Successfully Copied

संभावना बोकेका नयाँ नायिका

नेपाली चलचित्रको निर्माणमा आएको वृद्धि, चलचित्रको बढ्दो लगानी तथा कलाकारहरूले पाउने राम्रो पारिश्रमिकका कारण धेरै नयाँ अनुहार चलचित्रमा आउन इच्छुक देखिन्छन् । वर्ष २०७५ मा प्रदर्शन भएका थुप्रै चलचित्रबाट थुप्रै नयाँ अनुहार चलचित्र उद्योगमा भित्रिएका छन् । तीमध्ये यही वर्ष अभिनेतृका रूपमा चलचित्रमा पदार्पण गरेका

अभिनयलाई करियर बनाउन चाहने युवा–युवतीहरूको संख्या बढ्दो छ । नेपाली चलचित्रको निर्माणमा आएको वृद्धि, चलचित्रको बढ्दो लगानी तथा कलाकारहरूले पाउने राम्रो पारिश्रमिकका कारण धेरै नयाँ अनुहार चलचित्रमा आउन इच्छुक देखिन्छन् । वर्ष २०७५ मा प्रदर्शन भएका थुप्रै चलचित्रबाट थुप्रै नयाँ अनुहार चलचित्र उद्योगमा भित्रिएका छन् । तीमध्ये यही वर्ष अभिनेतृका रूपमा चलचित्रमा पदार्पण गरेका तथा गर्न लागेका अनुहारहरूको संख्या पनि ठूलै छ । 

करुणा श्रेष्ठ, सय कडा दस

करुणा श्रेष्ठको पृष्ठभूमि मोडलिङ तथा फेसन डिजाइनिङ हो । उनले आइइसी स्कुल अफ आर्ट एन्ड फेसनबाट फेसन डिजाइनिङ अध्ययन गरेकी हुन् । चलचित्र ‘सय कडा दस’ मा अभिनेतृका रूपमा पदार्पण गर्नुअघि उनी फेसन डिजाइनरका रूपमा सक्रिय थिइन् । केही सौन्दर्य प्रतियोगितामा निर्णायकको भूमिकासमेत निर्वाह गरिसकेकी करुणाले केही समय सगरमाथा टेलिभिजनमा भिडियो जक्कीका रूपमा समेत काम गरिन् । सन् २०११ मै मिस कलेजको उपाधि जितेकी करुणाले एक्नेज नेपाल शीर्षकको प्रतियोगितामा मिस पपुलरको उपाधि जितेकी थिइन् । यसबीच करुणाले माघ ११ गते प्रदर्शनमा आएको चलचित्र ‘सय कडा दस’ बाट अभिनय क्षेत्रमा पाइला राखेकी छिन् । आफ्नो पहिलो चलचित्रबाटै उत्साहित करुणाले उक्त चलचित्रमा प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् । पहिलो चलचित्र भएकाले करुणाले यसमा प्रशस्त मेहनत गरेको बताएकी छिन् । ‘मैले शत प्रतिशत दिने प्रयास गरेकी छु, करुणाको भनाइ छ–‘चलचित्रको व्यावसायिक पक्षका बारेमा मैले बोल्न मिल्दैन, यद्यपि कलाकारका रूपमा मैले आफ्नो क्षमताले भ्याएसम्मको अभिनय गरेकी छु ।’ मनोज गजुरेल, राजाराम पौडेलजस्ता कलाकारसँग काम गरेर आफूले धेरै कुरा सिकेको करुणाको तर्क छ । आफू आत्मविश्वासका साथ यो क्षेत्रमा आएकाले सकारात्मक कुरा लिएर नै अघि बढ्ने करुणाको भनाइ छ । करुणाले चलचित्रको अभिनयलाई निरन्तरता दिइरहने स्पष्ट पारेकी छिन् । 

