Successfully Copied

निर्मलाको छलाङ

‘सुरुमा संसद्मा विधेयक टेबुल हुँदा र पारित हुँदा हुन्छ भने हुन्छ भन्नु हुन्न भने हुन्न भन्नु जस्ता संसदीय भाषा बुझ्न समस्या भएको थियो ।’

राष्ट्रिय समाचार समिति (रासस) की प्रथम महिला महाप्रबन्धक हुन्–निर्मला आचार्य । ०५० मा सातौं तहको संवाददाताका रूपमा राससमा प्रवेश गरेकी उनी महाप्रबन्धक भई अवकाश लिइन् । संसद् र स्वास्थ्य आदि विषयमा कलम चलाएको अनुभव निर्मलासँग छ । जनआन्दोलन र दरबार हत्याकाण्डबारे उनले गजबको रिपोर्टिङ गरिन् । पत्रकारिता गर्ने क्रममा उनले थुप्रै चुनौती र समस्या भोगेकी छन् । पत्रकारितामा निर्मलाका अनुभव र भोगाइलाई ‘नारी’ मासिकले यो अंकमा ‘पत्रकार महिलाको संघर्ष’ स्तम्भमा समेट्ने जमर्को गरेको छ ।

पत्रकारिताको यात्रा

भारतीय उपन्यासकार सुरेन्द्रमोहन पाठकका पुस्तकहरूले निर्मलालाई पत्रकारिताप्रति रुचि बढाएका हुन् ।

आफ्नो रुचि बुवा मञ्जुरत्न तुलाधरलाई सुनाइन् । बुवाले छोरीलाई नाइँ भनेनन् । तर, वीरगञ्जमा पत्रकारिता गर्ने अवसर थिएन । पत्रकार बन्नकै लागि ०४६ मा उनी वीरगञ्जबाट काठमाडौं आइन् । त्यसबेला काठमाडौंबाट प्रकाशित हुने साप्ताहिक ‘विमर्श’ पत्रिकाका लागि वीरगञ्जबाट काम गर्ने गोपाल गिरीसँग उनको चिनजान भयो । उनकै सहयोगमा ‘रूपरङ’ सिने मासिकमा उनले काम थालिन् । ०४६ को जनआन्दोलनपछि उक्त पत्रिका बन्द भयो । त्यसपछि उनले साप्ताहिक ‘विमर्श’ मा लेख्न थालिन् । विवाहपछि भने उनी केही समय घरगृहस्थीमै व्यस्त भइन् । त्यस क्रममा करिब तीन वर्ष उनी पत्रकारिताबाट टाढा रहिन् ।

संसदीय रिपोर्टिङ

०५० मा सातौं तहमा संवाददाताका रूपमा उनी राससमा प्रवेश गरिन् । एक वर्षको परीक्षणकालमा पनि उनी संसदीय रिपोर्टिङ गर्न थालिन् । सुरुका दिनमा संसदीय रिपोर्टिङ गर्दा उनलाई सहज थिएन । भाषाकै कारण समाचार लेख्न कठिनाइ भएको उनी सुनाउँछिन् । भन्छिन्–‘सुरुमा संसद्मा विधेयक टेबुल हुँदा र पारित हुँदा हुन्छ भने हुन्छ भन्नु हुन्न भने हुन्न भन्नु जस्ता संसदीय भाषा बुझ्न समस्या भएको थियो ।’ बिस्तारै सहज हुँदै गएको उनको अनुभव छ । राससमा निरन्तर २० वर्षसम्म उनले संसदीय रिपोर्टिङ गरिन् । त्यसक्रममा उनले थुप्रै अनुभव समेटेकी छन् । ०६३ मा राज्यको हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ भनेर संसद्मा प्रस्तुत भएको संकल्प प्रस्तावलाई भने उनले भुल्न सक्दिनन् । तत्कालीन सभासद विद्या भण्डारीको नेतृत्वमा हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ, महिला हिंसाविरुद्धको कानुन ल्याउनुपर्छ, नागरिकतामा समान हक हुनुपर्ने प्रस्ताव पारित भएका थिए । ती प्रस्तावलाई स्वागत गर्दै दर्शक र पत्रकारको दीर्घाबाट बजेको तालीले संसद् नै गुञ्जायमान भएको दिन उनको रिपोर्टिङको सबैभन्दा अविस्मरणीय क्षण बन्यो ।

