Successfully Copied

क्यान्सर के हो ?

क्यान्सरलाई नेपालीमा अर्बुद रोग भनिन्छ । जसरी एउटा घर असंख्य इँटा मिलेर बनेको हुन्छ, त्यसरी नै मानिसको शरीर असंख्य कोशिका मिलेर बनेको हुन्छ । ती कोशिकामा कुनै कारणवश खराबी उत्पन्न भए त्यसले क्यान्सरको रूप लिन सक्छ ।

डा.सुदीप श्रेष्ठ, कार्यकारिणी अध्यक्ष

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

क्यान्सरलाई नेपालीमा अर्बुद रोग भनिन्छ । जसरी एउटा घर असंख्य इँटा मिलेर बनेको हुन्छ, त्यसरी नै मानिसको शरीर असंख्य कोशिका मिलेर बनेको हुन्छ । ती कोशिकामा कुनै कारणवश खराबी उत्पन्न भए त्यसले क्यान्सरको रूप लिन सक्छ । क्यान्सरले ग्रस्त कोशिकामा यस्तो गुण उत्पन्न हुन्छ, जसले गर्दा अरू धेरै क्यान्सरग्रस्त कोशिका जन्मन्छन् । यसबाट त्यो स्थानमा मासुको डल्लोको विकास हुन्छ । त्यस्तो डल्लोलाई ट्युमर भनिन्छ । क्यान्सरको सबैभन्दा खतरनाक पक्ष यो एकै ठाउँमा सीमित नभई शरीरका विभिन्न भागमा फैलनु हो । समयमा उपचार नभए बिस्तारै पूरा शरीरमा क्यान्सर फैलन्छ र बिरामीको मृत्यु हुन्छ, यद्यपि सुरुकै अवस्थामा उपचार भए यो पूर्णरूपमा निको पनि हुन्छ ।

कुन–कुन अड्डमा क्यान्सर हुनसक्छ ?

क्यान्सर शरीरको कुनै पनि अङ्गमा हुनसक्छ । टाउकोदेखि गोडासम्म जहाँ पनि । विश्वव्यापी रूपमा हेर्दा पुरुषको हकमा फोक्सो तथा महिलाको हकमा पाठेघर र स्तनको क्यान्सर सबैभन्दा बढी पाइन्छ ।

कुन उमेर समूहमा क्यान्सरको जोखिम बढी हुन्छ ?

भर्खर जन्मिएको बालकदेखि वृद्धावस्थासम्म जसलाई पनि हुनसक्छ । तैपनि ३० वर्षमाथिका व्यक्तिलाई बढी हुन्छ ।

के क्यान्सर वंशानुगत रोग हो ?

करिब ५ देखि १० प्रतिशत केसमा वंशानुगत नै क्यान्सरको कारण भएको पाइन्छ ।

कुन चरणमा उपचार असम्भव हुन्छ ?

क्यान्सरका चार चरण हुन्छन् । पहिलो र दोस्रो चरणमा क्यान्सरको उपचार सम्भव हुन्छ । तेस्रो चरणमा पुगेपछि उपचार गर्न कठिन हुन्छ, यद्यपि असम्भव हुँदैन । चौथो चरणमा भने असम्भव नै हुन्छ । त्यसपछि आयु लम्ब्याउने काम मात्र हुन सक्छ ।

कुन अड्डको क्यान्सर सबैभन्दा जटिल वा खतरनाक मानिन्छ ?

रगतको क्यान्सर वा मस्तिष्कको क्यान्सर जटिल र खतरनाक हुन्छ । त्यस्तो क्यान्सर पनि प्रारम्भिक अवस्थामा पत्ता लाग्यो भने निको हुन सक्छ ।

क्यान्सरका प्रारम्भिक लक्षण के–के हुन् ?

क्यान्सरका लक्षण अङ्गअनुसार फरक–फरक हुन्छन् । आफ्नो शरीरमा लागेको कुनै पनि रोगको उपचार गर्दा एक महिनाभन्दा लामो समयसम्म बिसेक भएन भने सचेत हुनुपर्छ ।

