Successfully Copied

शुभ संकल्प गरौं

सूर्योदयको बिहानीसँगै अब नयाँ वर्षको शुभारम्म भयो । विगतमा जो–जसबाट जे–जति गल्ती एवं कमी–कमजोरी भए त्यसमा पश्चाताप गरौं । हरेक क्षेत्रमा काम गर्ने मानिसहरूले छातीमा हात राखेर सोचौं ।



भानुभक्त मरासिनी

सूर्योदयको बिहानीसँगै अब नयाँ वर्षको शुभारम्म भयो । विगतमा जो–जसबाट जे–जति गल्ती एवं कमी–कमजोरी भए त्यसमा पश्चाताप गरौं । हरेक क्षेत्रमा काम गर्ने मानिसहरूले छातीमा हात राखेर सोचौं । विगतमा हामीले कहाँ–कहाँ गल्ती गर्‍यौं । के विद्यार्थी, के शिक्षक, के राजनीतिज्ञ, के व्यापारी, के प्रधानमन्त्री, के गृहमन्त्री, के नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरू, के जनप्रतिनिधिहरू, के पुराणवाचक धर्मगुरुहरू सबैबाट गल्ती भएका समाचारहरू सुन्नमा आएका छन् । विगतमा जे भए पनि नयाँ वर्षमा सबैबाट राम्रा काम भएको सुन्न पाइयोस् । विद्यार्थी अनुशासित भएर प्रगति पथमा अघि बढून् । शिक्षकहरूले आफू अनुशासित भएर मर्यादाको पालन गरी विद्यार्थीहरूलाई पढाऊन् । राजनीतिक क्षेत्रमा काम गर्नेहरूले मन्त्री पद पाउनका लागि पार्टी परिवर्तन नगरी जनभावनानुसार काम गरून् । व्यापारीहरूले कृत्रिम अभावको सिर्जना नगरी उचित मूल्यमा सामानहरू बिक्री गरून् । प्रधानमन्त्री, गृहमन्त्री एवं अन्य मन्त्रीहरूले जोसुकै भए पनि भ्रष्टाचार गर्ने मानिसलाई कारबाही गरून् । राष्ट्रसेवक कर्मचारीहरूले घूस नखाई जनताका कामहरू छिटो गरी सुशासनको प्रत्याभूति गराऊन् । जनप्रतिनिधिहरूले आफूले गरेका वाचाहरू पूरा गरी जनचाहना पूरा गर्न कुनै लोभ–मोहमा नफसून् ।

अहिले पुराणवाचक शीतलकृष्ण महाराज (भुसाल) की धर्मपत्नी स्वीकृति भुसालले मिडियामा व्यक्त गरेको कुराले सारा मानिसको हृदय छियाछिया भएको छ । स्वीकृतिभुसालले मिडियामा पत्रकार सामु भन्नुभएको छ–उहाँ धार्मिक क्षेत्रमा प्रसिद्ध, असल चरित्र भएका, सनातन धर्म, संस्कृति एवं परम्पराप्रति समर्पित, पुराण वाचन गर्ने धर्मगुरु भनेपछि मैले पनि स्वीकार गरें । बुवाआमाको सहमतिमा उहाँसँग मेरो मागी विवाह भएको हो । विवाह भएपछि केही समय हाम्रो सम्बन्ध अत्यन्त राम्रो भयो । तर पछि उहाँको व्यवहार नराम्रो हुँदै गयो । मलाई नै रक्ताम्य हुने गरी कुटपिट गर्नुभयो । म गर्भवती भएपछि उहाँले त्यो गर्भलाई फाल्न बाध्य बनाउनुभयो । उहाँको दुई तीन जना महिलासँग अनैतिक सम्बन्ध भएको थाहा पाएँ । यो कुरा कसैलाई नभनी मैले श्रीमान्लाई सम्झाएर सही ठाउँमा ल्याउने प्रयास गरें । तर पनि म सफल हुन सकिन । अन्त्यमा उहाँले मेरो इच्छाविपरीत सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएपछि बाध्य भएर म मिडियामा आएकी हुँ ।’

लाखौं मानिसलाई पुराण सुनाएर नैतिकताको पाठ पढाउने धर्मगुरुले आफ्नी धर्मपत्नीप्रति यति ठूलो अन्याय, अपमान एवं निन्दनीय काम गरेको कुरा सत्य हो भने आगामी दिनमा ती धर्मगुरुलाई व्यासासनमा बसेर पुराण वाचन गर्ने अधिकार छैन । विवाहमा कन्याका बुवा–आमाले दुलहालाई नमस्कार गर्दै भन्छन्–‘शिक्षणीया सदैव सा’ अर्थात् राम्रो शिक्षा दिएर संरक्षण गर्नू ।’ त्यतिबेला दुलहाले मैले राम्रो शिक्षा दिएर संरक्षण गर्छु । कुनै किसिमको दुःख दिने छैन भनेर प्रतिज्ञा गर्नुपर्छ । त्यसरी प्रतिज्ञा गरी अर्थात् शपथ खाएर विवाह गरेकी धर्मपत्नीलाई कसैले कुनै किसिमको अमानवीय व्यवहार गर्नुहुँदैन । जुन घरमा नारीको आदर, सम्मान एवं मर्यादा हुँदैन, त्यो घरमा देवताहरू पनि बस्दैनन् । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता ।’अर्थात्–जुन घरमा नारीप्रति आदर, सम्मान एवं राम्रो व्यवहार हुन्छ । त्यहाँ देवताहरू बस्छन् । महाराजजीले आफ्नी धर्मपत्नीलाई यति अमानवीय एवं निन्दनीय काम गरेपछि कसरी उहाँको घरमा देवताहरू बस्छन् र उहाँका बुवाआमालाई शान्ति मिल्छ ? यहाँ गम्भीर प्रश्न उत्पन्न भएको छ । यसभन्दा पहिले पनि यस्ता घटनाहरू धेरै भएका छन् । सामान्य मानिसको त कुरै नगरौं । ठूलै पदमा बस्ने, कतिपय सन्त, महन्त, मठाधीश, धर्मगुरुएवं महाराजहरूले कर्तव्यको पालना गरेनन् र धर्मपत्नीको अनादर गरी परस्त्रीसँग अनैतिक सम्बन्ध कायम गर्दा कालो कोठरीमा बन्दी जीवन बिताइरहेका छन् भने कोही समाजमा मुख देखाउन लाज भएर गुप्तवास बसेका छन् ।अहिलेको यो नयाँ घटनाले महाराजजीको सुन्दर अनुहारमा कालो दाग लतपतिएको छ । त्यही कालो दाग पखाल्न वा आफूले गरेको पापको प्रायश्चित्त गर्न उहाँ कुनै ठूलो जङ्गलमा गएर तपस्या गर्नुपर्छ वा कुनै समुद्रमा गएर लुक्नुपर्छ ।