हेलिकप्टरबाटै समाचार प्रेषित

निर्मलाको कलम संसद्मा मात्रै सीमित रहेन । उनले स्वास्थ्य क्षेत्रमा समेत कलम चलाइन् । अप्रेसन थिएटरमै पुगेर समाचार लेखेकी छन् । आफूले लेखेका स्वास्थ्यसम्बन्धी समाचारहरूले समाजमा केही सकारात्मक प्रभाव पारेको निर्मलालाई लाग्ने गरेको छ । संसद् र स्वास्थ्य क्षेत्र हुँदै ०५८ मा भएको राजदरबार हत्याकाण्ड होस् वा जनआन्दोलनमा उनले निरन्तर कलम चलाइरहिन् । समाचार लेख्ने र पठाउने अहिलेका जस्ता उपकरणहरू थिएनन् । इमेल/इन्टरनेट नहुँदा तत्काल हातले लेखेर समाचार पठाउनुपर्थ्यो । ०५५ मा युवराज दीपेन्द्र शाहले केबलकार उद्घाटन गरेको समाचार १० मिनेटमा हातले लेखेर उनले सेनाकै हेलिकप्टरमा काठमाडौं पठाइन् । यसरी उनले धेरै पटक अन्य माध्यमबाट समाचार पठाएकी छन् ।

महिला हुनुको चुनौती

राससमा परीक्षणकाल सकिएपछि रिपोर्टिङ गर्ने प्रस्ताव उनले रिपोर्टिङ प्रमुख रामकृष्ण रेग्मीलाई बताइन् । प्रमुखले उनलाई जुनसुकै समयमा खटिन नसक्ने रिपोर्टिङ नगर्न सल्लाह दिए । तर, निर्मलाले आफू काम गर्न सक्षम छु भनेपछि उनलाई रिपोर्टिङमा खटाइयो । महिला भएकै कारण सक्षम छु भनेर प्रमाणीकरण दिइराख्नुपर्ने उनी बताउँछिन् । उनले महिला भएकैले काम गर्ने क्रममा धेरैपटक असहज पनि महसुस गरेकी छन् । दीपेन्द्रको एक कार्यक्रमका लागि रिपोर्टिङ गर्न काभ्रे जान एयरपोर्ट पुग्दा नेपाली सेनाले उनलाई रिपोर्टिङका लागि महिला रिपोर्टर पठाइदिएछ भनेर प्रश्न उठायो । उनलाई सेनाले महिला मात्रै देखे पत्रकार देखेनन् । तत्कालै राससमा फोन गरेर पुरुष पठाइदिन आग्रह गरे । यसले निर्मलालाई केही असहज बनायो । महिला भएकै कारण पत्रकार भनेर सेनाले उनलाई विश्वास नगरेको उनी बताउँछिन् । त्यतिबेला नेपाल टेलिभिजनबाट फोटो पत्रकार रीता गुरुङ आएपछि आफूलाई केही सहज भएको बताइन् । यसरी महिला भएकै कारण थुप्रै चुनौतीहरू झेल्नु परेको उनको भनाइ छ । पुरुषसरह काम गर्न सक्छु भनेर पटक–पटक प्रमाणीकरण गर्नुपरेको उनी बताउँछिन् । दोहोरो जिम्मेवारी बहन गर्नुपर्दा यो पेसा महिलाका लागि चुनौती भएको उनको धारणा छ ।

प्रथम महाप्रबन्धक    

महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दा निर्मलाले केही महत्वपूर्ण कार्य गरिन् । ०७२ मा भूकम्पबाट क्षतिग्रस्त भवनलाई पुनर्निर्माणका लागि आर्थिक स्रोत जुटाइन् । कागजको फाइलमा सीमित राससलाई डिजिटलाइज गर्न पनि भूमिका खेलिन् । राससको अडियो सेवा पनि उनकै नेतृत्वमा अगाडि बढ्यो । पछिल्लो समय रासस अनलाइन प्रवेश गर्नुमा आफ्नो महत्वपूर्ण भूमिका रहेको उनी बताउँछिन् ।

आगामी योजना

लेख्नेको कलम चलिरहन्छ भनेझैं जागिरे जीवनबाट अवकाश पाएपछि पनि निर्मलाको पत्रकारिताको यात्रा भने रोकिएको छैन । उनी पत्रकार महिलाहरूको हकहितका लागि काम गरिरहेकी छन् । पत्रकार महिलालाई अगाडि बढाउन र उनीहरूको क्षमता अभिवृद्धि गर्ने कार्यमा आफू सक्रिय रहेको उनी बताउँछिन् । पछिल्लो समय उनी पत्रकार महिलाहरूको संस्था ‘क्रियाशील पत्रकार महिला डब्लूडब्लूजे’ को अध्यक्षको भूमिका निर्वाह गरिरहेकी छन् । उनको योजना पत्रकार महिलाहरूको क्षेत्रमा काम गर्नु नै रहेको छ ।

 Image