Successfully Copied

यो मेरो पुनर्जन्म नै हो

दुई–दुईपटक क्यान्सरलाई जितेकी शाक्य आफूले दोस्रो जन्म पाएको अनुभव गर्छिन् । बिहान योग र ओम उच्चारण गरी दिनको सुरुवात गर्ने संगीता अब क्यान्सरविरुद्ध जनचेतना फैलाउने अभियानमा सक्रिय हुन चाहन्छिन् । 

संगीता शाक्य थापा, गायिका

४५ वर्षअघिदेखि गायनमा सक्रिय नाम हो–संगीता शाक्य । बाल्यकालदेखि नै गीत रेकर्ड गराउँदै आएकी संगीतासँग बाल्यकालमा रेडियो नेपालमा थुप्रै बालगीत गाएको अनुभव छ । भजन, आधुनिक गीत तथा नेपाल भाषाका गीतहरूमा सक्रिय शाक्यलाई क्यान्सरले च्याप्यो । सुरुमा उनले विश्वासै गरेकी थिइनन्, मलाई कसरी क्यान्सर हुनसक्छ ? भनेर, तर रोगले जसलाई पनि समाउन सक्छ, त्यो कुरा भने उनले बुझेकी थिइनन् । टन्सिलले सताएकाले उनले धेरै डाक्टरलाई देखाएर औषधि खाइसकेकी थिइन् । लामो समयसम्म पनि टन्सिल कम नभएकाले पुन देखाउँदा, एकपटक बायोस्पी गरेर हेर्नुपर्ने सल्लाह दिइयो । डाक्टरहरूले शंका गरेजस्तै उनलाई हचकिङ लिम्फोमा क्यान्सर भएको रहेछ । क्यान्सर भन्नासाथ परिवारका सबै डराए तर उनलाई केही हुँदैन, निको हुन्छ विश्वास थियो । उनको यो आत्मविश्वासले गर्दा परिवारका सदस्यहरू अझ चिन्तित हुन्थे । 

सर्वाङ्ग अस्पतालमा डा. सुदीपले उनलाई केमो दिए । उनले सुनेकी थिइन्, केमो दिँदा सहन निकै कठिन हुन्छ तर उनी केमो दिँदा हेडफोन लगाई संगीतमा डुब्थिन् । पटक्कै दुख्दैनथ्यो, डाक्टरहरू अचम्मित हुन्थे । अलिअलि दुखेजस्तो हुँदा उनी आत्तिइनन् । मनमा यो औषधिले मेरो शरीरमा काम गरिरहेको छ, अब निको हुन्छ भन्ने विश्वास थियो । नर्सहरू ज्वरो आएको छ कि भनेर जाँच्न आउँथे, ज्वरो हुँदैनथ्यो । संगीता भन्छिन्–‘मेरो उज्यालो अनुहार देखेर डाक्टर नै तीन छक्क पर्थे ।’ 

साढे ६ वर्षअघि उनलाई ६ वटा केमो दिएपछि क्यान्सर निको भयो । उनी सक्रिय भइन्, पहिलोपल्ट एकेडेमीमा एकल साँझ पनि गरिन् । संगीता दंग थिइन्, मैले क्यान्सरलाई जितें भनेर तर ५ वर्षपछि एकेडेमीमा गीत गाउँदा–गाउँदै घाँटी दुखेर आयो, त्यतिबेला जसोतसो कार्यक्रम सम्पन्न गरिन् । कार्यक्रम सकिएलगत्तै उनलाई भारत लगियो । त्यतिबेला संगीतालाई घाँटी र पाठेघरमा एकै पटक क्यान्सर देखियो तर त्यही घाँटीको क्यान्सर पाठेघरमा फैलिएको हुँदा एउटै केमोले काम गर्‍यो । केमो दिएर ९९ प्रतिशत ठीक भयो भनेर पेट स्क्यान गराउँदा फेरि ९–१० वटा मासुका डल्ला देखिए । केमो दिँदादिँदै फेरि क्यान्सर आयो भनेपछि सबै तर्सिए । उनले राजीव गान्धी क्यान्सर हस्पिटलमा डा. दिनेश भुटानीसँग उपचार गराइरहेकी थिइन् ।

 त्यसपछि धम्बावती गुरुमाको उपचार गरेका म्याक्स हस्पिटलका डा. रंगरावले एउटा फमुर्ला बनाए । डा. रावले भने– संगीतालाई नयाँ चीज भैरहेको छ त्यसैले एउटा फर्मुला प्रयोग गरेर हेरौं । त्यही फमुर्लाअनुसार राजीव गान्धीमा डा. दिनेश भुटानीले उपचार गरे । जुन नेपालमा अहिलेसम्म सम्भव छैन । डा. भुटानीले संगीतालाई ननहच्किङ (सम्भावना धेरै कम भएको) लिम्फोमा क्यान्सर भएकाले रोग फेरि नदोहोरियोस् भनेर स्टिम सेल्स ट्रान्सप्लान्टेसन गराए । 

यसमा अटो लोगोस्बाट आफ्नै शरीरको मासु ट्रान्सप्लानेट गरिन्छ । त्यतिबेला संगीतालाई ४ दिनमा ४ वटा केमो दिनुपरेको थियो । त्यस क्रममा उनलाई एउटै कोठामा २४ दिन राखियो । क्यान्सर सेल जिरो गरेपछि मात्र उनलाई आफ्नै सेल दिइयो । संगीतालाई दोस्रो पटक क्यान्सर भएको पनि डेढ वर्ष बितिसकेको छ । ६ महिनाअघि छोरी भेट्न अमेरिका गएकी संगीताले बाल्टिमोरको कार्यक्रममा गीतसमेत गाइन् । घाँटीको बाहिरपट्टि क्यान्सर भएकाले उनको भोकल कडमा केही समस्या छैन । उनी समय–समयमा आफ्नो स्वरमा केही परिवर्तन आयो कि भनी आफ्नै आवाज रेकर्ड गरेर सुन्छिन् । 

दुई–दुईपटक क्यान्सरलाई जितेकी शाक्य आफूले दोस्रो जन्म पाएको अनुभव गर्छिन् । बिहान योग र ओम उच्चारण गरी दिनको सुरुवात गर्ने संगीता अब क्यान्सरविरुद्ध जनचेतना फैलाउने अभियानमा सक्रिय हुन चाहन्छिन् । 

संगीताको अनुभवले भन्छ :

१.    वर्षमा १ पटक पूरै शरीर जाँच गराउने ।

२.    क्यान्सर लागे पनि डराउनु हुँदैन, जति डरायो त्यति नै हानि हुन्छ ।

३.    आत्मबल बलियो बनाउनुपर्छ ।

४.    डाक्टरप्रति विश्वास गर्नुपर्छ, धेरै शंका गर्नु हुँदैन ।

५.    जुन पेसामा लागेको भए पनि त्यसलाई निरन्तरता दिनुपर्छ ।

६.    मुख्यत : मस्तिष्कलाई व्यस्त राख्नुपर्छ । मनमा धेरै कुरा खेलाउनु हुँदैन । 

 Image