Successfully Copied

साहित्यिक कृतिहरूले चेतना निखार्छन्

साहित्य कल्पनाको उच्च उडान हो तर त्यस्तो कल्पना सजीव हुनुपर्छ ।


हालै आफ्नो कविता संग्रह ‘प्रमिथसको फिलिंगा’ प्रकाशित गरेकी गीतकार राखी गौचनसँग गरिएको संवाद -

कविता र गीतमा तपाईंको रुचि कसरी जाग्यो ?

साहित्यमा रुचि हुनु सबैका लागि आर्जित नहुँदो रहेछ । केही गुण जन्मजात पनि हुदा रहेछन् । गीत, कवितामा मोह बाल्यकालदेखिकै हो । सम्झना भएसम्म मैले कक्षा–चारमा पढ्दा नै गीत लेखेकी थिएँ। साहित्यप्रतिकोसुुषुप्त लगावले गर्दा नै म आज पनि शब्दहरूसँग दूर हुन सकेकी छैन ।

साहित्यिक कृतिहरूको अध्ययनले हाम्रो जीवनलाई कस्तो असर गर्न सक्छ ?

जीवन जिउने कलामा सकारात्मक असर र प्रभाव पर्न सक्छ । भनिन्छ–एक थोपा मसीमा हजारौं मानिसको चेतनालाई बदल्न सक्ने शक्ति हुन्छ । यसर्थ हामीले पढ्ने साहित्यिक कृतिहरूले हाम्रो चेतनालाई निखार्ने काम गर्न सक्छन् । जीवन र जगत्लाई नयाँ तरिकाले बुझ्न सक्ने सचेतना प्रदान गर्न सक्छन् भन्ने ठान्छु ।


कस्तो साहित्य लेखिनुपर्छ र कसकालागि लेखिनुपर्छ ?

साहित्य मानव जीवनका लागि लेखिनुपर्छ ।क्षणिक रोमाञ्चकता र भावुकता मात्रै साहित्य हुँदै होइन ।साहित्य कल्पनाको उच्च उडान हो तर त्यस्तो कल्पना सजीव हुनुपर्छ । भनिन्छ–साहित्य समाजको ऐना हो ।कुनै देशको साहित्य, कला र संस्कृति अध्ययन गरेपछि त्यो देशको विकास र समृद्धि मापन गर्न सकिन्छ । साहित्य समयसापेक्ष, देश काल र परिस्थिति सुहाउँदो र मानव जीवनलाई सहज बनाउनका लागि लेखिनुपर्छ ।

पछिल्लो समय नेपाली साहित्य कुन स्थानमा छ? यसले नेपाली पाठकलाई कत्तिको सम्बोधन गरेको महसुस हुन्छ ?

हाम्रो भाषा–साहित्य विश्व भाषा–साहित्यको तुलनामा धेरै पछाडि छ । केही अनुवाद साहित्यमार्फत हामीलाई विश्व साहित्यसामु पु¥याउने प्रयास गरिएको देखिन्छ । हाम्रा केही साहित्यिक कृतिहरू पनि विश्व साहित्य स्तरकै पनि छन् ।पारिजातको ‘शिरीषको फूल’ औपन्यासिक कृति यसको एउटा उदाहरण हुन सक्छ । आजको नेपाली साहित्यले पाठकलाई सम्बोधन गर्ने प्रयास गरेको त छ तर त्यो सन्तोषजनक छैन ।

ईश्वर र साहित्यमध्ये एउटालाई रोज्नुप¥यो भने तपाईं के रोज्नुहुन्छ ?

मेरा लागि यो एकदम जटिल प्रश्न हो । म ईश्वरमा विश्वास गर्दिन ।ईश्वर भनेको केवल आस्था, भरोसा र विश्वास हो ।साहित्य पनि मेरा लागि यस्तै विश्लेषणहरूको पुञ्ज हो । म साहित्यलाई सत्मार्गमा चल्ने प्रेरणाको द्योतक ठान्छु र स्वीकार गर्छु ।

 Image