Successfully Copied

अहिलेको स्थितिमा कसरी गर्ने आँखाको सुरक्षा ? 

घरमा बस्दा आपसमा झगडा नगरी, मोबाइल तथा आइप्याड जस्ता ग्याजेटको प्रयाग अधिक नगर्न नेत्ररोग विशेषज्ञ डा. बेन लिम्बुको सुझाव छ । भैmझगडा गर्दा आँखामा चोटपटक लाग्ने संभावना हुन्छ । यसैगरी धेरै समय मोबाइल तथा आइप्याड हेर्दा आँखाको आँसु कम भई सुख्खा हुन सक्छ

डा. बेन लिम्बु

नेत्ररोग तथा आँखा प्लास्टिक शल्य चिकित्सक / तिलगंगा आँखा प्रतिष्ठान

केही दिन पहिले बागलुङका एकजना मानिस खेतमा काम गर्दा छेस्काले आँखामा घोचेर उपचारका लागि तिलगंगा आँखा प्रष्तिठानमा आएका थिए । यसैगरी एकजना महिला पनि घरमा दिदीबहिनी चल्दा आँखाको हड्डी भाँचिएर अस्पताल आएकी थिइन् । यी दुई त केवल प्रतिनिधि पात्र मात्र हुन् । अहिले आँखाको समस्या हुनेहरु धेरै छन् । तर, अहिलेको विषम परिस्थितिमा कसरी उपचार गर्ने ? धेरैमा अन्योल छ ।

विश्व नै त्रसित बनाएको कोरोना भाइरसको त्रासका कारण नेपालमा पनि लकडाउन घोषणा गरिएको छ । सरकारले बैशाख ३ गतेसम्म जनताको सुरक्षाका लागि अत्यावश्यक बाहेक अन्य प्रयोजनका बाहिर ननिस्कन भनेको छ । अस्पतालबाट पनि भाइरसको संक्रमण हुने भएकाले ओपिडी सेवा बन्द गरिएको छ । इमरजेन्सी सेवा मात्र खुल्ला गरिएको छ । त्यसैले घरमा बस्दा आपसमा झगडा नगरी, मोबाइल तथा आइप्याड जस्ता ग्याजेटको प्रयाग अधिक नगर्न नेत्ररोग विशेषज्ञ डा. बेन लिम्बुको सुझाव छ । भैmझगडा गर्दा आँखामा चोटपटक लाग्ने संभावना हुन्छ । यसैगरी धेरै समय मोबाइल तथा आइप्याड हेर्दा आँखाको आँसु कम भई सुख्खा हुन सक्छ । यसले गर्दा आँखा चिलाउने र पछि आँखामा अरु समस्या उत्पन्न हुन सक्छ । 

हुन त अहिले गर्मी मौसम भएकाले आँखा सुख्खा हुने, रातो हुने र चिलाउने समस्या पनि देखा पर्न सक्छ । आँखा रातो हुने समस्यालाई कन्जक्टिभाइटिस भनिन्छ । अहिले लकडाउन र कोरोना भाइरस सर्न सक्ने भएकाले घरमै रहनु उचित हुन्छ । आँखा चिलाउने तथा रातो भए चिसो पानीले आँखा ३,४ पटक भिजाउनुपर्छ ।

धूलोका कारण आँखा एकदम रातो भए पातलो मलमलको कपडामा आइस राखेर सेक्नुपर्छ । अहिलेको विषम परिस्थितिलाई ध्यानमा राखेर चिकित्सकलाई फोनबाट सम्पर्क गरेर नजिकको फार्मेसीबाट औषधि खरिद गर्नुपर्छ । एउटा मात्र आँखा रातो भएको छ भने त्यो आँखामा प्रयोग गरेको रुमाल अर्कोमा गर्नु हुँदैन । औषधि राखिसकेपछि साबुनपानीले हात सफा गरिहाल्नुपर्छ । यसो गर्दा अर्को आँखामा भाइरस सर्न सक्दैन अर्थात आँखा रातो हुन पाउँदैन । रातो भएको आँखामा प्रयोग गरिएको टिस्यु पेपर उचित ठाउँमा व्यवस्थापन गर्नुपर्छ । 

अहिले कस्तो अवस्थामा अस्पताल जाने ? 

– अस्पतालबाट पनि भाइरस सर्न सक्ने भएकाले अत्यावश्यक अवस्थामा मात्र अस्पताल जानुपर्छ ।  हालसालै आँखाको अप्रेसन गरेकाहरु फलो अपका लागि मात्र अस्पताल आउनुपर्छ । 

– आँखामा चोटपटक लागेमा । 

– मधुमेहले आँखामा असर गरेर दृष्टिमा समस्या आएमा । 

– आँखामा रसायन तथा तरकारी पकाउँदा तेल परेमा । 

– लठ्ठी वा कुनै छेस्काले आँखामा घोचेमा । 

– एक्कासी एउटा वा दुईवटा आँखा बन्द भएमा वा दृष्टि गुमेमा ।

– आँखाको डिल अधिक सुन्निएमा वा बन्द भएमा ।

–  एउटा वस्तुलाई दुईवटा देखेमा ।

– बत्तीको वरिपरि एक्कासी इन्द्रेणी देखेमा । बत्तीमा आँखा खोल्न नसकेमा ।

– आँखामा धेरै चिप्रा लागेमा ।

– आँखा धमिलो भई छाया जस्तो देखिनु, बत्तीको झिल्का र माकुराको जालो जस्तो देखिएमा । यस्ता समस्या देखिएमा मात्र अस्पताल आउनुपर्छ । घरमै बस्दा आफ्नो सुरक्षा हुने कुरालाई मध्यनजर गर्दै धेरै मोबाइल कम्प्युटर तथा टेलिभिजन हेर्नुहुँदैन । मोबाइल हेर्दा माथि राखेर हेर्नुहुँदैन । नियमित रुपमा एकोहोरो हेरेर बसिरहनुभन्दा आँखालाई प्रत्येक २० मिनेटमा रेस्ट दिनुपर्छ । यस्तो अवस्थामा आफैं सजग भएर स्वास्थ्यको ख्याल राख्नुपर्छ । यसो गर्दा संभावित संक्रमण हुनबाट जोगिन सकिन्छ ।   

 Image