Successfully Copied

क्यान्सरले हार्‍यो  मैले जितें : एन्जेलिना जोली

हलिउडकी ओस्कर विजेता अभिनेतृ एन्जेलिना जोलीले केही समयअघि क्यान्सरको खतरा टार्न आफ्ना दुवै स्तनको अप्रेसन गराइन् । यसबाट उनले क्यान्सरसँग डराउनु हुँदैन र त्यसलाई लुकाउनुको साटो त्यससँग बहादुरीका साथ लड्नुपर्ने सन्देश प्रवाह गरिन् । उनको जीवन असंख्य महिलाहरूका लागि प्रेरणा साबित भएको छ ।

हलिउडकी ओस्कर विजेता अभिनेतृ एन्जेलिना जोलीले केही समयअघि क्यान्सरको खतरा टार्न आफ्ना दुवै स्तनको अप्रेसन गराइन् । यसबाट उनले क्यान्सरसँग डराउनु हुँदैन र त्यसलाई लुकाउनुको साटो त्यससँग बहादुरीका साथ लड्नुपर्ने सन्देश प्रवाह गरिन् । ब्रिटेनका विदेशमन्त्री विलियम हेगले जोलीको प्रशंसा गर्दै भनेका छन्–यो कामले उनलाई अदम्य साहस भएकी महिला साबित गरेको छ । उनको जीवन असंख्य महिलाहरूका लागि प्रेरणा साबित भएको छ । उनको यो घोषणापूर्वसम्म उनले यस्तो अप्रेसन गराउँछिन् भनेर कसैले सपनामा पनि सोचेका थिएनन् । 

आफ्नो यो अप्रेसनका विषयमा जोलीले अमेरिकाको एउटा प्रमुख दैनिक अखबारमा भनेकी छिन्–मेरी आमा करिब १० वर्षसम्म क्यान्सरसँग लडिन् र अन्तत: ५६ वर्षको उमेरमा मृत्युलाई वरण गर्न पुगिन् । मृत्युपूर्व उनले मेरा सुरुका सन्तानलाई काखमा खेलाउने अवसर प्राप्त गरिन् भने मेरा पछिका सन्तानले कहिल्यै उनीहरूकी हजुरआमा कति प्यारी र मिलनसार थिइन् भन्ने जान्न–बुझ्न पाएनन् ।

मेरा सन्तानहरू प्राय: मेरी आमाका बारेमा कुराकानी गर्छन् र म  तिनलाई क्यान्सर एउटा भयानक रोग हो र त्यसैले मेरी आमाको ज्यान लियो भन्ने कुरा बताउँछु । उनीहरू मसँग प्रश्न गर्छन् कि के म पनि यो रोगको सिकार भएर मर्न सक्छु ? म सधैं तिनलाई यस विषयमा चिन्ता नगर्न भन्थें तर सत्य पनि यही थियो कि मेरो शरीरमा पनि यो दूषित जीन बीआरसीए वन थियो, जुन मलाई मेरी आमाबाट प्राप्त भएको थियो र त्यसका कारण स्तन अनि गर्भाशयमा क्यान्सर हुने खतरा बढेको थियो । 

जोलीका चिकित्सकहरूका अनुसार उनलाई स्तन क्यान्सर हुने खतरा ८७ प्रतिशत थियो, जसको तुलनामा गर्भाशयको क्यान्सरको खतरा अपेक्षाकृत कम थियो । त्यसलाई चिकित्सकहरूले ५० प्रतिशत नै बताएका थिए । स्तन क्यान्सर प्राय: धेरै कम महिलालाई वंशानुगत दूषित जीनका कारण हुन्छ तर दूषित जीन बीआरसीए वन भएका महिलाहरूलाई क्यान्सर हुने खतरा ६५ प्रतिशतसम्म हुन्छ । 

जोलीले भनेकी छिन्–जब मैले आफ्नो शरीरको यो वास्तविकताका बारेमा जानकारी पाएँ, तब मैले आफू र आफ्ना सन्तानका लागि सक्रिय कदम उठाउने निर्णय गरें । म आफ्नी आमा र पछि उनकी बहिनीले जस्तो आफ्ना सन्तानलाई संसारमा एक्लै छोडेर बिदा लिन चाहन्थें । त्यसैले मैले आफ्ना दुवै स्तन अप्रेसन गरी निकाल्ने निर्णय गरेकी थिएँ । म पहिले आफ्ना स्तन निकाल्न चाहन्थें, कारण गर्भाशयको क्यान्सर हुने खतरा अपेक्षाकृत कम थियो । 

