Successfully Copied

बालबालिकाको कानको समस्यालाई वेवास्ता नगरौ

बालबालिकाहरूमा कान दुख्ने र पाक्ने समस्या बढी हुन्छ । बेवास्ता गर्दा गम्भीर समस्या निम्तिन सक्छ ।


डा. अरुण केसी
बरिष्ठ नाक, कान र घाँटीरोग विशेषज्ञ, वीर अस्पताल

बालबालिकाहरूमा कान दुख्ने र पाक्ने समस्या बढी हुन्छ । बेवास्ता गर्दा गम्भीर समस्या निम्तिन सक्छ । नाक, कान र घाँटी एक–अर्कासँग जोडिने भएकाले राम्रो हेरचाह गरिएन भने संक्रमण बढ्न सक्छ । यसै विषयमा केन्द्रित रही वीर अस्पतालमा सेवारत डा. अरुण केसीसँग गरिएको कुराकानीको सम्पादित अंशः
बालबालिकामा कान पाक्ने (संक्रमण) समस्याबारे भनिदिनुस् न ?
बालबालिकामा कानको संक्रमण हुने जोखिम बढी हुन्छ । राम्रो हेरचाह गरिएन भने जटिल समस्या हुनसक्छ । नाक र कान जोड्ने एक किसिमको पाइप हुन्छ, जसलाई ‘यूस्टेशियन ट्यूब’ भनिन्छ । स–साना बालबालिकाहरूमा यो राम्ररी विकसित भइसकेको हुँदैन । उनीहरूलाई रुघाखोकीले बढी सताउँछ । त्यसैले कान पाक्ने सम्भावना बढी हुन्छ । कानको संक्रमण भएपछि पिप र पानी बग्छ । त्योसँगै फंगल ब्याक्टेरियल इन्फेक्सनले कानमा पिप बग्ने समस्या ल्याउँछ ।
कुन उमेरका बालबालिकामा यो समस्या बढी देखिन्छ ?
सात वर्षभन्दा मुनिका बालबालिकाहरूमा यो समस्या बढी देखिन्छ ।
के साना शिशुमा पनि कानको संक्रमण हुन्छ ?
हुन्छ । नाक र कान जोड्ने पाइप राम्ररी विकसित नभएको अवस्थामा सुताएर दुध खुवाउँदा संक्रमण हुने गर्छ ।
कुन कारणले उनीहरूलाई कानमा संक्रमण हुन्छ ?
बालबालिकाहरूलाई सुतेर स्तनपान गराउँदा, कानमा तेल हाल्दा, कोट्याउँदा कानको संक्रमण हुन्छ । कोट्याउँदा कानको जाली नै फाट्न सक्छ । बालबालिकाहरूलाई स्तनपान गराउँदा उनीहरूको टाउको माथि र हल्का कोल्टे पारेर गराउनुपर्छ । सुतेर स्तनपान गराउनुहुँदैन ।
बालबालिकाहरूलाई नुहाउँदा पनि कानमा पानी पसेर कान पाक्न सक्छ ?
नुहाउँदा पानी पसेर कहिल्यै संक्रमण हुँदैन । पौडी खेल्दा कानमा पानी पस्दैन । जालीमा समस्या छ वा कान पाक्ने समस्या छ भने कानमा पानी पर्दा समस्या बढ्छ ।
कतिपयले कानमा तेल हालिदिने गरेका छन् । यसमा तपाईं के भन्नुहुन्छ ?
एकदमै गलत हो । कानमा तेल हाल्दा अहिलेसम्म कानलाई फाइदा पु¥याएका कुरा पुष्टि भएका छैनन् । बरु यसका बेफाइदा धेरै छन् । कान सुख्खा भए भ्यासलिनमा कपास राख्न सकिन्छ ।
सानो शिशुको कान पाकेमा उपचार के ?
तत्कालै चिकित्सकसँग परामर्श लिनुपर्छ । एन्टिबायोटिकको प्रयोग गर्नुपर्छ ।
कान पाकेर गम्भीर समस्या हुने डर कति हुन्छ ?
कान पाक्ने समस्या पटक–पटक भइरह्यो भने कानको जालीमा प्वाल पर्न सक्छ । प्वाल परेपछि हरेक पटक रुघा लाग्दा कानबाट पिप निस्कने समस्या हुन्छ । कानको नजिक टाउको हुने भएकाले कानको संक्रमण टाउकोसम्म फैलन सक्ने जोखिम पनि उत्तिकै हुन्छ । सुन्ने क्षमतामा कमी आउन सक्छ । जालीको प्वाल टालिएन भने अप्रेसन पनि गर्नुपर्ने हुन्छ ।
शिशुलाई कान पाक्नै नदिन के सावधानी अपनाउने ?
तेल नहाल्ने, नकोट्याइदिने, दूध खुवाउँदा सावधानी अपनाउने । कानेगुजी निकाल्न ‘एयर वाक्स’ को प्रयोग गर्नुहुँदैन । बडको पनि प्रयोग गर्नुहुँदैन । कानको समस्या पटक–पटक देखिए चिकित्सकलाई देखाएर मात्र उपचार गराउनुपर्छ । 

(डा. अरुणसँग सुजाता मुखियाले गरेको कुराकानीमा आधारित)

 Image