एकपटकको कुरा हो । चन्द्रमाले दक्षप्रजापतिका २७ वटी छोरीलाई विवाह गरे । सबैलाई समान रूपमा माया गर्नुपर्नेमा बढी माया रोहिणीलाई गरे । धेरै पटक दक्षप्रजापतिले सबै छोरीलाई समान व्यवहार गर्न सम्झाउँदा पनि चन्द्रमाले मानेनन् । त्यसैको फलस्वरूप दक्षप्रजापतिले आफ्नै ज्वाईं चन्द्रमालाई क्षय रोग लागोस् भनी श्राप दिए । सोही श्रापका कारण चन्द्रमाको अनुहार कालो भयो । त्यसपछि चन्द्रमालाई कालो अनुहार देखाउन लाज भएपछि क्षीर सागरमा लुकेर बसे । चन्द्रमा नभएपछि पृथिवीमा हाहाकार भयो । अन्न उत्पादन हुन छाड्यो । फलफूलहरू सुक्न थाले । पछि देवता र दानवहरू मिली समुद्र मथन गरेर चन्द्रमालाई बाहिर ल्याए । चन्द्रमाले आकाशबाट शीतल किरण छरेपछि पृथिवीमा भएका सारा प्राणीलाई सुख–शान्ति भयो । तिनै एउटा चन्द्रमा आकाशमा उदाए । संसारलाई उज्यालो बनाए । अमृत वर्षा गराए । यो संसारका सारा प्राणीको भरणपोषण गरे । त्यसैले नीतिमा भनिएको छ–‘एकश्चन्द्रः तमो हन्ति न च तारा गणोऽपि च ।’ अर्थात् एउटै चन्द्रमाले अन्धकारलाई नाश गर्छन् तर आकाशमा नौ लाख तारा भए पनि अँध्यारो कालरात्रिलाई उज्यालो बनाउन सक्दैनन् ।

अब महाराजजीका स्थानीय गाउँलेहरू, त्यहाँका भद्र–भलाद्मी, धर्मगुरुहरू, न्यायप्रेमी महानुभावहरू एवं आमा–दिदी–बहिनीहरूले निस्पक्ष रूपमा छानबिन गरी श्रीमान्–श्रीमतीमध्ये को दोषी हुन् सत्य कुरा बाहिर ल्याउनुपर्छ र दोषीलाई कारबाही गर्नुपर्छ । यदि यो कुरा सत्य होइन र उहाँकी श्रीमतीले झूटो आरोप लगाएर श्रीमानकोअपमान गर्न खोज्नुभएको हो भने उहाँले पनि यसको प्रायश्चित्त गर्नुपर्छ । श्रीमान् निर्दोष देखिएमा उहाँको धार्मिकयात्रा निरन्तर जारी रहनुपर्छ । सुन काण्ड, सुन्दरी काण्ड, भूटानी शरणार्थी प्रकरण, मानव बेचबिखन आदि थुप्रै विषयमा कतिपय मानिस जेलमा छन् । यदि निर्दोष मानिसहरू जेलमा परेका भए तत्काल छोडिदिनुपर्छ र दोषीहरू बाहिर भए राज्यले तत्काल जेल हाल्नुपर्छ । ‘पाप धुरीबाट कराउँछ’ भनेझैं नराम्रो काम गर्नेहरूले एक दिन पापको परिणाम भोग्नैपर्छ । त्यसैले पुराणमा भनिएको छ–‘परोपकार पुण्याय पापाय परपीडनम्’ अर्थात् परोपकार नै सबैभन्दा ठूलो धर्म हो र अर्कालाई दुःख दिनु सबैभन्दा ठूलो पाप हो । त्यसैले भरसक कसैलाई दुःख नदिऊँ । पाप होइन पुण्य गरी सबैको कल्याण गरौं । आफ्नो धर्म, संस्कृति, परम्परा र राज्यका नीति–नियमहरूको पालना गरौं । अब क्रोध, लोभ, मोह एवं सबै किसिमका विषय–वासनाहरूलाई हटाएर उन्नतिको मार्गमा अघि बढौं । सबैलाई खाने–लाउने अवसर प्राप्त होस् । सबै सुख एवं शान्तिका साथ बाँच्न पाऊन् । बुद्धले शान्तिको शंख बजाएको यही पुण्यभूमिमा हामीले नयाँ वर्षमा राम्रो काम गर्ने शुभ संकल्प गरौं ।

 Image