Successfully Copied

म्युजियममा फेसन शो

परम्परागत फेसन शोभन्दा पृथक् मानिएको उक्त शोमा नेपाली पहिरनलाई नेपाली सम्पदासँग जोड्ने प्रयास गरिएको कासाकी सञ्चालक तथा फेसन डिजाइनर रमिला नेमकूलले बताइन् । उक्त फेसन शोको मुख्य उद्देश्य नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनुका साथै मेड इन नेपाललाई प्रवर्द्धन गर्नु एवं नेपाली पहिरनमार्फत नेपाली संस्कृतिको प्रबर्द्धन

ललितपुरस्थित पाटन म्युजियममा पृथक् शैलीको अन्तर्राष्ट्रिय फेसन शो सम्पन्न भएको छ । म्युजियमभित्रको मौलिक कला, संस्कृति तथा वातावरणमा र्‍याम्प भने निर्माण गरिएको थिएन । 

नेपाली फेसन कम्पनी कासाद्वारा आयोजित अन्तर्राष्ट्रिय फेसन रनवे ‘डेब्यू–२०१९’ शीर्षकको उक्त फेसन शोमा नेपाललगायत यूरोप, अफ्रिका, भारत तथा अमेरिकाका मोडलहरूले क्याटवाक गरेका थिए ।

फेसन शोमा फिनल्यान्डकी मोडल तथा टेलिभिजन प्रस्तोता एनी कुकोहोभी, इन्डोनेसियाकी मोडल अल्फ्रिडा अलिफिया, मिस युनिभर्स जाम्बिया–२०१८ मेल्बा इमान्युला, मिस इन्डिया अर्थ–२०१८ निशी भारद्वाज तथा मिस एसिया एवं भारतीय मोडल रेवती श्रेत्रीसमेत सहभागी थिए भने मिस नेपाल–२०१८ का विजेताहरू शृंखला खतिवडा, मनिता देवकोटा, प्रिया सिग्देल, रोनाली अमात्य तथा मिस नेपाल सुप्रानेसनल महिमा सिंहले पहिलो पटक फेसन शो मोडलका रूपमा सहभागिता जनाएका थिए । फेसन शोमा मिस नेपाल–२०१६ अस्मि श्रेष्ठ, मिस नेपाल–२०१७ निकिता चन्दक, नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामा, इन्डियाज नेक्सट टप मोडल सविता कार्की तथा मोडल सन्दीपा लिम्बू पनि सहभागी थिए । 

कासाले यही फेसन शोमार्फत कासा म्यानलाई पनि लञ्च गर्‍यो जसमा अभिनेता तथा मोडल अनुपविक्रम शाही, फोटोग्राफर विकास खतिवडा कासा म्यानका रूपमा र्‍याम्पमा प्रस्तुत भएका थिए । फेसन शोमा अटिजमबाट पीडित केही बालबालिकासमेत कासाका पहिरनमा प्रस्तुत भएका थिए । र्‍याम्पमा उनीहरूलाई उनीहरूका आमाहरूले साथ दिएका थिए । 

परम्परागत फेसन शोभन्दा पृथक् मानिएको उक्त शोमा नेपाली पहिरनलाई नेपाली सम्पदासँग जोड्ने प्रयास गरिएको कासाकी सञ्चालक तथा फेसन डिजाइनर रमिला नेमकूलले बताइन् । उक्त फेसन शोको मुख्य उद्देश्य नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनुका साथै मेड इन नेपाललाई प्रवर्द्धन गर्नु एवं नेपाली पहिरनमार्फत नेपाली संस्कृतिको प्रबर्द्धन गर्नु थियो । 

एसियाज नेक्स्ट टप मोडल तथा किंगफिसर मोडल आस्था पोखरेलले कोरियोग्राफी गरेको फेसन शोको अन्त्यमा नेपालको पहिलो फ्युजन ब्यान्ड त्रिकालले सांगीतिक प्रस्तुति दिएको थियो भने विश्वकै ठूलो फेसन हाउस गुच्चिका अफिसियल फोटोग्राफर मेनुयल स्क्रिमा फेसन शोका विशेष अतिथि थिए ।

तस्बिर : महेश प्रधान 

 

 Image