Successfully Copied

सिद्धान्तमा प्रेम

प्रेमका सम्बन्धमा सुकरातको भनाइ छ–‘यदि तिमीलाई निरर्थक तर्क–वितर्कमा मज्जा आउँछ भने या त तिमी मिथ्यावादीसँग भिड्न लायक छौ या त मानिसलाई कसरी प्रेम गर्ने भन्ने कुरा तिमीलाई थाहा छैन ।’

संसारमै आजसम्म परिभाषित हुन नसकेको शब्द होला–‘प्रेम’ । प्रेमलाई विद्वान्हरूले आ–आफ्नै विचार र तर्कमा फरक ढंगले परिभाषित गरिएको पाइन्छ । यद्यपि प्रेमलाई दुई आत्माको मिलन भन्नेहरूको संख्या अलि बढी नै हुन्छ । प्रेम त्यस्तो भावना हो जसले आफूवरपर मात्र नभई सारा संसारलाई नै सुन्दर देखाउँछ भन्नेहरू पनि उत्तिकै छन् । संसारभर ख्याति कमाउन सफल महान् हस्तीहरूको प्रेम जीवन र आत्मिक सम्बन्ध विचित्रको भएको पाइन्छ । प्रेम सम्बन्धमा विलियम शेक्सपियर लेख्छन्–‘आफ्नो प्रेम त्यसका निम्ति खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन ।’ शेक्सपियरको भनाइले प्रेम त्यसको अर्थ र महत्व बुझ्नेका लागि मात्र अमूल्य छ भन्ने दर्शाउँछ । 

सन् १८०४ देखि १८८१ को समयभित्र लन्डनमा ख्याति कमाउन सफल बेन्जामिन डिजरायली बेलायतमा दुई पटक प्रधानमन्त्री हुने प्रभावशाली नेता मात्र नभई प्रसिद्ध लेखक पनि हुन् । बेन्जामिनले प्रेमलाई यसरी परिभाषित गरेका छन्–‘हामी सबै प्रेमका निम्ति जन्मिएका हौं । यही नै अस्तित्वको सिद्धान्त हो ।’ 

अर्का विद्वान् डा. डिअसका अनुसार–जब तिमी प्रेममा हुन्छौ तब तिमी राति सुत्न चाहँदैनौ, किनभने तिम्रो वास्तविकता सपनाभन्दा प्यारो हुन्छ । प्रेमलाई दार्शनिक सिद्धान्तका आधारमा व्याख्या गर्नेहरू पनि (अठारौं र उन्नाइसौं शताब्दीताका) धेरै देखिए, जसले काल्पनिक प्रेमलाई बढी प्रश्रय दिए । 

अमेरिकास्थित इन्डियाना युनिभर्सिटीका फिक्सन–लिटरेचरका प्रोफेसर तथा लेखक–साहित्यकार विल विल्सनले प्रेममा मीठो रस भर्दै लेखे–‘संसारका लागि तिमी मात्र एक मान्छे हौ, तर मात्र एक मान्छेका लागि तिमी पूरै संसार हौ ।’ विलियमका शब्दले प्रेमको सम्मान र प्रेमीको महत्वलाई उच्च स्थानमा राखेको पाइन्छ । 

अर्का अज्ञात विद्वान्ले प्रेमका बारेमा लेखेका छन्–‘जानिराख तिमीले जति प्रेम बाँड्छौ उति नै प्रेम प्राप्त गर्छाै ।’ प्रेम अनन्त छ, अपार र असीमित छ । दिएर घट्दैन, अझ बढ्दै जान्छ भन्ने भनाइ शाश्वत र व्यावहारिक जीवनमा यथार्थ लाग्छ । प्रेमका सम्बन्धमा सुकरातको भनाइ छ–‘यदि तिमीलाई निरर्थक तर्क–वितर्कमा मज्जा आउ“छ भने या त तिमी मिथ्यावादीसँग भिड्न लायक छौ या त मानिसलाई कसरी प्रेम गर्ने भन्ने कुरा तिमीलाई थाहा छैन ।’ प्रेमको उचाइलाई अझ चुल्याउ“दै थोरोले भनेका छन्–‘थप प्रेमबाहेक प्रेमको कुनै उपचार हुँदैन ।’ 

‘प्रेमले सबैलाई कवि बनाउँछ’ भन्ने ग्रिसका दार्शनिक प्लेटोका सिम्पोसिजम, एपोलोजी, प्लेटो रिपब्लिक आदि पुस्तक प्रख्यात छन् । जर्मनीका वैज्ञानिक अर्लबर्ट आइन्स्टाइनले ‘मान्छे प्रेममा फस्नुमा गुरुत्वाकर्षण जिम्मेवार छैन’ भनेका छन् । रुसी साहित्यकार तथा लेखक म्याक्सिम गोर्कीले प्रेमको उच्च सम्मान गर्दै व्याख्या गरे–‘संसारमा दुईवटा शक्तिको साम्राज्य छ एउटा प्रेम र अर्को भोक ।’

नेपाली नायक राजेश हमालले केही समयअघि एक सञ्चार माध्यमसँगको अन्तर्वार्तामा प्रेमसम्बन्धी आफ्नो धारणा यसरी व्यक्त गरेका थिए–‘प्रेम मेरा लागि एउटा भावना हो, अनुभूति हो । यदि तपाईंले आफ्नो ह्दयमा कसैका लागि केही महसुस गर्नुहुन्छ भने त्यही नै प्रेम हो । प्रेम भनेको एक–आपसमा माया गर्नु मात्र होइन । एक–अर्कालाई रेस्पेक्ट गर्नु र बुझ्नु पनि हो ।’

 

 Image