Successfully Copied

हङकङमा महिला नेतृत्व

नेपाल र हङकङका युनिभर्सिटीहरूबाट उच्चशिक्षा हासिल गरेकी अरुणाको प्रगति लोभलाग्दो छ । हँसिलो अनुहार, हक्की स्वभाव तथा सहयोगी भावनाका कारण हङकङको नेपाली समुदायमा उनको बेग्लै परिचय छ । इन्फ्लाइट सर्भिस म्यानेजरका रूपमा ड्रागन एयरलाइन्समा कार्यरत अरुणा हङकङ सरकारसँग सम्बन्धित करिब एक दर्जन संघसंस्थामा

महिलालाई समान अधिकार भन्दै बर्सेनि आन्दोलन र विभिन्न प्रकारका कार्यक्रमको घोषणा गरिन्छ । ग्रामीण एवं दूरदराजका महिलाहरूलाई ती कार्यक्रमहरूले आकर्षित गर्न सकेका छन् त ? संचार माध्यममा दिनहुँ महिला हिंसा, अत्याचार तथा शोषणका समाचार आइरहन्छन् । बालिका बलात्कार तथा हत्याजस्ता जघन्य घटनाले हामी सबैलाई सोचमग्न बनाउँछन् । महिला हकहित र अधिकारका लागि सयौं संघसंस्था खुलेका छन् भने महिलाहरूकै हक– अधिकारका लागि आवाज उठाउन दिलोज्यान दिएर लागिपरिरहेका छन् अधिकारकर्मीहरू । दशकौंको यही प्रयासको परिणाम हुनसक्छ, देशको सर्वोच्च निकाय राष्ट्रपतिदेखि लिएर अन्य महत्वपूर्ण पदमा आसीन छन् महिलाहरू । 

अहिले ठूलो संख्यामा नेपाली महिलाहरू विदेशमा छन् । विदेशमा नेपाली महिलाहरूले भोग्नुपरेका पीडा बेलाबेला समाचारका हेडलाइन बन्छन् । मुलुकमा निरन्तर महिला अधिकार तथा समानताको मुद्दा उठिरहँदा, समुद्रपारिको मुलुकमा आएर पनि नेपाली समाजको विकासमा अग्रणी भूमिकाका साथै विदेशी भूमि र सरोकारवालाहरूलाई समेत नेपाली जाति र समुदायको उत्कृष्ट परिचय दिन सफल छन् हङकङेली नेपाली महिलाहरू । सम्मान, रोजगारीको समान अवसर, कानुन आदिले महिलाहरूको अवस्था बलियो बनाएको छ हङकङमा । व्यस्त दैनिकीका बीच पनि समुदायका लागि अनुकरणीय काम गर्दै आफूलाई लिडरका रूपमा उभ्याएका छन् यहाँका महिलाहरूले । महिला हित र नियम–कानुन निर्माणमा समेत उपस्थिति जनाउने क्षमता राख्ने नेपाली महिलाहरूले अहिले यहाँ दर्जनभन्दा बढी संघसंस्थाको नेतृत्व सम्हालिरहेका छन् ।

अरुणा गुरुङ, इनफ्लाइट सर्भिस म्यानेजर (ड्रागन एयरलाइन्स, हङकङ), हङकङ सरकार महिला आयोग सदस्य 

बाबा मेजर दीपक गुरुङ तथा आमा आशमाया गुरुङको कोखबाट बिट्रिस कोलनी मलेसियामा जन्मिएकी अरुणा गुरुङको पुख्र्यौली थलो पोखरा, कास्की हो । नेपाल र हङकङका युनिभर्सिटीहरूबाट उच्चशिक्षा हासिल गरेकी अरुणाको प्रगति लोभलाग्दो छ । हँसिलो अनुहार, हक्की स्वभाव तथा सहयोगी भावनाका कारण हङकङको नेपाली समुदायमा उनको बेग्लै परिचय छ । इन्फ्लाइट सर्भिस म्यानेजरका रूपमा ड्रागन एयरलाइन्समा कार्यरत अरुणा हङकङ सरकारसँग सम्बन्धित करिब एक दर्जन संघसंस्थामा आबद्ध छिन् । हङकङ महिला आयोगको एडभाइजरी बोर्डको सदस्यसमेत रहेकी गुरुङले हङकङ सरकारको होम अफियर्स विभागअन्र्तगत पब्लिक अफेयर फोरम सदस्य, यातायात विभागअन्तर्गत व्यक्तिगत वाहन रजिस्ट्रेशन निर्धारण समिति सदस्य, हङकङ सरकार गृह मन्त्रालयअन्तर्गत सामाजिक सद्भाव विकास तथा शान्ति स्थापना समिति सदस्य, हङकङ महिला विभागअन्तर्गत महिलाश्रम कल्याण विभाग समिति सदस्य, हङकङ सरकार गृह मन्त्रालयअन्तर्गत याउचिमोङ दक्षिण एरिया कमिटी सदस्य, हङकङ सरकार गृह मन्त्रालयअन्तर्गत याउमातेई काइफोङ कल्याणकारी सेवा विभाग सदस्य, ज्युविन फाउन्डेसन समुदाय कनेक्टर समिति सदस्य, पोखरा चेम्बर अफ कमर्स रिप्रिजेन्टर आदि क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाइरहेकी छिन् । 

