Successfully Copied

ब्युटी विथ ब्रेन

बाहिरी सुन्दरताका साथमा बौद्धिक रूपमा जो सुन्दर छिन् उनै सुन्दर महिला हुन् । सुन्दरताको परिभाषा हरेक व्यक्ति र सोचअनुसार फरक–फरक हुनसक्छ तर विश्व मापदण्डअनुसार यी दुई पक्षमै सुन्दर व्यक्ति नै सुन्दर हो ।

बाहिरी सुन्दरताका साथमा बौद्धिक रूपमा जो सुन्दर छिन् उनै सुन्दर महिला हुन् । सुन्दरताको परिभाषा हरेक व्यक्ति र सोचअनुसार फरक–फरक हुनसक्छ तर विश्व मापदण्डअनुसार यी दुई पक्षमै सुन्दर व्यक्ति नै सुन्दर हो । सुन्दरताको यो परिभाषाअनुरूप यसपटकका मिस नेपालहरू बाहिरी र भित्री दुवै रूपमा सुन्दर छन् । सबैमा आ–आफूले हिँड्ने बाटो स्पष्ट छ भने सबैले आफ्नो भविष्यको योजना आँखा खोलेरै बुनिसकेका छन् । यसपटक मिस नेपालमा शीर्ष उपाधि जितेका मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल मीरा कक्षपति, मिस नेपाल सुपरनेचुरल रोज लामा, मिस नेपाल युनिभर्स प्रदीप्ता अधिकारी, मिस नेपाल अर्थ रिया बस्नेत सबैमा पर्याप्त आत्मविश्वास छ भने उनीहरू बौद्धिक रूपमा समेत सफल देखिन्छन् ।

अनुष्काले आफ्नो मास्टरको पढाइ अस्ट्रेलियामै गर्ने र पछि नेपाल फर्किएर विकासमूलक काममा सक्रिय हुने बताएकी छिन् । मीराले भने जीवन जिउने कला सिकाउने मोटिभेसनल स्पिकर बन्ने सोच बुनेकी छिन् । रोज लामाले अर्ग्यान थ्रीडी डिजाइनर बन्ने लक्ष्य लिएकी छिन् । अहिले विश्वमा थ्रीडी प्रिन्टको प्रचलन प्रारम्भ भएकाले उनी यही विधामा आफ्नै देशमा काम गर्ने सोचमा छिन् । प्रदीप्ता अधिकारीले भविष्यमा विश्व स्वास्थ्य संगठनको उच्च पदमा पुगेर नेपालको नाम उचाइमा पुर्‍याउने सपना देखेकी छिन् भने रिया बस्नेतले बढीभन्दा बढी नेपाली महिलालाई व्यवसायमा सम्लग्न गराउने सोचमा अघि बढ्ने बताइन् । 

मिस नेपालले आफ्ना सपना पूरा गर्दै अघि बढ्न अझ सहयोग पुर्‍याउने कुरा बताउने यी पाँच सुन्दरी यसपटक नारीको आवरणमा सजिएका छन् । अन्तर्राष्ट्रिय प्याजेन्टहरूमा आफूले सक्दो प्रयास गरी नेपालको नाम राख्न प्रयास गर्ने बताउने सबैको कामप्रतिको उत्सुकता एवं योजना आशालाग्दा छन् जसमा भावी पुस्ताको नेपाली नारीको झलक पाइन्छ ।

तस्बिर     ः महेश प्रधान

पहिरन     ः सुष्मा सिंह, 

वुमन्स प्लानेट बुटिक, घण्टाघर

लोकशन     ः होटल अन्नपूर्ण, दरबारमार्ग

बौद्धिक रूपमा सबल

अश्मि श्रेष्ठ, मिस नेपाल–२०१६

यसपटक निर्णायकका रूपमा मिस नेपालमा सहभागी हुँदा मैले सबै प्रतिस्पर्धीलाई बौद्धिक रूपमा बलियो पाएँ । पहिले–पहिलेका मिस नेपालमा कोही ठूलो हाइटका त कोही असाध्यै राम्रा त कोही पहिलेदेखि नै निकै पपुलर व्यक्तिहरू हुन्थे । यसपटक पब्लिकबाट यिनले जित्छिन् भन्ने त्यस्तो कुनै दाबी पनि थिएन । बौद्धिक प्रतियोगिता भैरहेजस्तो लाग्थ्यो । जो–जसले जुन उपाधिमा जित्नुपर्ने हो जितेका छन् । पाँचै जनाका ५ वटा उपाधिमा म त सन्तुष्ट छु । गत वर्षजस्तै सबै विजयीले आ–आफ्नो प्याजेन्टका लागि रिसर्च गरेर त्यहाँ वेस्ट पर्फर्मेन्सतिर लाग्नुपर्छ । अर्को कुरा मिस नेपाल एउटा यस्तो प्याजेन्ट हो जसले विजेताहरूलाई सेलीब्रेटी बनाइदिन्छ र ऊ एक वर्षका दौरान पूर्णरूपमा ग्रुमिङ भैसक्छ । 

अनुशासन र राम्रो एटिच्युट

नीरज लामा, फिटनेस एक्सपर्ट, जस्मिन फिटनेस क्लब, त्रिपुरेश्वर

ब्युटी र फिटनेस एउटै रथका दुई पाङ्ग्रा हुन् । जो हेल्दी र फिट छैन ऊ सुन्दर हुनै सक्दैन । केही वर्षयतादेखि मिस नेपालको अडिसनमा आउने युवतीहरू पहिले नै रिसर्च गरेर, निखारिएर आएको पाइन्छ । यसपटक विजयी पाँचजनामा आ–आफ्नै विशेषता छन् । एक त उनीहरूमा अनुशासन, केही हुन्छु अर्थात् केही गर्छु भन्ने भावनाका साथै राम्रो एटिच्युट पनि छ । उनीहरूको कर्म र मेहनतले नै उनीहरूलाई उपाधि दिलाएको हो । २००९ मा जेनिशा मोक्तानको पालादेखि फिटनेस ट्रेनरका रूपमा काम गरेको अनुभवका आधारमा अहिलेकाहरू आफै सिक्ने, खोज्ने र निखार्ने खालका पाइरहेको छु । म त एक महिनादेखि यी २५ जना प्रतियोगीलाई बिहान ६ बजेदेखि प्रशिक्षण दिइरहेको थिएँ, मेरा लागि ती २५ जनाले नै मिस नेपालमा जिते हुन्छ जस्तो लाग्छ तर विजयी त पाँचैजना मात्रै हुने हुन् । यद्यपि यी पाँचैजना विजेता आ–आफ्नो उपाधिप्रति न्याय गर्न सक्ने खालका छन् भन्ने लाग्छ ।

 Image