Successfully Copied

आँट भएका महिला  मन पर्छ : अर्चना थापा

स्पष्टवक्ता तथा जे–जस्तो काम पनि गर्न सक्छु भन्ने सकारात्मक सोंच र आँट भएका महिला मन  पर्छन् मलाई ।

अर्चना थापा

संस्थापक–अक्षर क्रियसन तथा लेखक

तपाईंलाई मन परेको टप–थ्रि पुस्तक ?

भर्जिनिया उल्फको अ रुम अफ वान्स वन, अरुणधति रोयको गड अफ स्मल थिंक्स, बेन ओकरीको द फ्यामिस्ड रोड । 

पहिलो पुस्तक जसले  तपाईंलाई अत्यन्तै भावुक बनाएर आँखाबाट आँसु झार्‍यो ?

पर्ल बकको द गुड अर्थ ।

तपाईं आफ्नो मौलिक लेखनमा अडिग रहनुहुन्छ वा पाठकको चाहनाअनुसार चल्नुहुन्छ ?

म दुईथरीका लेख लेख्छु । क्रियटिभ राइटिङका लागि म आफ्नो मौलिक विचार, शैली तथा विषयवस्तु आफ्नो रुचिअनुसार रोज्छु तर मेरा लेख तथा समालोचनाहरू समसामयिक सामाजिक विषय एवं मुद्दाहरूमा केन्द्रित हुन्छन् ।

लेखिकाका नाताले तपाईंले खर्चिएको उपलब्धिमूलक पैसा ?

सबैभन्दा पहिलो त मेरा लागि समय नै महत्वपूर्ण धन हो । म जति पनि पुस्तक किन्छु अथवा ल्यापटप वा विभिन्न देश–विदेश जाँदा, सभा–सेमिनारहरूमा सहभागी हुँदा जे–जति खर्च हुन्छ ती सबै मेरा लागि उपलब्धिमूलक छन् । 

तपाईंका अप्रकाशित र अधूरा पुस्तक ?

एउटा कृतिमा काम गरिरहेकी छु । अर्को एउटा कविता संग्रह अंग्रेजी भाषामा छ जुन लामो समयदेखि त्यत्तिकै थाती राखेकी छु । 

तपाईंका लागि जीवनको वास्तविक सफलता के हो ?

सफलताको एउटै मात्र सूत्र हुँदैन । आफ्नो कृतिलाई शतप्रतिशत दिन सकें भने मेरो वास्तविक सफलता ठहरिनेछ । 

महिला लेखिकाका रूपमा पुरुष पात्रका सम्बन्धमा लेख्नु कत्तिको सहज हुन्छ ?

मेरो कठपुतला कथा संग्रहका केही पात्र पुरुष नै छन् । पुरुष पात्रलाई चित्रण गर्दा मलाई सहजै लाग्यो । 

तपाईंले आफ्ना खुसी वा दुःख आफ्ना पुस्तकका पात्रमार्फत प्रस्तुत गर्नुभएको छ ?

प्रत्यक्ष रूपमा त छैन तर केही अंश स्वतः आइहाल्छ लेखनमा । भावना, अनुभूति, भोगाइ पात्रहरूमार्फत आउँछन् नै त्यसलाई रोकेर रोक्न सकिँदैन । 

तपाईं आफूले आफैलाई गुगलमा खोज्नुहुन्छ ?

कहिल्यै खोज्दिन । मलाई डर लाग्छ किनभने अन्तर्वार्तामा बोलेका कुरा र आफैंले लेखेका कुरा पनि कहिलेकाहीँ आफैंलाई चित्त बुझ्दैन । 

फिक्सनमा तपाईंको फेभरेट हिरो ?

विभिन्न समयमा विभिन्न हिरो फेभरेट रहे । म कुनै एउटाको मात्र नाम लिन चाहन्न । 

तपाईंको सबैभन्दा ठूलो त्रास के हो ?

म सर्पसँग डराउँछु । सर्प देख्दा आङ जिरिङ्ग हुन्छ ।     

महिलामा भएको कुन क्वालिटीको खुलेर प्रशंसा गर्न मन लाग्छ ?

स्पष्टवक्ता तथा जे–जस्तो काम पनि गर्न सक्छु भन्ने सकारात्मक सोंच र आँट भएका महिला मन 

पर्छन् मलाई ।

 

 Image