पूर्वीय दर्शनमा जीवन सूत्र

अच्युतप्रसाद पौडेल

वैशाख २०, २०७६

हामीले शरीरलाई सुन्दर, आकर्षक र निरोगी राख्न जहिले पनि सकारात्मक सोच राख्नुपर्छ । दुनियाँमा सबै दृश्य नराम्रा छैनन् र सबै राम्रा पनि छैनन् । युवा जोस् अनि उत्साह र जाँगरलाई उत्पादनशील कार्यमा प्रयोग गर्नुपर्छ । उत्साह, नयाँ उमङ्ग तथा नवीनतम ऊर्जालाई त्यसै खेर जान दिनु हुँदैन । आफ्नो वातावरणमा मिल्न सक्ने नयाँ ऊर्जालाई आफूतिर खिच्ने प्रयास गर्नुपर्छ । फुर्सदको समय अतिरिक्त क्रियाकलाप, अध्ययन, लेखन, गीत, संगीत, खेलकुद, असल साथीहरूसँगको कुराकानी, घुमफिर, समाज सेवा, ध्यान, योग, जप, पूजा, पाठ एवं सत्संगतिर लगाउँदा सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

बजारमा देखिएका सबै कुरा खान योग्य नहुन सक्छन् । सकेसम्म खाना, खाजाका परिकारहरू घरमै बनाएर खाएको राम्रो हुन्छ । विदेशमा हामी देख्न सक्छौं त्यहाँ निकै सरसफाइ हुन्छ, त्यहाँका होटल, रेस्टुराँ, फुडकोर्ट आदि तिरका बजारिया सामान पनि त्यति खराब हुँदैनन् । विकसित मुलुकका घरमा मानिसहरूलाई खाना पकाउने, किनमेल गर्ने, भाँडा सफा गर्ने फुर्सद हुँदैन । त्यसैले धेरै मानिस बाहिरै खान्छन् । खाना वा खाजा तयार गरुन्जेलको समय उत्पादन अर्थात् आय आर्जनतिर लगाउँछन् । 

खानामा बढी चिल्लो, बढी पिरो, धेरै मसलादार अनि सधैं मांसाहार उपयुक्त हुँदैन । खानामा प्रोटिनयुक्त, दाल, गेडागुडी, फलफूल, सागपात, रेसायुक्त खाना, दूध एवं दूधबाट बनेका खाद्यवस्तुको प्रयोगले शरीर दीर्घजीवी हुन्छ । खाना खाँदा, खानुअघि वा पछि धेरै पानी पिउनु ठीक होइन । पानी प्रशस्त पिउनुपर्छ तर अरू बेला । बिहान सधै उमालेको मनतातो पानी न्यूनतम दुई गिलास पिउनुपर्छ । दिनभरि कम्तीमा दुई लिटर पिसाब लाग्ने गरी तरल पदार्थ सेवन गर्नुपर्छ । अहिले संसारभर मांसाहारीको संख्या घट्न थालेको छ । मासु पचाउन सहज हुँदैन भने अहिले निरोगी पशु–पन्छी फेला पार्न पनि कठिन छ । बधशाला सफा छैनन्, मात्रा मिलाएर पकाउने फुर्सद छैन । अर्को कुरा मानव शरीर हिंस्रक जीवजन्तुको जस्तो जंगली र नंग्रायुक्त पनि छैन । 

बेलुका खाना खाएपछि एक–डेढ घन्टाजति सुत्नु हुँदैन । सुत्दा पहिले बायाँ कोल्टो र अर्को निद्रा दाहिने कोल्टो हुने गरी सुत्नुपर्छ । सुत्ने कोठाको दिशा अभिभावक भए दक्षिण–नैऋत्य, विद्यार्थी वा कम उमेरका अविवाहित भए पूर्वको कोठा वा सिरानी उपयुक्त हुन्छ । वास्तुशास्त्रअनुसार विवाहयोग्य कन्याको कोठा वायव्य दिशामा हुनुपर्छ । खाली पेटमा बिहान–बेलुकाको पैदल भ्रमणले शरीर फुर्तिलो हुन्छ, खाना पच्छ र मीठो निद्रा लाग्छ । सुत्ने बेला इष्टदेव, कुलदेव वा आफ्नो परम्पराअनुसारका देवी–देवताको स्मरण गर्नुपर्छ भने सधै बिहानीको पहिलो प्रहरमा स्नान–शौच सकेर पूजा कोठामा पुगी केही सकारात्मक ऊर्जा ग्रहण गर्नुपर्छ । 