फोक्सोको क्यान्सर हुँदा खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, तौल घट्ने, श्वासप्रश्वास बढ्ने आदि लक्षण देखिन्छन् । पाठेघरको मुखमा क्यान्सर हुँदा सुरुमा सानो घाउ देखापर्छ । श्रीमान्सँग शारीरिक संसर्ग गर्दा रगत बग्न सक्छ । यसैगरी सेतो र गन्हाउने पानी बग्ने, ढाड दुख्ने, तल्लो पेट दुख्ने जस्ता लक्षण देखापर्छन् । महिनाबारी रोकिएका प्रौढ महिलाको हकमा पाठेघरबाट रगत बग्यो भने क्यान्सरको आशंका गर्न सकिन्छ । त्यसैगरी महिलालाई स्तन क्यान्सर हुँदा सुरुमा सानो गिर्खा देखिन्छ । चाँडै उपचार भएन भने पछि स्तनभन्दा बाहिर फैलन्छ । मुखको क्यान्सर हुँदा मुखभित्र जिभ्रो, गिजा वा गालाको भित्री भागमा सानो घाउ देखिन्छ । सुरुकै अवस्थामा उपचार भएन भने यो बढ्दै जान्छ र मुख बाउन समेत नसकिने हुन्छ । यदि लामो समयसम्म स्वर भासिएको छ भने भोकल कर्ड अर्थात् घाँटीमा रहेको आवाज निकाल्ने जालीको क्यान्सर भएको हुनसक्छ । यो कुरा छामेर थाहा पाउन सकिँदैन । घाँटी दुख्ने र ठोस खानेकुरा निल्न नसकिने भयो भने पनि क्यान्सरको आशंका गर्न सकिन्छ । पेटभित्र आमाशयको क्यान्सर हुँदा ग्यास्ट्रिक भएजस्तै खाना खाएपछि पेट पोल्ने, पेट ढुस्स हुने आदि लक्षण देखिन्छन् । शरीरको तौल घट्दै जाने तथा दिसामा रगत देखिने, रगत बान्ता हुने आदि लक्षणले पनि क्यान्सरको संकेत गर्छन् । यसको डाइग्नोसिस गर्न इन्डोस्कोपी गराउनुपर्छ । पेटभित्र पाइप छिराएर घाउको बायोप्सी गर्नुपर्छ । पेटभित्र ठूलो आन्द्राको क्यान्सर भए दिसामा रगत देखिने र कब्जियत हुने लक्षण देखापर्छ । मलद्वारको क्यान्सर हुँदा पनि दिसामा रगत देखिन्छ । कलेजो वा प्यांक्रियाजको क्यान्सर जन्डिसका कारणले हुनसक्छ । त्यसैले जन्डिस हुँदा चिकित्सकसँग परामर्श नगरी जथाभावी औषधि खानुहुँदैन । आयुर्वेदिक औषधि पनि त्यत्तिकै खानुहुँदैन । छालामा क्यान्सर हुँदा घाउ देखिन्छ भने कोठीको आकार र रंगमा परिवर्तन आउँछ । रगतको क्यान्सर हुँदा साँझपख ज्वरो आउने, तौल घट्ने र खाना नरुच्ने लक्षण देखिन्छन् । नाकबाट रगत आउनुका साथै छालामा नीलो धब्बा देखापर्न सक्छ । हड्डीको क्यान्सर हुँदा जोर्नी दुख्छन् र बिस्तारै सुन्निन थाल्छन् ।

क्यान्सरमा खानपिन र जीवनशैलीको कति भूमिका हुन्छ ?

एकदमै धेरै हुन्छ । झन्डै एकतिहाइ क्यान्सर खानपिन एवं रहनसहनको गडबडीले भएको पाइन्छ ।

क्यान्सरबाट जोगिन के खानुहुँदैन र  के खानुपर्छ ?

अत्यधिक मासु खानु हुँदैन । त्यसमा पनि रातो मासु, बढी बोसोयुक्त मासु तथा पोलेको मासुबाट सकभर जोगिनुपर्छ । नुन बढी खानु हुँदैन । यस्तै पुरानो र बासी एवं ढुसी परेको खाना पनि खानु हुँदैन । रसायन मिसाइएका खानेकुराबाट पनि जोगिनुपर्छ । मद्यपान एवं धूम्रपानको सेवनमा नियन्त्रण आवश्यक हुन्छ । क्यान्सरबाट जोगिन फलफूल तथा सागपात प्रशस्त मात्रामा खानुपर्छ । शारीरिक अभ्यास गरेर तौल बढ्नबाट रोक्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

एकपटक उपचार भैसकेको क्यान्सर फेरि बल्झिन सक्छ ?

क्यान्सर बल्झिन सक्ने खतरा धेरै हुन्छ । त्यही भएर उपचार सकिएपछि पनि बिरामीले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ । समयसँगै क्यान्सर बल्झिने खतरा कम 

हुँदै जान्छ ।

नेपालमा क्यान्सरको उपचार सम्भव छ ?

सम्भव छ । अपवादबाहेक बाहिरी देशमा जस्तै उपचार नेपालमा पनि उपलब्ध छ । उपकरणको अभावमा कुनै–कुनै अवस्थामा क्यान्सर निदान गर्न कठिन हुन्छ । त्यस्तो समयमा हामी बिरामीलाई अथवा उसको घाउको नमूना परीक्षणका लागि बाहिर पठाउँछौं । यसैगरी कहिलेकाहीँ अत्याधुनिक मेसिनको कमीले जटिल खालका केस बाहिर रिफर गर्ने गरिएको छ ।

क्यान्सरको उपचारका लागि प्राय:जसो नेपाली किन विदेश जान्छन् ?

यसका विभिन्न कारण छन् । कतिपयलाई नेपालमा क्यान्सरको उपचार हुन्छ भन्ने कुरा थाहा छैन । जनकारी हुनेमध्ये पनि धेरैलाई नेपाली अस्पताल र चिकित्सकप्रति भरोसा छैन । कोही अरुको लहैलहैमा विदेश जान्छन् । परिवार, आफन्त वा साथीभाइको जोडमा पनि बिरामीहरू विदेश पुग्छन् । एकाध केसमा भने चिकित्सकले नै विदेश जान सिफारिस गर्छन् ।

 Image