सामाजिक क्षेत्रमा अभूतपूर्व योगदान पुर्‍याएको भन्दै हङकङ सरकारले अरुणालाई चिफएक्जुकेटिभी कमेन्डेसन अवार्डले समेत विभूषित गरिसकेको छ । २० वर्षअघि कुलप्रसाद गुरुङसँग वैवाहिक सम्बन्धमा गाँसिएकी अरुणाका दुई छोरा छन् । शिक्षा, धैर्य एवं सम्बन्धलाई अपरिहार्य मान्ने अरुणा हङकङमा नेपाल र नेपालीको पहिचानका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्छिन् । 

टीका गुरुङ, एनआरएनए, हङकङ, अध्यक्ष 

गैरआवासीय नेपाली संगठन (एनआरएनए) हङकङकी अध्यक्ष टीका गुरुङ (राधिका) नेपालीहरूले आयोजना गरेका हरेक कार्यक्रममा पुगेकै हुन्छिन् । विदेशी भूमिमा गैरआवासीयहरूको माग र मुद्दालाई आत्मसात् गर्दै कसरी मुलुकको विकास र परिवर्तनसँग साझेदारी गर्न सकिन्छ भन्ने ध्याउन्न र त्यससँग सम्बन्धित काममै उनको दिनचर्या बित्छ । 

म्याग्दी जिल्लाको बेनीबजारबाट कर्म गर्नकै लागि हङकङ आएकी टीकाले आफ्नै नेतृत्वमा पहिलो पटक विवाहित महिलाहरूका लागि मिसेज हङकङ–२०१८ को आयोजना गरेकी थिइन् । विवाह गरेकै कारणले आफ्नो प्रतिभालाई बाहिर ल्याउन हिच्किचाइरहेका महिलाहरूलाई मिसेज हङकङले उत्कृष्ट मञ्च प्रदान गर्‍यो । 

भूपु बिट्रिस आर्मी तथा गोर्खा कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीका निर्देशक प्रकाश पुनसँग वैवाहिक जीवन बिताइरहेकी टीका हङकङेली नेपाली समाजकी रोल मोडल मानिन्छिन् । गुरुङ परिवार तथा व्यवसायका अतिरिक्त करिब एक दर्जन संघसंस्थामा आबद्ध छिन् । यही सामाजिक कर्मका कारण उनी हङकङ सरकारबाट प्रदान गरिने उत्कृष्ट चिफएक्जुकेटिभी कमेन्डेसन अवार्डले समेत सम्मानित भएकी छिन् । 

‘अब त समाज र यहाँका हरेक गतिविधि मेरो दैनिकी भैसकेको छ’ टीका भन्छिन्–मेरो एक मात्र चाहना विदेशी भूमिमा उदाहरणीय काम गरेर देखाउने हो ताकि जन्मभूमिले हामीप्रति गर्व गरोस् । 