रेवती क्षेत्री, समर लभ 

युवापुस्तामा लोकप्रिय भएको सुविन भट्टराईको उपन्यास ‘समर लभ’ मा आधारित चलचित्र ‘समर लभ’ मार्फत नेपाली रजतपटमा उदाएकी अभिनेतृ हुन्–रेवती क्षेत्री । चलचित्रमा सायाको चरित्रका लागि छनोट भएकी रेवती नेपाली मूलकी भारतीय नागरिक हुन् । समर लभको अध्ययन नगरे पनि अडियो भर्सन सुनेका आधारमा उनी साया बन्न तयार भएकी थिइन् । अघिल्लो वर्ष निर्माण प्रारम्भ भएको उक्त चलचित्रमा आसाममा जन्मिएकी यी कलाकारले उत्कृष्ट काम गरेको बताएकी छिन् । चलचित्रको छायांकन प्रारम्भ हुनुअघि आयोजित एक समारोहमा रेवतीले भनेकी थिइन्–‘सायाको चरित्रलाई जीवन्तता दिनु आफैंमा चुनौती हो । यद्यपि म उक्त चरित्रका लागि निकै उत्साहित छु । म मेहनत गरेर सायाको भूमिकालाई सार्थक बनाउनेछु ।’ रेवतीको पृष्ठभूमि पनि मोडलिङ नै हो । रेवतीले सन् २०१६ मा सेनोरिटा मिस इन्टरनेसनल इन्डियामा मुख्य उपाधिसहित मिस मल्टिमिडियाको उपाधि जितेकी थिइन् भने त्यही वर्ष सम्पन्न वर्ल्ड मिस युनिभर्सिटीमा मिस एसियाको उपाधि जितेकी थिइन् । यसका साथै उनी सन् २०१५ को फेमिना मिस इन्डियामा उत्कृष्ट १० मा पर्नुका साथै मिस पपुलर तथा मिस मल्टिभिडियाको उपाधिसमेत जितेकी थिइन् । यसका साथै उनी मिस इन्डिया, कोलकातामा उत्कृष्ट पाँचसम्म पुगेकी थिइन् । बी.कम. सम्मको अध्ययन पूरा गरेकी क्षेत्री गुवाहाटी, आसामबाट एलएलबी गरिरहेकी छिन् । पहिलो चलचित्र ‘समर लभ’ को एउटा दृश्यमा रेवतीले निर्वस्त्र अभिनय गरेकी छिन् । चलचित्रको एउटा गीतको दृश्यमा उनले उक्त चुनौतीपूर्ण दृृश्य सहजताका साथ दिएकी हुन् । उक्त दृश्यको अभिनयका सम्बन्धमा राखिएको एउटा जिज्ञासामा रेवतीले भनेकी छिन्–‘बाथरुममा नुहाउँदा मानिसहरू कपडा लगाउँदैनन् मैले नुहाएको दृश्यमा कपडा नलगाएको देखिनु स्वाभाविक हो ।’ त्यसो त रेवतीले यसअघि ग्याङ्स अफ नर्थ इस्ट तथा खातुन शीर्षकका दुई भिन्न भारतीय चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् । 

उपासना सिंह ठकुरी, क्याप्टेन

भुवन केसीको नयाँ चलचित्र ‘क्याप्टेन’ फागुन १७ गतेदेखि प्रदर्शनमा आउँदैछ । उक्त चलचित्रमार्फत रजतपटमा पदार्पण गर्न लागेकी अभिनेतृ हुन्–उपासना सिंह ठकुरी । चलचित्रको हालै सार्वजनिक एउटा गीत ‘रहर छ सँगै...’ तथा चलचित्रको ट्रेलरबाटै उपासनाले आफूमा प्रशस्त सम्भावना भएको कुरा प्रमाणित गरेकी छिन् । पाँच फिट छ इन्च अग्ली उपासनाले चलचित्रमा आउनुअघि मोडलिङमा केही समय बिताएकी थिइन् । केही र्‍याम्प शोहरूमा क्याटवाक गरेकी उपासनाले यतिबेला आफ्नो सम्पूर्ण ध्यान अभिनयमा केन्द्रित गरेकी छिन् । एस इन्स्टिच्युट अफ म्यानेज्मेन्टबाट स्नातक गरिरहेकी उपासना चलचित्र क्याप्टेनको छायांकनदेखि नै चर्चामा छिन् । अभिनेता अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्ने अभिनेतृहरूमध्ये उनी सबैभन्दा कान्छी हुन् । अनमोलले आफ्ना हरेक चलचित्रमा अलग–अलग अभिनेतृसँग स्क्रिन सेयर गरेका छन् । फुटबल खेलमा आधारित चलचित्र क्याप्टेनमार्फत आफ्नो करियर थाल्न पाउँदा उपासना उत्साहित छिन् । पहिलो चलचित्रमै अनमोल केसीको जोडीका रूपमा प्रस्तुत हुन पाएकाले उपासनाको उत्साह बढेको हो । चलचित्रको सेटमा प्रस्तुत हुनुअघि उपासनाले केही समय अभिनयको कार्यशालामा बिताइन् । अभिनयका सबै तत्वका बारेमा जानकारी हासिल गरिसकेपछि मात्र बूढानीलकण्ठ, काठमाडौं निवासी उपासना चलचित्रका लागि तयार भएकी हुन् । निर्देशक दिवाकर भट्टराईसँग अभिनयको प्रशिक्षण लिएपछि भट्टराईकै निर्देशनमा उनले ‘क्याप्टेन’ मा अभिनय गरेकी हुन् । निर्माता भुवन केसी, निर्देशक दिवाकर भट्टराई तथा अभिनेता अनमोल केसीले इन्स्टाग्राममा उपासनाका तस्बिर देखेपछि उनलाई नायिका बन्न प्रस्ताव गरेका हुन् । उपासना आफ्नो पहिलो चलचित्रले नै आफूलाई अभिनयमा स्थापित गराउने कुरामा ढुक्क छिन् । 

