Successfully Copied

स्कुटी वा वाइक चलाउँदा  स्पेसल मेकअप

गर्मी र पानी पर्ने मौसममा बाहिर जाँदा वा स्कुटर–बाइक चलाउँदा अनुहारमा समय–समयमा टचअप गर्नु जरुरी हुन्छ ।

व्यस्त दिनचर्या अनि चर्को घाममा स्कुटर वा बाइक चलाएर अफिस वा बाहिर जानु त्यति सजिलो कुरा होइन । अझ अनुहारको मेकअप त एक घन्टामै पग्लिन थाल्छ । मेकअपले राम्रो देखिने मात्र होइन सही र उपयुक्त सौन्दर्य प्रसाधन प्रयोग गरिएको छ भने अनुहारको छालालाई हानिकारक विकिरणबाट पनि जोगाउँछ । अझ हेलमेट लगाउँदा मात्र होइन पसिना वा पानी पर्दा पनि नबिग्रने मेकअप कसरी गर्ने ? मेकअप कुनै चमत्कारी कुरा त होइन यद्यपि यसमा सही प्रविधि र प्रसाधनको प्रयोगले सौन्दर्यमा सुनमा सुगन्ध थप्ने काम गर्छ । अनुहार जति स्वस्थ छ त्यति नै मेकअप खुल्छ । यसका लागि अनुहारको छालाको हेरचाह नियमित रूमा राम्रोसँग गर्नुपर्छ । गर्मीका लागि लामो समयसम्म टिक्ने विशेष प्रकारका प्रसाधन छनोट गर्न जरुरी छ ।

मेकअप गर्ने विधि

गर्मीमा हरेक दिन वाटरप्रुफ मेकअप गर्नुपर्छ । भरसक कम मेकअप गरी फाउन्डेसनको साटो बीबी वा सीसी क्रिम प्रयोग गर्नु उपयुक्त हुन्छ (यदि अनुहारको दाग छोप्नुपर्ने अवस्था छैन भने) । फाउन्डेसन प्रयोग गर्ने हो भने विशेष विधि अपनाएर गरिएको मेकअप लामो समयसम्म टिक्छ ।

अनुहारलाई पहिले राम्रोसँग धोएपछि आइस क्युवले अनुहार सेक्ने र सुक्न दिने । आइसले अनुहारको छिद्र बन्द गर्ने काम गर्छ जसले गर्दा कम पसिना आउँछ । त्यसपछि आफूले दैनिक लगाउने मोइस्चराइजर तथा सनस्क्रिन लगाउने । गर्मीमा विशेष एसपीएफ SPF + 50 प्रयोग गर्नुपर्छ । त्यसपछि म्याट प्राइमर लगाउने । अनुहारमा जति थोरै प्रसाधन प्रयोग गरिन्छ, अनुहारलाई त्यति सहज महसुस हुन्छ । त्यसैले भरसक थोरै प्रसाधन प्रयोग गर्नुपर्छ । प्राइमरपछि लुज पाउडरले अनुहारको टोनमा हल्का टच गरी सेटिङ स्प्रे गर्ने । यो स्प्रेलाई केही समय सुक्न दिनुपर्छ, त्यसपछि अरू मेकअप गर्न सकिन्छ । फाउन्डेसन लगाउने हो भने ओयल फ्रि लङ स्टे छनोट गर्नुपर्छ ।

आँखाको मेकअप पनि हल्का हुनुपर्छ । मेकअपको कन्टोर प्रत्येक दिन गरिरहनुपर्दैन । वाटरप्रुफ आइलाइनर र मस्कारा लगाएपछि मेकअप प्राकृतिक देखिन्छ । यसमा हल्का ब्लस प्रयोग गरी पछि अनुहारको सबैतिर पर्ने गरी स्प्रे गर्नुपर्छ ।

स्प्रे

सुकेपछि हाइलाइट प्रयोग गर्नुपर्छ । हाइलाइटले अनुहार फ्रेस र कलिलो देखिन्छ । मेकअप सकिएपछि टिस्यु पेपरले अनुहारलाई हल्का ड्याविङ गर्नुपर्छ । यति गरेपछि पसिना र पानीले मेकअप बिग्रने सम्भावना कम हुन्छ तर पनि आफ्नो मेकअप बिग्रन थालेको छ भने बीचबीचमा टचअप गर्न सकिन्छ । 

टचअप गर्ने विधि

गर्मी र पानी पर्ने मौसममा बाहिर जाँदा वा स्कुटर–बाइक चलाउँदा अनुहारमा समय–समयमा टचअप गर्नु जरुरी हुन्छ । यसका लागि यदि अनुहारमा मेकअप छ र पसिना वा पानीले भिजेको छ भने तुरुन्तै टचअप गर्नुहुँदैन, पसिना वा पानी सुकुन्जेल प्रतीक्षा गर्नुपर्छ । त्यसपछि पफ वा ब्रसले अनुहारमा पाउडरको हल्का टच दिनुपर्छ । बढी टचअपले मेकअप भद्दा देखिन सक्छ । मेकअप राम्रो देखिन छाला पनि राम्रो हुनुपर्छ । यसैले मेकअप लगाएर कहिल्यै सुत्नु हुँदैन । सुत्नुअधि अनुहारलाई क्लिन्जिङ वा फेसवासले धोएर नाइट स्किन केयर रुटिन पूरा गर्नुपर्छ । 

प्रसाधन

लङ लास्टिङ वाटरप्रुफ, ओयल फ्रि फाउन्डेसन ।

वाटरप्रुफ मस्कारा ।

वाटरप्रुफ आइलाइनर ।

अल्ट्रामेट प्राइमर ।

अल्ट्रा लङ स्टे सेटिङ स्प्रे ।

 Image