स्तनको अप्रेसन र त्यसपछि तिनको पुनर्निर्माणको सर्जरीमा तीन महिना लाग्यो, जुन वर्ष २०१७को २७ अप्रिलमा पूरा भयो । त्यतिबेला मैले यस विषयमा कसैलाई सुइँको दिइन तर आज संसारसामु यी सबै कुरा व्यक्त गर्दा गर्वको अनुभूति गरिरहेकी छु र यसको उद्देश्य एउटै छ, त्यो हो संसारभरिका महिलाहरूले मेरो अनुभवबाट लाभ उठाउन सकून् । क्यान्सर आज पनि एउटा त्यस्तो शब्द हो जसले सबैको मनमस्तिष्कमा डर सिर्जना गर्छ र प्राय:  यही डरका अगाडि धेरैले आफूलाई लाचार महसुस गर्छन् । म सबैलाई बताउन चाहन्छु कि आज यो खतरा, यो डरलाई हटाउन, भगाउन सकिन्छ र रगत परीक्षणबाट थाहा पाउन सकिन्छ कि तपाईंमा स्तन र गर्भाशयको क्यान्सरको खतरा कति छ अनि सोहीअनुरूप 

यसबाट छुटकारा प्राप्त गर्न आवश्यक कदम चाल्न सकिन्छ । 

जोली केही भावुक हुँदै उल्लेख गर्छिन्–म सबै महिलालाई बताउन चाहन्छु कि दुवै स्तनको अप्रेसन गराउने निर्णय लिन सहज थिएन, तर म आफ्नो यो निर्णयप्रति खुसी छु । यो अप्रेसनपछि अब ममा स्तन क्यान्सरको खतरा ८७ प्रतिशत घटेर ५ प्रतिशतभन्दा पनि कम हुन पुगेको छ । अब म आफ्ना सन्तानलाई भन्न सक्छु–‘तिमीहरूले यो कुराबाट डराउनु आवश्यक छैन, छातीमा अप्रेसनको केही निशानबाहेक अरु केही देख्न पाइँदैन । अब मेरा सन्तान असहज रूपमा आफ्नी आमालाई गुमाउनुपर्ने खतराबाट मुक्त भए ।’ उनीहरूलाई थाहा छ म तिनलाई औधी माया गर्छु र बढीभन्दा बढी समय उनीहरूको साथमा रहने प्रयत्न गर्नेछु । । 

प्राय: महिलाहरू स्तन निकालेपछि महिलाका रूपमा रहन सकिँदैन र यौन जीवनसमेत प्रभावित हुन्छ भन्ने सोच्छन् । यस विषयमा जोली भन्छिन्–यो अप्रेसनपछि मेरो महिलापनमा कुनै कमी आएको छैन । यो अप्रेसनपछि मैले आफूलाई अझ बढी सशक्त महसुस गरेकी छु । 

जोलीको यो क्रान्तिकारी निर्णयमा उनका साथी एवं हलिउड अभिनेता ब्राड पिट पूर्णरूपले उनका साथमा रहे । जोलीले पिटप्रति आभार व्यक्त गर्दै भनेकी छिन्–त्यो मेरा लागि खुसीको कुरा हो । मैले ब्राड पिटजस्ता स्नेही तथा साथ दिने मित्र पाएँ । तपाईंकी प्रेमिका वा श्रीमतीले यस प्रकारको अप्रेसन गराउँछिन् भने यो बुझ्नुपर्छ यो संकटको स्थितिमा तपाईं उनको ठूलो सहयोगी साबित हुन सक्नुहुन्छ । ब्राड मेरो साथमा अस्पतालमै बसे र यो अप्रेसनका बेला हामी दुईजना सँगै हाँसेर समय बिताउँथ्यौं । 

स्वयं ब्राड पिट जोलीको यो निर्णयलाई अत्यन्त साहसिक कदम मान्छन् । पिट भन्छन्–म यो निर्णयको पहिलो साक्षी हुँ र मलाई लाग्छ जोली र उनीजस्तै अरु महिलाहरूले लिएको आफ्नो स्तन निकाल्ने निर्णय अत्यन्त साहसिक कदम हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष स्तन क्यान्सरका कारण ४ लाख ५८ हजार महिलाले आफ्नो ज्यान गुमाउँछन् । अत: यो दृष्टिबाट जोलीले विश्वका महिलाहरूसमक्ष एउटा साहसिक उदाहरण प्रस्ततु गर्नु आफैमा एउटा महत्वपूर्ण निर्णय हो र यसबाट संसारभरका महिलामा क्यान्सरविरुद्धको लडाइँमा एउटा नयाँ जागरण सिर्जना गरेको छ ।

 

 Image