्तक नारी सुलभ गुणले ओतप्रोत छन् । त्यतिमात्र होइन देशका समस्या, देशभक्ति पनि पोखिएका छन्,’ पौडेलले भने, ‘जीवनका विविध समस्याको चित्रण भएका छन् । ती समस्या कसरी समाधान गर्ने उपायको खोजी पनि छ ।’ पुस्तकको समिक्षा गर्दै समालोचक कृष्ण प्रधानले पुस्तकमा मायाप्रेम, देशप्रेम र स्वास्थ्यप्रतिको चिन्तन भेटिने बताए । ‘आम नेपालीका साझा कथा व्यथा कृतिमा समेटिएको छ,’ प्रधानले भने । मुक्तकार कार्कीले दोलखाको जाफे गाउँमा हुर्कदै गर्दा आफूमा साहित्यको चेत पलाएको बताइन् । ‘धेरै प्रतिष्पर्धी नभएर हो कि किन हो, म ९ कक्षामा पढ्दा विश्व वातावरण दिवसमा भएको साहित्य गोष्ठीमा मेरा सिर्जना प्रथम भए । एकै पटक दुई वटा पुरस्कार पाएँ,’ कार्किले भनिन्, ‘अध्धयनकै क्रममा प्रतियोगितामा सहभागी हुन सदरमुकाम चरिकोटसम्म जाने मौका पाएँ । त्यही बेलादेखि नै ममा साहित्यको रस बस्दै गयो । त्यसैको परिणाम हो यो कृति ।’ कृतिका प्रकाशक विनोद आचार्य हुन् । दोलखा जाफेमा जन्मिएकी काकीले कर्मघर पर्वतबाट आफ्नो पुस्तकको नामाकरण गरेकी हुन् । उनी पोखरामा बस्छिन् । 

 Image