आफूलाई तनावबाट मुक्त राख्नुपर्छ । तनाव, आवेग तथा क्रोध मानिसका शत्रु हुन् । यी एउटै बाबुका तीन सन्तान हुन् एकपछि अर्को स्वतः आउँछन् । क्रोधले विनाकाम शरीरको ८ प्रतिशत, तनावले विनाकाम १६ प्रतिशत तथा आवेगले विनाकाम शरीरको ३२ प्रतिशत ऊर्जा नष्ट गरिदिन्छ । आफूसँग भएको सञ्चित ऊर्जा कुनै उत्पादनशील कार्यमा प्रयोग गर्न सकिन्थ्यो त्यो विनाकाम रिस, आवेग र तनावमा खर्च हुन पुग्छ । विद्युत् लिक वा सर्ट हुँदा जसरी ऊर्जा खेर जान्छ शरीरको ऊर्जा पनि त्यसरी नै खेर जान्छ रिस, आवेग र तनावका कारण । 

तनावरहित जीवनका लागि आफूले दिनभरि गर्ने कामको प्राथमिकता तोक्नुपर्छ । प्राथमिकताका आधारमा काम सल्टाउँदा जीवन व्यवस्थित हुन्छ । जीवन अमूल्य छ । यो धन–सम्पत्तिजस्तो फेरि पाइँदैन । कुनै पनि काममा निराश नभै निरन्तर लागिरहनुपर्छ एक न एक दिन लक्ष्यमा पुगिन्छ भन्ने धारणा मनमा बनाउनुपर्छ ।

सन्त, ऋषि–मुनि तथा महापुरुषहरूका आत्मकथा, सन्देश एवं प्रवचन सुन्नुपर्ने कारण पनि यिनै हुन् । आत्मविश्वास नै सबैभन्दा ठूलो विश्वास एवं शक्ति हो । आत्मा साक्षी राखी मन, बचन र कर्मले अरूको भलाइमा लाग्दा आफ्नो एवं जगत्कै भलाइ हुन्छ । अरुले आफ्नो हित सोचेनन् भने पनि निराश हुनु हुँदैन, अदृश्य शक्तिले कहीँ न कहीँबाट हेरिरहेको हुन्छ । ढिलो हुने नाममा हतारिएर कुनै पनि काम गर्नु हुँदैन, काम ढिलो होस् तर परिणाममुखी वा लक्ष्योन्मुख होस् । यसको अर्थ परीक्षामा ढिलो जानुपर्छ भन्ने होइन ।

आफन्त, साथीभाइ भेटघाटमा अभिवादन गर्दा पूर्वीय पद्धति नमस्कार, प्रणाम निकै राम्रो छ । हात मिलाउँदा हातको संक्रमणको डर हुन्छ । अँगालो हाल्दा पनि अरूमा भएको रोग सर्ने डर हुन्छ । अस्पताल क्षेत्रमा त यस्तो काम गर्नै हुँदैन । आफन्त, साथीभाइ भेटघाट हुँदा अरूले सुन्न नचाहेको अवस्थामा आफ्नो कुरा धेरै भट्याउनु हुँदैन । पहिले अरूको विचार के छ बुझ्ने प्रयास गर्नुपर्छ ।

आँखा सीधा गरी कुरा गर्नुपर्छ । अर्काको शिरमाथि आँखा पुग्ने गरी कुराकानी गर्दा अरुलाई हेपेको भान हुन्छ भने अर्काको गोडातिर नुहिएर कुरा गर्दा आफू हेपिएको हुन्छ । बाहिरी सुन्दरताका लागि स्नान, सरसफाइ, सौन्दर्य त आवश्यक हुन्छ नै व्यवस्थित आहार–विहारले बाहिरी–भित्री दुवै सुन्दरता कायम राख्छ । मानिस बाहिर राम्रो र सुन्दर छ तर भित्रभित्रै कुटिल छ भने राम्रो हुँदैन । मानसिक सुन्दरताका लागि नित्य प्राणायाम, योग अभ्यास तथा सकारात्मक चिन्तन आवश्यक हुन्छ । 

