Successfully Copied

दुखाइको समाधान

जुन रोगको उपचार गर्न आएका बिरामीको सो रोग निको भयो तर दुखाइ  तीन महिनासम्म पनि रह्यो भने पेन म्यानेजमेन्ट (दुखाइ व्यवस्थापन) को आवश्यकता पर्छ । यस्ता बिरामीलाई ओपिडीमा जाँच गरिन्छ । यस्तो किसिमको पीडालाई क्रोनिक पेन भनिन्छ । रोग निको भएसँगै दुखाइ कम हुनुपर्नेमा दुखाइ बाँकी

डा. निनादिनी श्रेष्ठ

उप प्रा.–एनेस्थेसियोलोजी विभाग, पेन युनिट

 त्रि.वि, शिक्षण अस्पताल 

दीर्घकालिन दुखाइ के हो ? 

कुनै पनि अङ्गमा आफ्नो दैनिक क्रियाकलाप, काम गर्न नै डिस्टर्ब हुने गरी लामो समयसम्म एकनासले वा त्यसभन्दा बढी असह्य पीडा तीन महिनाभन्दा बढी हुनु नै दीर्घकालिन दुखाइ हो । 

कस्तो दुखाइलाई रोग मान्ने ? 

कुनै दुखाइ रोगसँग जोडिएर आउँछन र उपचारको केही समयपछि आफैं निको हुन्छ त्यस्ता दुखाइ क्षणिक र सामान्य हुन्छन् । त्यस्तै अरु कुनै दुखाइ लामो समयसम्म पनि निको हुँदैन त्यसलाई दीर्घकालीन दुखाइ भनिन्छ । यो आफैमा एउटा रोग हो । लामो समयदेखिको ढाड दुख्ने समस्या, सर्भिकल स्पोन्डिलोसिस, हाड जोर्नीको दुखाइ, बाथका कारण हुने दुखाइ, टाउको दुख्ने, अर्बुद (क्यान्सर) रोगका कारण हुने दुखाइ, जनै खटिरापछि हुने दुखाइ आदिलाई दीर्घकालीन दुखाइका उदाहरण हुन् । 

पेन म्यानेजमेन्ट (दुखाइ व्यवस्थापन) कस्तो अवस्थामा आवश्यक हुन्छ ? 

जुन रोगको उपचार गर्न आएका बिरामीको सो रोग निको भयो तर दुखाइ  तीन महिनासम्म पनि रह्यो भने पेन म्यानेजमेन्ट (दुखाइ व्यवस्थापन) को आवश्यकता पर्छ । यस्ता बिरामीलाई ओपिडीमा जाँच गरिन्छ । यस्तो किसिमको पीडालाई क्रोनिक पेन भनिन्छ । रोग निको भएसँगै दुखाइ कम हुनुपर्नेमा दुखाइ बाँकी रहे पेन म्यानेजमेन्ट उपचार गर्नुपर्ने हुन्छ । जस्तो कि हातखुट्टा भाँचिदा प्लास्टर लगाएर हड्डी जोडिन्छ तर हातखुट्टामा दुखाइ रहिरहेमा  थप उपचारको आवश्यकता हुन्छ । लामो समयसम्म पीडा भैरहे हातखुट्टा  परिवर्तन हुन्छ । उपचार नपाएमा नङ तथा अर्को हातखुट्टामा समेत दुखाइ सर्न सक्छ । त्यसैले यस्तो अवस्थाको दुखाइको उपचार पेन म्यानेजमेन्टमा गरिन्छ । 

दुखाइ कसरी कम गर्न सकिन्छ ? 

साधारणतया ९० प्रतिशत दुखाइका बिरामी ओपिडीमा आएपछि रोगअनुसारको औषधि दिइने गरिन्छ । दुखाइको आवश्यकताअनुसार एक्सरसाइज, अकुपंचर, फिजियोथेरापी पनि गराइन्छ । एउटै रोग तथा उमेरका मानिसका दुखाइ पनि फरक हुन्छ । कसैलाई कम दुख्छ भने कसैलाई बढी दुख्छ । दुखाइसँगै भावना तथा स्ट्रेस पनि जोडिएर आउँछन् । कतिपयलाई मानसिक तवरबाट पनि दुखाइ भएको हुन्छ । उनीहरूलाई त्यही हिसाबले उपचार गर्नुपर्ने हुन्छ । पेन म्यानेजमेन्टको क्षेत्र ठूलो छ । औषधि तथा सुईले मात्र उपचार गर्ने होइन । कतिलाई सामान्य उपचारबाट निको हुन्छ भने कतिलाई साइको थेरापीको आवश्यकता पर्न सक्छ । 

के–के को दुखाइको उपचार गर्न सकिन्छ ? 

ढाडको, क्यान्सरको, टाउको तथा घाँटीको दुखाइको उपचार गर्न सकिन्छ । यसैगरी ढाडको नशा च्यापिएको, जोर्नी तथा बाथका कारण हुने दुखाइ तथा घाँटीको नसा च्यापिएको दुखाइ कम गर्न सकिन्छ ।

साथै लेबर पेन (बच्चा जन्माउने बेलामा हुने दुखाइ) पनि कम गर्न सकिन्छ । जुनसुकै दुखाइ भए पनि सामान्य खालको दुखाइ हो भने आफैले म्यानेज गर्न सकिन्छ, अस्पताल आउनुपर्दैन । धेरैलाई दुखाइ भएपनि अधिकांशले स्वभाविक रूपमा लिने गर्छन् । दुख्यो भन्दा आफू तल पर्ने हो कि भन्ने मानसिकता पनि कतिपयमा रहेको पाइन्छ । 

नोट : सेप्टेम्बर महिनालाई संसारभर दीर्घकालीन एवं जटिल दुखाइ निवारणका लागि सामाजिक जागरण अभियानका रूपमा मनाइएको थियो । 

 Image