रचना प्रधान, नेवार समाज, हङकङ, अध्यक्ष 

रचना प्रधान हङकङ आएको २५ वर्ष भयो । नेवार समाज हङकङको अध्यक्षको कार्यभार बहन गरिरहेकी रचना त्यसका अतिरिक्त आधा दर्जन सामाजिक संस्थामा आबद्ध छिन् । हङकङको व्यस्त क्याफे डि कोरलमाइटालियनमा सेफको जिम्मेवारीसँगै अनेकौं सामाजिक क्रियाकलापमा सहभागी हुन त्यति सहज छैन यद्यपि प्रधान भन्छिन्–सेवाभाव मनबाटै आउनुपर्ने रहेछ, समय आफै व्यवस्थापन हुन्छ । सांगीतिक वातावरण भएको रचनाको परिवारमा श्रीमान् गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ, २ छोरा तथा १ छोरी छन् । सुमधुर स्वर तथा आकर्षक व्यक्तित्वका कारण गायक नागेन्द्रको डाइहार्ट फ्यान भएकी रचनाले अन्तत: उनीसँगै लगनगाँठो कसिन् । ‘म जसरी उहाँको गीतमा मन्त्रमुग्ध हुन्थें, आज पनि उहाँको आवाज मलाई उत्तिकै प्रिय लाग्छ । उहाँकै साथ, सहयोग एवं हौसलाले यहाँसम्म आइपुगेकी छु’ फरासिली रचना बताउँछिन् । हङकङ नेपाली समाजका हरेक कार्यक्रममा रचनाको सहभागिता अनिवार्य हुन्छ । उनी आबद्ध नेवार समाजले महावीर पुन आविष्कार केन्द्रलाई आर्थिक सहयोग, भूकम्प पीडितहरूका लागि राहत, कलेजो पीडित सरिता महर्जनका लागि आर्थिक सहयोग आदिमा सहभागिता जनाइसकेको छ । 

रिता गरुङ, अध्यक्ष, 

हङकङ नेपाली महासंघ 

हङकङको नेपाली समाजमा आइरन लेडीका रूपमा परिचित छिन्–रिता गुरुङ । ३३ वटा नेपाली संस्थाको छाता संगठन हङकङ नेपाली महासंघकी अध्यक्ष, नेपाल क्लब हङकङ अध्यक्ष आदिको जिम्मेवारी छ उनको काँधमा । सन् १९७२ मा हङकङमै जन्मिएकी रिताको पुख्र्यौली थलो पोखरा हो । ब्रिटिस आर्मी बुवा रामकाजी गुरुङ तथा आमा मनकुमारी गुरुङकी जेठी छोरी रिता आफ्नो अधिकांश समय नेपाली समाजका विभिन्न गतिविधिमा बिताउँछिन् । हङकङ सरकारको गृह मामिला विभागले प्रायोजन गरेको कम्युनिटी सपोर्ट टिम फर नेप्लिज कम्युनिटी (सिएसटिएन) अन्तर्गतका भाषा, शिक्षा, स्वास्थ्य आदि कार्यक्रमको आयोजना तथा बहस–पैरवीमै बित्छ उनको समय । 

हक्की स्वभावकी रिताले सुरुवाती दिनदेखि नै हङकङमा नेपाली जातिको स्तर वृद्धि तथा विकासका लागि विभिन्न जातीय संघसंस्थाहरूमा सहभागिता जनाउन थालेकी हुन् । नेपाली अनलाइन पत्रकारितामा समेत योगदान पुर्‍याइरहेकी रिता हङकङ याउचिमोङ डिस्ट्रिक फाइट क्राइम कमिटीकी सह–अध्यक्ष तथा हङकङ याउचिमोङ प्रमोसनल रेसियल हारमोनी कमिटीकी सदस्यसमेत हुन् । हङकङ सरकारले सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान गरेबापत प्रत्येक वर्ष प्रदान गर्ने चिफएक्जुकेटिभी कमेन्डेसन अवार्डबाट विभूषित रिताले हङकङ सरकारसमक्ष अल्पसंख्यक नेपालीहरूको मुद्दा तथा चासोलाई प्रतिनिधित्व गर्छिन् । 

विदेशमा बस्ने भएपछि यहाँको समुदाय तथा संस्कृतिमा कसरी आफ्ना मूल्य–मान्यताहरूलाई जोगाउँदै स्वाभिमानी जीवन बिताउन सकिन्छ ? भन्ने नै हाम्रो प्रमुख मुद्दा हो । हाम्रा हरेक कामले नेपालको प्रतिनिधित्व गर्छन्, त्यसैले पनि म आफ्नो तर्फबाट पाएको जिम्मेवारी र अवसरप्रति न्याय गर्न चाहन्छु–रिता भन्छिन् । 

 Image