बिहान ढिलोसम्म सुत्नु अनि बेलुकी पनि ढिलो गरी बेडमा जानु हानिकारक हुन्छ । बेलुकी चाँडै सुत्ने बिहान पनि चाँडै उठी आफ्नो नित्य कर्म सक्नुपर्छ । बिहानको सौर्य ऊर्जा प्राप्त गर्न आफ्नो ओछ्यान छोडी पूर्ण तयार भैसक्नुपर्छ । सुत्ने ठाउँ नजिक मोबाइल, टेलिभिजन, रेडियो, ल्यापटप आदि विद्युतीय सामग्री राख्नु हुँदैन । ती सामग्रीले रक्त संचार प्रणाली एवं मस्तिष्कमा नकारात्मक प्रभाव पार्छन् । सुत्ने कोठामा रक्ताम्य वा नांगो तस्बिर पनि टाँग्नु हुँदैन । 

अश्लील चिक्र, तस्बिर, आत्रामक हात–हतियारका चित्र सुत्ने कोठामा राख्दा नकारात्मक ऊर्जा संचार हुन्छ । आफू अर्थात् शरीर सुते पनि मन सुतेको हुँदैन । मनले अनावश्यक वादविवाद वा संवाद गरिरहेको हुन्छ । खराब सपनाहरू आइरहेका हुन्छन् । सीधा लमतन्न परेर सुत्नुपर्छ । निद्रामा झस्कने, तर्सने, सर्प वा अन्य डरलाग्दा सपना देख्ने बानी छ भने पनि विज्ञहरूबाट परामर्श लिनुपर्छ । बिहान उठ्नासाथ तामाको भाँडा स्पर्श गर्दा रगत सन्तुलित हुन्छ भने रक्तचाप आदिको समस्या हुँदैन । तामाको जल पात्रले सूर्यलाई अर्घ दिँदा, पूजाका भाँडाहरू पखाल्दा, पूजा गर्दा शरीर निरोगी हुन्छ ।

नेट, फेसबुक, कम्प्युटर वा मोबाइलमा धेरै झुम्मिनु उपयुक्त होइन । यिनको प्रयोग गर्दा शरीर झुकाएर निरन्तर शरीर निहुराएर वा टाउको झुकाएर गर्दा ढाड, कम्मर एवं गर्धनको पीडा हुन्छ । दिनभरि यस्ता काम गर्नेेले वा एकै प्रकृतिको बसेरै गर्ने अन्य काम भए पनि केहीबेर उठेर थोरै शरीर चलाएर, हिँडेर, शरीर हल्लाएर फेरि–फेरि काममा जुट्दा शरीर गलेर ढाड–कम्मरमा धेरै समस्या आउँदैन । बिहानको नित्य स्नानले दिनभरि शरीरको तापक्रम सन्तुलित बनाउँछ । लघुशंका दक्षिण र दीर्घशंका उत्तर दिशामा फर्किएर गर्नुपर्छ ।

घरको शौचालयको प्यान, कमोड आदि उत्तर–दक्षिणमा हुनुपर्छ । बस्दा, हिँड्दा, खाँदा, सुत्दा, बोल्दा, काम गर्दा एकदमै विचार पुर्‍याएर व्यवस्थित ढंगले गर्नुपर्छ । हिँड्दा हात अगाडि–पछाडि पारेर अरूलाई बाधा नपर्ने गरी जिउ सीधा पारेर हिँड्नुपर्छ । अरुलाई छोइयो वा सामान्य धक्का लाग्यो भने माफी मागिहाल्नुपर्छ । पैदल वा परिवहनमा अरूलाई धक्का लाग्यो भने सरी भनिहाल्नुपर्छ भने कसैले सानै भए पनि सहयोग गर्दा धन्यवाद दिन बिर्सनु हुँदैन । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×