Successfully Copied

आफूलाई चिन्न सके सफलता 

एक महिनाको अस्पताल बसाइपछि जब उनी घर फर्किन् उनलाई संसार नै अन्धकार लाग्न थाल्यो । उनी निकै चिन्तित भइन् । दुर्घटनामा परी स्पाइल कर्ड इन्जुरीबाट ग्रस्त देवी हलचल गर्न नसक्ने अवस्थामा थिइन्, ह्विलचेयरविना हिँडडुल गर्न असम्भव थियो । लामो समय उनी डिप्रेसनको सिकारसमेत भइन् ।

देवी आचार्य, (बास्केटबल खेलाडि)

कोषाध्यक्ष, सीआएल  

२२ वर्षीया युवा, जीवनमा केही गर्छु भन्ने सोच भए पनि देवी आचार्यको जीवनमा एक्कासि बज्रपात आइलाग्यो । ०६१ सालमा काठमाडौंबाट जन्मथलो बुटवल जाने क्रममा उनी दुर्घटनामा परिन् । जब उनको होस आयो उनले आफूलाई चितवन मेडिकल कलेजको बेडमा पाइन् । जब उनले बेडबाट उठ्न खोजिन् न उनको शरीर उठ्यो न त हात चल्यो । उनी उक्त क्षण सम्झदै भन्छिन्–‘आफूलाई के भएको हो केही थाहा थिएन, शरीर वा हात केही चलाउन नसक्ने अवस्थामा थिएँ ।’

एक महिनाको अस्पताल बसाइपछि जब उनी घर फर्किन् उनलाई संसार नै अन्धकार लाग्न थाल्यो । उनी निकै चिन्तित भइन् । दुर्घटनामा परी स्पाइल कर्ड इन्जुरीबाट ग्रस्त देवी हलचल गर्न नसक्ने अवस्थामा थिइन्, ह्विलचेयरविना हिँडडुल गर्न असम्भव थियो । लामो समय उनी डिप्रेसनको सिकारसमेत भइन् ।

खान, लगाउन, हिँड्न हरेक कुरामा अरुको सहायता लिनुपर्ने भएपछि उनलाई लाग्यो–ह्विलचेयरमा कसरी जिन्दगी बिताउने ? धेरै पटक उनले मर्ने प्रयास गरिन् । आचार्य भन्छिन्–‘धेरै पटक मर्ने प्रयास गरे पनि सजिलै कहाँ मर्न सकिँदो रहेछ र ? बाँचेर केही गर्न सक्छु भन्ने त हिम्मत नै थिएन, मर्न भनेर लुकी–छिपी धेरै औषधि एकैपटक खाने गरेको उनले सुनाइन् । 

अब कसरी अघि बढ्ने उनले सोच्नै सकिनन् । उनीप्रति परिवारको साथ र माया छँदै थियो । उनका लागि कपडा पसल सञ्चालनमा ल्याएको थियो परिवारले । 

ह्विलचेयरमा बसेर उनले आफ्नो आर्थिक अवस्था सुधार्न थालिन्, तैपनि उनलाई बारम्बार डिप्रेसनले सताइरहन्थ्यो । घरमा बसिरहँदा उनमा मानसिक तनाव बढ्दै गयो । परिवारको सुझावमा उनी काठमाडौं आएर रिहाबमा बस्न थालिन् । त्यहाँ पनि उनलाई पशुको गोठमा बसेको महसुस हुन्थ्यो ।

०६८ सालमा उनी अपाङ्ग संस्था सीआएल काठमाडौंमा सर्वसम्मत रूपले सचिव पदमा निर्वाचित भइन् । त्यसपछि उनी फरक क्षमता भएका व्यक्तिहरूको हक–हितका लागि काम गर्न थालिन् । उनले राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रिय सदस्यका रूपमा समेत काम गरिन् । हाल उनी सीआएल संस्थामा कोषाध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छिन् । 

अहिले उनी आफूजस्तै व्यक्तिहरूलाई सहयोग गर्न पाउँदा दंग छिन् । फरक क्षमता भएका व्यक्तिहरूलाई साथ र सहयोगका साथै आत्मनिर्भर बन्ने सीपको आवश्यकता भएको देवी बताउँछिन् । फरक क्षमताका व्यक्तिले अरूलाई सबल देखेर दुःखी हुनुभन्दा आफूमा भएको क्षमतालाई उजागर गरेर अघि बढे सफलता हात पार्न सकिने विश्वास देवीको छ । 

 Image