Successfully Copied

लड्न सक्नुपर्छ

नोबेल शान्ति पुरस्कार पाउने उनीहरू दुवै जघन्य सामाजिक अपराध मानिने बलात्कारविरुद्ध लडिरहेका योद्धा हुन् । पछिल्ला दिनमा बलात्कार एउटा महामारीका रूपमा फैलन थालेको छ । यो महामारीको चपेटामा वृद्धवृद्धा, बालबालिकादेखि युवा महिलाहरू सबै पर्न थालेका छन् ।

युद्ध र सशस्त्र द्वन्द्वका बेला हुने बलात्कारविरुद्ध अभियान चलाएका दुई मानव अधिकारवादी नादिया मुराद र डेनिस मेक्वेगलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । उनीहरूले सेक्सुअल भ्वाइलेन्सलाई युद्ध र सशस्त्र द्वन्द्वमा हतियारका रूपमा प्रयोग गर्ने कार्यविरुद्ध महत्वपूर्ण योगदान दिएकाले नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो ।

नोबेल शान्ति पुरस्कार विजेता मेक्वेग कंगोका स्त्रीरोग विशेषज्ञ हुन्, जसले हजारौं बलात्कृत महिलाको उपचार गरिसकेका छन् । मुरादको कथा अलि भिन्न छ । उनी इराकी महिला हुन् । जो स्वयंले बलात्कारको पीडा भोगिसकेकी छिन् । २५ वर्षीया मुरादलाई सन् २०१४ मा लडाकु संगठन स्लामिक स्टेटले उनकै गाउँबाट अपहरण गरी तीन महिना बन्धक बनाएर यौनदासीका रुपमा प्रयोग गरिएको थियो । इराकको सिन्जान नजिकैको कोच गाउँ निवासी मुराद अपहरणमा पर्नुअघि ६ कक्षामा पढ्थिन् । तीन महिना बन्धक बनेर बलात्कारको पीडा खेपेकी मुराद उद्धार गरिएपछि अहिले संसारभर आफ्नो कथा सुनाउँदै र बलात्कारविरुद्ध जागरण फैलाउँदै हिडिरहेकी छिन् । त्यही जागरण फैलाएबापत उनलाई नोबेल पुरस्कार प्रदान गरिएको हो ।

नोबेल शान्ति पुरस्कार पाउने उनीहरू दुवै जघन्य सामाजिक अपराध मानिने बलात्कारविरुद्ध लडिरहेका योद्धा हुन् । पछिल्ला दिनमा बलात्कार एउटा महामारीका रूपमा फैलन थालेको छ । यो महामारीको चपेटामा वृद्धवृद्धा, बालबालिकादेखि युवा महिलाहरू सबै पर्न थालेका छन् । त्यसैले बलात्कारविरुद्धको लडाइँका योद्धाका रूपमा मुदार र मेक्वेग विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित भए ।

यसबाटै थाहा हुन्छ अब बलात्कारविरुद्धको सामाजिक लडाइँ संसारको ठूलो लडाइँमध्येको एक भैसकेको छ । पछिल्ला दिनमा संसारभरका समाजमा बलात्कारका कहालीलाग्दा घटना बढिरहेका छन् । बलात्कारजस्तो जघन्य सामाजिक अपराधका कारण कयौं महिलाको जीवन तहन–नहस भएको छ, धेरै महिलाको हत्या भएको छ भने कतिले बलात्कारपछि समाजसँग लड्न नसकेर आत्महत्या गरेका छन् । सामान्य मानिसदेखि नाम कहलिएका सेलिब्रेटीहरूसमेत बलात्कारको पीडा भोग्न बाध्य छन् । बलात्कारका घटनाहरू धेरैजसो आफन्त तथा नजिकका मानिसहरूबाट बढी भएको पाइन्छ ।

बलात्कार पीडित साहसी सेलिब्रेटी

बलात्कारका घटना नेपालमा मात्र होइन विश्वमै घटिरहेको पाइन्छ । एक तथ्यांकअनुसार सबैभन्दा विकसित देश भनिएको अमेरिकामा मात्र २ लाख ३७ हजारभन्दा बढी बलात्कार तथा यौन दुव्र्यवहारका पीडित छन् । अमेरिकामा पनि केही कहलिएका सेलिब्रेटी बलात्कारको सिकार भएका छन्, जुन कुरा उनीहरू स्वयंले खुलासा गरेका हुन् । यद्यपि अन्यत्र भने अहिले पनि बलात्कारका बारेमा सेलिब्रेटीहरू उति खुलेको पाइँदैन । अमेरिकामा केही यस्ता सेलिब्रेटी छन् जसले आफ्नो अनुभव बाँड्ने साहसिक निर्णय गरेका छन् ताकि उनीहरूको अनुभवबाट बलात्कारको पीडा भोगिरहेका अरु पीडितहरू अघि बढ्न सामान्य जीवन जिउन सकून् ।

द र्‍यांकरले केही त्यस्तै सेलिब्रेटीको कथा प्रकाशित गरेको छ जो विगतमा बलात्कार वा यौन हिंसाको सिकार भै सकेका छन् । त्यसैमध्येकी एक साहसी अभिनेत्री तथा अभियन्ता हुन्–जेन फोन्डा । सन् २०१७ को मार्चको एक अन्तर्वार्तामा उनले आफू बाल्यकालमा बलात्कृत भएको उल्लेख गरेकी थिइन् । उनको पीडा यतिमात्र थिएन, उनलाई आफ्नो मालिकसँग नसुतेका कारण जागिरबाट समेत निकालिएको थियो ।