सुभेक्षा खड्का, रणवीर 

मिस नेपाल–२०१२ मा मिस इन्टरनेसनल नेपालको उपाधि जितेदेखि नै सुभेक्षा खड्का ग्ल्यामर क्षेत्रमा परिचित भएकी हुन् । मिस नेपालमा महत्वपूर्ण उपाधि जितेपछि उनी मोडलिङमा सक्रिय भइन् । त्यतिबेलै उनलाई केही निर्माता–निर्देशकले आफ्नो चलचित्रका लागि प्रस्ताव नराखेका होइनन्, यद्यपि उनले त्यतिबेला अभिनयमा खासै रुचि देखाइनन् । अहिले आएर उनले चलचित्र रणवीरबाट अभिनयमा पदार्पण गरेकी छिन् । विगतमा थुप्रै विज्ञापन, र्‍याम्प शो तथा टेलिभिजनमा समेत कार्यक्रम सञ्चालन गर्दै आएकी खड्का माघ १८ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रबाट आधिकारिक रूपमै अभिनेतृका रूपमा चिनिएकी छिन् । रणवीरको आफ्नो भूमिका मन परेकाले नै अभिनयका लागि तयार भएको उनको तर्क छ । खड्का भन्छिन्–‘म धेरैअघि नै चलचित्रमा आउन इच्छुक थिएँ । त्यो अवधिमा केही चलचिक्रका स्त्रिप्ट पनि अध्ययन गरें । यद्यपि कुनै पनि स्क्रिप्टले मेरो चित्त बुझाउन सकेनन् । रणवीरको स्क्रिप्टले मन छोएपछि अभिनयका लागि तयार भएकी हुँ ।’ 

शिल्पा मास्के, द ब्रेकअप/कागजपत्र

फागुन ४ गते प्रदर्शन हुने चलचित्र ‘द ब्रेकअप’ मार्फत नेपाली चलचित्र क्षेत्रमा आउने तयारी गरिरहेकी अभिनेतृ हुन्–शिल्पा मास्के । द ब्रेकअप प्रदर्शन भएलगत्तै मास्केद्वारा अभिनीत दोस्रो चलचित्र कागजपत्र प्रदर्शनमा आउनेछ । यी दुई चलचित्र प्रदर्शनमा आउनुअघि नै शिल्पा नयाँ चलचित्र ‘सानो मन’ का लागि अनुबन्ध भैसकेकी छिन् । त्यसो त शिल्पाले तीन वर्षअघि नै हलिउड चलचित्र डक्टर स्ट्रेन्जमा करिब ४५ सेकेन्डको भूमिका निर्वाह गरिसकेकी थिइन् । शिल्पालाई दर्शकहरूले दुई भिन्न चलचित्रमा दुई भिन्न चरित्रमा देख्न पाउनेछन् । चलचित्र द ब्रेकअपको हरपल..गीतमा अभिनेता आशिरमान देशराज जोशीसँगको उनको चुम्बन दृश्यले चर्चा पाएको थियो । शिल्पाले उक्त दृश्यलाई अति नै सामान्य तथा कथाको माग भनेकी छिन् । एसएलसी उत्तीर्ण गरेर सी.ए.मा भर्ना भएपछि उनी उच्च शिक्षाका लागि बेलायत गइन् । बेलायतमा उनले बिजनेस म्यानेज्मेन्ट पढिन् । सन् २०१३ मा नेपाल फर्किएपछि उनले नेपालमै छायांकन भएको बेलायतको छोटो चलचित्र सुटिङ एन एलेफेन्टको एउटा गीतमा नृत्य गर्ने मौका पाइन् । उक्त चलचित्रमा नृत्य गरेपछि उनी पुनः बेलायत फर्किइन् र एक्टिङ एजेन्सीहरू धाउन थालिन् । प्रारम्भमा उनले चलचित्र लिलिबिलीका लागि प्रस्ताव पाएकी थिइन्, यद्यपि समय नमिलेका कारण अभिनय गर्न भ्याइनन् । अन्य केही चलचित्रबाट समेत अभिनयको प्रस्ताव के–के कुरा नमिलेर गरिनन् । अन्ततः उनलाई द ब्रेकअपमा अभिनय गर्ने साइत जुर्‍यो । ब्रेकअपको छायांकन सम्पन्न भएलगत्तै उनले कागजपत्रमा समेत अभिनय गरिन् । तेस्रो चलचित्र सानो मनमा अनुबन्धित शिल्पा यतिबेला आफ्ना अघिल्ला दुई चलचित्रको प्रदर्शन तथा आफ्नो भूमिकाको मूल्यांकनको पर्खाइमा छिन् । 

 Image