Successfully Copied

पब्लिक हेल्थमा मनिता

मिस युनिभर्स–२०१८ मा नेपालको प्रतिनिधित्व गरेकी मनिता देवकोटा टप १० सम्म पुग्न सफल भइन् । नेपालबाहेक दक्षिण अफ्रिका, भियतनाम, भेनेजुएला, कोस्टारिका, कुराकाओ, क्यानाडा, थाइल्यान्ड तथा पुयोर्टो रिको शीर्ष १० मा रहे । द हिडन ट्रेजर मिस नेपाल–२०१८ को बर्जर मिस ग्ल्यामरको उपाधि जितेकी मनिता

मिस युनिभर्स–२०१८ मा नेपालको प्रतिनिधित्व गरेकी मनिता देवकोटा टप १० सम्म पुग्न सफल भइन् । थाइल्यान्डको बैंककमा संचालित अन्तिम प्रतिस्पर्धामा देवकोटा त्यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमध्ये एक छानिएकी थिइन् । अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट पाँच छनोट गरी १५ जना र पाँचजना वाइल्ड कार्डमार्फत टप २० छनोट गरिएको उक्त प्रतिस्पर्धामा मनिता एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा रहिन् ।

त्यसपछि हरेक प्रतिस्पर्धीलाई आफ्ना बारेमा १५ सेकेन्डको मन्तव्य दिने अवसर प्रदान गरिएको थियो र त्यही मन्तव्यका आधारमा टप १० प्रतिस्पर्धी छनोट भएका थिए । नेपालबाहेक दक्षिण अफ्रिका, भियतनाम, भेनेजुएला, कोस्टारिका, कुराकाओ, क्यानाडा, थाइल्यान्ड तथा पुयोर्टो रिको शीर्ष १० मा रहे । द हिडन ट्रेजर मिस नेपाल–२०१८ को बर्जर मिस ग्ल्यामरको उपाधि जितेकी मनिता देवकोटा बर्जरको प्रिमियम ब्रान्ड बर्जर सिल्क ग्ल्यामरसँग आबद्ध छिन् ।

हजुरआमाको निहुँमा मिस नेपाल

परिवारको महत्वलाई राम्रोसँग बुझेकी मनितालाई परिवारका सबै सदस्य उत्तिकै प्यारा लाग्छन् । अमेरिकामा हुर्किए पनि उनलाई आमाबुवाले नेपाली भाषा, संस्कृतिका साथै आफन्त र आफ्नोपनको आभाष दिइरहे । त्यसैले उनी नेपाल भनेपछि मरिहत्ते गर्छिन् । नेपालमा हजुरआमालाई क्यान्सर भएको खबरले उनी भावुक भइन् अनि पढाइ सकेर छुट्टीको समयमा नेपाल आइन् । बिरामी हजुरआमालाई भेटेपछि मनिता निकै भावुक भइन्, तर त्यो भन्दा बढी हजुरआमा खुसी हुनुभयो । त्यही समयमा मिस नेपालको आवेदन खुलेको थियो । यहाँका साथीभाइ एवं परिवारका सदस्यहरूले तिमी यता आएको मौका छ, तिमीमा आत्मविश्वास पनि छ, तिमीले सक्छ्यौ भाग लिऊ भनेपछि उनी मिस नेपालमा सहभागी भइन् । 

सफल हुन्छु भन्ने विश्वास

मनिता जुन काममा हात हाल्छिन्, पूरै तयारीका साथ आउँछिन् । मिस नेपालमा भाग लिँदा होस् वा मिस युनिभर्समा भाग लिँदा होस् उनमा कुनै डर थिएन । बरू मैले नै जित्छु, म उत्कृष्ट रिजल्ट दिन्छु भन्ने आत्मविश्वास थियो । उनी मिस युनिभर्सको त्यो स्थान प्राप्त गर्न आफ्नै मेहनतले सम्भव भएको बताउँछिन् । 

पब्लिक हेल्थ पढ्ने प्रेरणा

मनिता त्यतिबेला ५–६ वर्षकी थिइन् । उनी गोरखामा दिदीहरूसँगै हात समातेर विद्यालय जान्थिन् । १२–१३ वर्षका दिदीहरू महिनाबारी भयो भनेर विद्यालय नै आउन छोड्थे । कोही ४–५ दिन आउँदैनथे भने कतिपय विद्यालय नै आउन छाडे । त्यो देखेर मनितालाई अचम्म लाग्थ्यो, दिदीहरूलाई के रोग लागेछ, पर सर्ने ? उनलाई पनि डर लाग्थ्यो त्यो उमेर पुगेपछि आफूलाई पनि त्यस्तै पर सर्ने रोग लाग्ने त होइन ? मनिता ८ वर्षको उमेरमा बुवाआमासँग अमेरिका पुगिन् । उमेर पुगेपछि उनी पनि पर सरिन् तर उनले गाउँका दिदीहरूले जस्तो स्कुल बिदा लिनु परेन, न स्कुल नै छोड्नुपर्‍यो । नर्मल तरिकाले उनको पहिलो महिनाबारी गुज्रियो । सुविधाजनक प्याडहरूले महिनाबारीलाई समस्याका रूपमा आउनै दिएनन् । 

उमेर बढ्दै गए पनि मनितालाई बाल्यकालका दिदीहरूको समस्या सम्झना आइरहन्थ्यो । आफू सुविधा सम्पन्न देशमा आएर यी सबै कुरा सहज हुँदै गए पनि शिक्षा र परिवेशका कारण नेपालका धेरै ठाउँमा छाउपडीलगायत महिनाबारीमा छुवाछूतको समस्या छ भन्ने कुरा पनि उनले थाहा पाइन् । जसका कारण उनी पब्लिक हेल्थ पढ्न प्रेरित भइन् । मनिताको मुख्य लक्ष्य नै नेपालका ग्रामीण क्षेत्रमा पब्लिक हेल्थको आवाज पुर्‍याउनु हो । 

समाजसेवामा 

उनी २०१५ देखि DAYS FOR GIRLS मा आबद्ध छिन् । मनिता अमेरिकामा युनिभर्सिटीमा पढ्दादेखि नै उक्त संस्थामा भोलेन्टरका रूपमा कार्यरत छिन् । त्यहाँबाट नै उनी र उनका केही साथी मिलेर ४ जना नेपाली बालिकाको पढाइ खर्च बेहोरिरहेका छन् । मिस नेपाल युनिभर्सपछि उनलाई DAYS FOR GIRLS NEPAL'S BRAND AMBASSADOR नियुक्त गरिएको छ । अहिले मनिता नेपालका विभिन्न गाउँका स्कुलमा पुगेर किशोरीहरूलाई महिनाबारीका बारेमा जानकारी गराउँछिन् । महिलाहरूले गर्दा नै यो संसार छ, महिनाबारी पाप होइन, यो त आमा बन्न सक्ने कुराको लक्षण हो भन्ने सन्देश दिन अग्रसर छिन्–उनी । मनिता भन्छिन्–यस्तो लक्षणको कुरामा के–को छाउपडी, किन बार्ने महिनाबारी ? 

अहिले उनी प्याड किन्न नसक्ने महिलाहरूका लागि रियुज गर्न सकिने प्याड पनि बनाइरहेकी छिन् । किशोरीहरूले प्याड किन्न नसकेर स्कुल छोड्न बाध्य हुनु नपरोस् भनेर यस्ता प्याड तयार पारिएको हो । मनिताका अनुसार यी प्याड ३–४ वर्षसम्म राम्रोसँग टिक्छन् ।

 

 Image