विश्वकै चर्चित व्यवसायी, पत्रकार, निर्माता, टक सो होस्ट, अभिनेत्री ओप्रा बिन्फ्रेले पनि कलिलै उमेरमा बलात्कृत हुनु परेको थियो । ओप्रा ९ वर्षकी हुँदा उनी आफ्नै नातेदारबाट बलात्कार भएकी थिइन् । त्यो बलात्कारको पीडासँग लड्दै उनी हुर्किइन्, तंग्रिइन् र अहिले विश्वभर टेलिभिजन प्रस्तोता तथा समाजसेवीका रूपमा प्रसिद्ध छिन् ।

गायिका लेडी गागाको नाम नसुन्ने कमै होलान् । ३२ वर्षीया गागा गीतकार, फेसन डिजाइनर तथा निर्माताका रूपमा समेत प्रसिद्ध छिन् । सन् २०१४ को डिसेम्बरमा लेडी गागाले आफू १९ वर्षको उमेरमा आफूभन्दा २० वर्ष बढी उमेरका निर्माताबाट बलात्कृत भएको खुलासा गरेकी थिइन् । अर्की अमेरिकी अभिनेतृ तथा मोडल ग्याब्रियल युनियनले सन् १९९२ मा एक युवाबाट बलात्कृत हुनुपरेको थियो, त्यतिबेला उनी १९ वर्षकी थिइन् र एक सुज सपमा काम गर्थिन् ।

टेरी ह्याचर प्रसिद्ध अभिनेतृ मात्र होइनन्, युट्युबर, लेखिका तथा गायिका पनि हुन् । उनलाई आफ्नै अंकलले पाँच वर्षको उमेरमा बलात्कार गरेका थिए । उनले बलात्कारीविरुद्ध उजुरी हालिन् र उसले १४ वर्ष लामो जेल सजाय भोग्नुपर्‍यो । यसैगरी पियानोवादक, म्युजिसियन, सिंगर फिओना एप्पेल सन् १९८९ मा आफ्नै अपार्टमेन्टबाहिर बलात्कारको सिकार भएकी थिइन् । त्यतिबेला उनी केवल १२ वर्षकी थिइन् ।

६१ वर्षीया फ्रयान ड्रेसचर त्यस्तै अभिनेत्री तथा चर्चित फिगर हुन् जो आफ्नै घरमा बलात्कारको सिकार भएकी थिइन् । फ्रयान ड्रेसचर र उनकी साथीलाई सन् १९८५ मा ड्रेसचरकै घरमा बलात्कार गरिनुका साथै लुटियो पनि । उनका पतिलाई बाँधेर उक्त घटना हेर्न बाध्य बनाइएको थियो ।

अन्य थुप्रै सेलिब्रेटीहरू पनि बलात्कारको सिकार भए तर कालान्तरमा उनीहरूले बलात्कारको पीडाबाट बाहिर निस्कदै प्रशस्त नाम तथा दाम कमाए । त्यसमै पर्छिन्, गायिका फ्यानटासिया जसले आफ्नै क्लासमेटबाट बलात्कृत हुनुपरेको थियो । र्‍यापर, निर्माता तथा गीतकार क्विन लतिफालाई सानो उमेरमा हेरचाह गर्ने व्यक्तिले नै बलात्कार गरेका थिए भने गीतकार, गायिका तथा निर्माता तोरी आमोस सन् १९८४ मा २१ वर्षको उमेरमा बलात्कृत भइन् । उनले त्यसको उल्लेख मी एण्ड गन गीतमा समेत गरेकी छिन् ।

अभिनेत्री म्याकेन्जी फिलिप्सले आफ्नै बुवाबाट १९ वर्षको उमेरमा बलात्कृत भएको दाबी गरेकी छिन् भने अभिनेत्री टिभी निर्देशक, निर्माता तथा लेखक एनी हिचे आफ्नै बुवाबाट बाल्यावस्थादेखि १२ वर्षसम्म बलात्कृत भएकी थिइन् । गायिका कोनी फ्रान्सिसको कथा अझ मार्मिक छ । सन् १९७४ मा न्यूयोर्कको एक होटलमा उनी बलात्कृत मात्र भइनन्, उनलाई झन्डै मारिएको थियो । यद्यपि त्यत्रो भीषण ब्रजपातका बीचबाट पनि यी सबै सेलिब्रेटीले जीवनको लयलाई बिग्रन दिएनन् । उनीहरूले साहस गरे, त्यस्तो पीडादायक घटनाबाट साहसिक यात्रा तय गरेर जीवनमा फरक प्रसिद्धि कमाए । त्यसैले त र्‍यांकरले उनीहरूका बारेमा लेखेको आलेखको शीर्षक राखेको छ, ‘सायद तपाईंहरूलाई थाहा छैन, यी साहसी सेलिब्रेटीहरू बलात्कार पीडित भएर आएका हुन् ।’

—र्‍यांकर, बीबीसीलगायतका

बेबसाइटहरूको सहयोगमा

 Image