Successfully Copied

पुसमा सूर्य पूजन

नेपाली लोक जीवनमा पुसको आइतबार सूर्यको पूजा गर्ने परम्परा छ । त्यसो त धार्मिक, सांस्कृतिक, वैज्ञानिक र आयुुर्वेदिक दृष्टिमा सूर्यको आफ्नै महत्व छ ।

नेपाली लोक जीवनमा पुसको आइतबार सूर्यको पूजा गर्ने परम्परा छ । त्यसो त धार्मिक, सांस्कृतिक, वैज्ञानिक र आयुुर्वेदिक दृष्टिमा सूर्यको आफ्नै महत्व छ । पौराणिक मतानुसार सातवटा घोडामाथि सवार रहेका सूर्य अनन्य प्रकाशका स्रोत हुन् । जसको माध्यमबाट संसारको पालनपोषण हुन्छ । सांस्कृतिक दृष्टिमा सूर्यको उपासना गर्ने परम्परा धेरै पहिलेदेखि चलिआएको हो । यस्तो परम्परा विश्वका अन्य मुलुकमा पनि चलेको पाइन्छ ।

वैज्ञानिक दृष्टिमा सौर्यमण्डलमा सूर्यको विशेष स्थान र महत्व छ । सूर्यविनाको सृष्टि असम्भव  र कल्पना पनि गर्न सकिँदैन । त्यस्तै, आयुर्वेद र आधुनिक चिकित्सा विज्ञानले सूर्यको किरणलाई औषधीय गुणका रूपमा उल्लेख गरेको छ । यो तथ्य अमेरिकी चिकित्सक एडबिन वैविटले धेरै पहिले प्रमाणित गरेका थिए । उनले सूर्यचिकित्सा पद्धतिलाई लाभदायी उपचार पद्धतिका रूपमा प्रस्तुत गरे । यसले अन्य चिकित्सा पद्धतिले जस्तो हानी नपु¥याउने हुँदा यो बढी लाभदायक र प्रभावकारी छ । आयुर्वेदमा चरकले पनि यसको महत्वलाई स्पष्ट पारेका छन् । भगवान् सूर्यनारायणको पूजा गर्नुको मुख्य कारण भनेको सूर्यलाई सृष्टिको प्रारम्भदेखि नै प्रमुख शक्तिको स्रोतका रूपमा लिनु पनि हो ।

पुस महिनामा पाँचवटा आइतबार परेमा त्यो सूर्यपूजाका दृष्टिले अत्यन्त लाभदायक र सार्थक  मानिन्छ । सूर्योपासकहरू यसलाई विश्वको आत्मा, सम्पूर्ण ब्रह्माण्डको मूल आधार र प्राणतत्वका रूपमा पनि लिन्छन् । पञ्चमहाभूतका रूपमा रहेका पृथ्वी, जल, तेज, वायु र आकाशको सञ्चालनमा सूर्यको नै अग्रणी र महत्वपूर्ण स्थान रहेको पाइन्छ ।

पुसमा गरिने सूर्यपूजाको आफ्नै परम्परा छ ।सूर्यको पूजा मध्याह्न कालमा विधिअनुसार गरिन्छ । तामाको थालीमा बाह्रवटा विष्णुका प्रतिमूर्ति स्थापना गरी सूर्यको पूजापछि सूर्यलाई करवीरको पात चढाइन्छ । यहा“ बाह्र विष्णुलाई बाह्र महिनाका रूपमा लिइन्छ । हाम्रा बाह्र महिना र बाह्र राशिको नाम पनि सूर्यसँगै जोडिएको पाइन्छ । पूजाका अवसरमा मधुसूदन, त्रिविक्रम, वामन, श्रीधर, ह्षीकेश, पद्मनाभ, दामोदर, केशव, नारायण, माधव, गोविन्द, विष्णु नाम गरेका बाह्र प्रकाश शक्तिलाई स्थापना गरी सूर्यको पूजा गरिन्छ । पुसको सूर्यपूजामा बाह्रसूते बत्ती काटेर दीप प्रज्ज्वलन गरिन्छ । बाह्र सूर्यको नामोच्चारण गरी विधिपूर्वक पूजा गरिन्छ । यस अवसरमा व्रतालुहरू एक छाक चोखो परिकार खान्छन् । व्रतको समयमा नुन खाइन्न । कोही कोही बाह्रवर्षसम्म पुसमा सूर्यको पूजा गरी व्रत बस्छन् । व्रतकोे अवधि बाह्रवर्ष पुगेपछि त्यसलाई विधिवत्रूपमा समापन गर्छन् । पहिलोपटक पुसको आइतबारको व्रत लिनका लागि पाँचवटा आइतबार पर्नु आवश्यक छ तर पहिलोपटक व्रत लिइसकेकाका लागि चारवटा आइतबार परे पनि व्रत बसेर सूर्यको उपासना र पूजा गर्न मिल्छ । निरोगी हुने, आँखाको तेज बढ्ने, स्मरणशक्ति बढ्ने, शरीरमा ऊर्जा प्राप्त हुने, रोगसँग लड्न सक्ने शक्ति प्राप्त हुने, कुनै पनि प्रकारको मनोकांक्षा पूरा हुने विश्वासका कारण सूर्यकोपूजा गरिन्छ ।

ज्ञान, विज्ञान, धर्म एवं संस्कृतिसँग प्रत्यक्ष सम्बन्ध जोडिएको सूर्य उपासनाको यो उत्सवलाई ऊर्जा वा शक्ति उपासनाका रूपमा पनि लिइन्छ । जसको अस्तित्वविना जीवन र जगत्को कुनै अस्तित्व नरहने हुँदा सूर्यपूजाको परम्पराविश्वमै चलेको पाइन्छ । यो व्रतले मानव जीवन र सम्पूर्ण चराचरसँग सूर्यको घनिष्ट सम्बन्ध रहेको पुष्टि हुन्छ ।  

 Image