Successfully Copied

आकर्षक वाल डेकोर

घरको सजावटमा भित्ताले विशेष भूमिका खेल्न सक्छ । आफ्नो सिर्जनात्मक क्षमतालाई प्रयोग गरी कोठालाई नयाँ लुक दिन सकिन्छ ।

घरको सजावटमा भित्ताले विशेष भूमिका खेल्न सक्छ । आफ्नो सिर्जनात्मक क्षमतालाई प्रयोग गरी कोठालाई नयाँ लुक दिन सकिन्छ । प्रायःजसो भित्तामा पारिवारिक तस्बिर सजाइन्छ । यसले भावनात्मक सम्बन्ध त दर्शाउँछ तर कोठाको सौन्दर्य बढाउन भित्तालाई यसका अतिरिक्त केही उपाय अपनाउन सकिन्छ । त्यसका लागि ‘वाल डेकोर’ सही हुन सक्छ । यसले घरलाई आकर्षक देखाउनुका साथै नयाँपन पनि दिन्छ । भित्ता सजाउन महँगा–महँगा सो–पिस आवश्यक छैनन्, घरमै भएका सामग्रीले पनि भित्ताको स्वरूप बदल्न सकिन्छ । 

भित्तामा बिरुवा लगाउने

भित्तालाई सजाउने सबैभन्दा सजिलो उपाय हो–बिरुवा लगाउनु । यो सानो र कम स्पेस भएको ठाउँका लागि उपयोगी हुन्छ । त्यसका लागि कुनै एक भित्तामा साना गमला राखेर बिरुवा लगाउन सकिन्छ । गमला आकर्षक तरिकाले राख्नुपर्छ । 

भावनात्मक स्पर्श

भित्तालाई व्यक्तिगत रुचिअनुसार सजाउन सकिन्छ । त्यसका लागि पारिवारिक तस्बिर नै राख्नुपर्छ भन्ने छैन । आफूलाई मनपर्ने सामग्रीले पनि सजाउन सकिन्छ । तपाईंलाई संगीतप्रति रुचि छ भने संगीतको वाद्यवाद्यन राख्न सकिन्छ । त्यस्तै, ड्रइङ वा क्राफ्टिङमा रुचि भए सोहीअनुरूप भित्तालाई सजाउन सकिन्छ । 

वाल अर्गनाइजर

भित्ता आकर्षक देखाउन ‘वाल अर्गनाइजर’ वा ‘वाल बक्स’ ले सजाउन सकिन्छ । बजारमा यस्ता बक्स विभिन्न आकार र रंगमा उपलब्ध छन् । आफ्नो रुचिअनुसारको बक्सले भित्ता सजाउन सकिन्छ । बक्समा एक्सेसरिज, भास, इन्डोर प्लान्ट राखेर घरलाई एलिगेन्ट लुक दिन सकिन्छ । यसका अतिरिक्त यहाँ किताबलाई रंगीबिरगीं कभर लगाएर पनि राख्न सकिन्छ । 

 

म्याग्नेटिक डेकोर

म्याग्नेटले भित्ताको सजावट आकर्षक गराउँछ र घरमा बालबालिका हुनेहरूका लागि उपयोगी हुन्छ । घरको कुनै भित्ता म्याग्नेटिक बनाएर त्यसमाथि अल्फाबेटहरूले सजाउन सकिन्छ । हरेक दिन यहाँ नयाँ शब्दहरू लेखेर राख्न सकिन्छ । बालबालिकाहरूलाई सिकाउन उनीहरूका लागि केही लेखिदिन सकिन्छ । 

ढाकी सजाउने

घरको भित्तालाई फरक लुक दिनका लागि ‘एक्सपेरिमेन्टल’ हुन जरुरी हुन्छ । त्यसका लागि भिन्न–भिन्न आकार र रंगको ढाकी भित्तामा टाँस्न सकिन्छ । यसले घरलाई युनिक लुक दिन्छ । यसैगरी भित्तामा प्लेट वा ऐनाले पनि सजाउन सकिन्छ । 

वालपेपर

पछिल्लो समय भित्तामा वालपेपर टाँस्ने चलन बढ्दो छ । वालपेपरमा धेरै भेराइटी उपलब्ध हुन्छन् । मेटालिक वालपेपर धेरैको रोजाइमा पर्ने गरेको छ । यसले कोठालाई मेटालिक इफेक्ट दिन्छ । टेक्सचर्ड वालपेपरले घरलाई वास्तविक एवं प्राकृतिक लुक दिन्छ । त्यसका लागि वुड, टिक टेक्स्चर भएको वालपेपर छनोट गर्न सकिन्छ । त्यस्तै, भित्तामा फ्लोरल, स्ट्राइप्स ज्यामेट्रिक डिजाइन दिन सकिन्छ । त्यसका साथै वासवेवल वालपेपर पनि बजारमा पाइन्छ । जुन फोहोर भए सजिलै सफा गर्न मिल्छ ।

 

वाल एसेसरिज

बजारमा पाइने विभिन्न डिजाइनका सजावटका सामग्रीले पनि भित्तालाई नयाँ लुक दिन सकिन्छ । भित्ते घडीको वरिपरिको भागमा आकर्षक ढंगले रंग लगाएर डिजाइन दिन सकिन्छ । काठको फ्रेमले वरिपरि लगाएर सिर्जनात्मक तरिकाले सजाउँदा पनि राम्रो हुन्छ । फरक–फरक रंगको पट, प्रकृति वा पशुपंक्षीको पेन्टिङले पनि घरको स्वरूप नै बदलिन्छ । वाल स्टिकर पनि नयाँ हुन सक्छ । परिवारसँग जोडिएका भनाइहरू, कार्टुन चित्र भएका स्टिकरहरू बजारमा पाइन्छन् । 

मेलिना शाक्य, इन्टेरियर डिजाइनर

घरको रौनक बढाउन भित्ताको सजावट एक राम्रो विकल्प हुन सक्छ । पछिल्लो समय भित्ता सजाउन विभिन्न आकर्षक डिजाइनका सजावटका सामग्री बजारमा उपलब्ध छन् । आफ्नो इच्छानुसार भित्ता सजाउन सकिन्छ । तर भित्ता सजाउँदा केही सतर्कता भने अपनाउनुपर्छ । भित्तामा कुनै एक थिम दिएर सजाउँदा पूर्णरूपमा घरको लुक्स परिवर्तन हुन्छ । घरभित्र पस्ने भित्ता, लिभिङ रुम, ड्रइङ रुम, बेडरुमको इन्टेरियरमा नयाँपन दिन वाल डेकोरका लागि छनोट गर्न सकिन्छ । वाल डेकोर गर्दा यस्तै हुनुपर्छ भन्ने छैन । यसमा आफ्नो सिर्जनात्मक क्षमताअनुसार सजाउन सकिन्छ । 

 Image