Successfully Copied

अब महिला फ्रेन्चाइज क्रिकेट

नेपाली महिला क्रिकेटमा प्रसस्तै गुनासा छन् । पहिलो त प्रतियोगिता नै हुँदैन, खेल्नै नपाएको दुःख कस्तो हुन्छ, नेपाली महिला क्रिकेट खेलाडीहरूसँग सोधे हुन्छ । पुरुष खेलाडीको तुलनामा आफूविरुद्ध विभेद भएको आरोप लगाउन पनि चुक्दैनन, महिला खेलाडीहरू ।

नेपाली महिला क्रिकेटमा प्रसस्तै गुनासा छन् । पहिलो त प्रतियोगिता नै हुँदैन, खेल्नै नपाएको दुःख कस्तो हुन्छ, नेपाली महिला क्रिकेट खेलाडीहरूसँग सोधे हुन्छ । पुरुष खेलाडीको तुलनामा आफूविरुद्ध विभेद भएको आरोप लगाउन पनि चुक्दैनन, महिला खेलाडीहरू । महिला क्रिकेटमा व्यवसायिकता छँदै छैन भने पनि हुन्छ । नेपाली पुरुष क्रिकेटले एक खालको छलाङ लगाउने क्रममा त्यसको तुलनामा नेपाली महिला क्रिकेट भने धेरै पछाडि परेको पक्कै हो । 

यसबीच एउटा सुखद समाचार आएको छ र त्यो हो, वुमेन्स टी– २० लिगको । वैशाख ७ देखि १४ गतेसम्म विराटनगरमा उक्त लिग सञ्चालन हुनेछ र त्यसअघि काठमाडौंमा महिला खेलाडीको ऐतिहासिक लिलामी भएको छ । यो प्रतियोगिता धेरै अर्थमा ऐतिहासिक हुनेछ । पहिलो त यो प्रतियोगिता एसियाकै पहिलो फ्रेन्चाइज महिला क्रिकेट हुनेछ । भारतसँगै टेस्ट खेल्ने देशमा पनि महिलाको फ्रेन्चाइज क्रिकेट हुँदैन । एसिया बाहिर अस्ट्रेलियामा भने महिला फ्रेन्चाइज क्रिकेट सञ्चालनमा छ । त्यो त्यहाँको बिग बास लिगको महिला संस्करण हो । 

त्यति मात्र होइन, पूरा विश्व क्रिकेट इतिहासमै पनि महिला खेलाडीको लिलामी भएको यो पहिलो अवसर हो । अस्ट्रेलियामा पनि महिला क्रिकेट खेलाडीको लिलामी भएको थिएन । यस अर्थमा समग्र नेपाली खेलकुदकै लागि यो प्रतियोगिता र यसका लागि भएको खेलाडीको लिलामी ऐतिहासिक सावित भएको छ । बाँकी रहेको एउटै प्रश्न के हो भने प्रतियोगिता यो वर्ष मात्र 

होइन, आउने वर्ष पनि सञ्चालनमा आउनेछ त ? 

यो प्रतियोगिता अघि बढ्ने हो भने यसले सकारात्मक प्रभाव पार्ने निश्चित छ । ‘हामी महिला क्रिकेट खेलाडी निकै खुसी छौं,’ नेपाली महिला राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री पनि मान्छिन् । भैरहवा क्विन्सकी मार्की खेलाडी रुबिनाको विचारमा यो प्रतियोगिताले महिला खेलाडीमा उत्साह बढाउनेछ र यसले नेपालमा महिला क्रिकेटको स्तर वृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भने केही हदसम्म यसले महिला क्रिकेटलाई व्यवसायिक समेत बनाउनेछ । 

एसियामा थाइल्यान्ड महिला क्रिकेटमा नेपालभन्दा बलियो रहेको स्थितिमा उक्त टिमलाई चुनौती दिन पनि यस्ता प्रतियोगिता चाहिन्छ । प्रतियोगिताको आयोजक एनसीएल स्पोटर््स हो । नेपाली खेलकुदका लागि यो नयाँ नाम हो । यो समूहमा तिनै व्यक्तिहरूको बाहुल्य छ, जोसँग यसअघि नेपाली चलचित्रमा काम गरेको अनुभव छ । प्रतियोगितामा चार फ्रेन्चाइज टिमको सहभागिता रहनेछ र ती टिम हुन्– विराटनगर रोरिङ लायोनेस, धनगढी वन्डर वुमन, काठमाडौं सुपर च्याम्पियन्स तथा भैरहवा क्विन्स । 

प्रत्येक टिमले प्रतियोगिताका लागि कम्तीमा ४० लाख रुपैयाँ खर्च गर्नेछन् । टिमले उक्त रकम आन्तरिक रूपमै जुटाउनेछन् र त्यसका लागि प्रायोजकहरूले महत्त्वपूर्ण भूमिका खेल्नेछन् । प्रत्येक टिममा १३/१३ जना खेलाडी रहनेछन् । प्रत्येक टिमले एक–एक मार्की खेलाडीको घोषणा गरिसकेका छन् । यी चार खेलाडीले कम्तीमा एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । लगभग यिनै मार्की खेलाडीले टिमको कप्तानी गर्नेछन् । 

लिलामीमा तीन स्तरका खेलाडी थिए, ए, बी र सी । ए ग्रेडका खेलाडीले कम्तीमा ४० र बढीमा ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै बी ग्रेडका खेलाडीले कम्तीमा २५ र बढीमा ५० हजार रुपैयाँ पाउनेछन् । सी ग्रेडका खेलाडीको भागमा कम्तीमा १५ र बढीमा २५ हजार रुपैयाँ पर्नेछ । ‘नेपाली क्रिकेटका लागि यो निकै सुखद सुरुवात हो,’ अर्की प्रमुख खेलाडी सीता रानामगर पनि मान्छिन्, ‘यसलाई निरन्तरता दिन सक्नुपर्छ ।’

 Image