Successfully Copied

उदाहरणीय सम्बन्ध

स्कुलका केटाहरूले बुद्धलक्ष्मीको समूहलाई जिस्काउँदा फिल्मी शैलीमा फाइट खेलेको क्षण सागरलाई अझै सम्झना छ । त्यही झगडापछि ती केटाहरूले बुद्धलक्ष्मी तिम्रो को पर्छिन् भन्ने प्रश्न गर्दा मेरी दिदी हुन् भनेपछि नै उनीहरूको सम्बन्ध प्रगाढ भएको हो ।

 

सागर र दाइ सुखदेव एउटै कक्षामा पढ्थे । सुखदेवकी साथी थिइन्–बुद्धलक्ष्मी मानन्धर । ९ कक्षामा पढ्दा रेडक्रसको अधिवेशनमा ३ रात सागर र बुद्ध टिम भएर काम गरेका थिए । त्यतिबेला अरू स्कुलका केटाहरूले बुद्धलक्ष्मीको समूहलाई जिस्काउँदा फिल्मी शैलीमा फाइट खेलेको क्षण सागरलाई अझै सम्झना छ । त्यही झगडापछि ती केटाहरूले बुद्धलक्ष्मी तिम्रो को पर्छिन् भन्ने प्रश्न गर्दा मेरी दिदी हुन् भनेपछि नै उनीहरूको सम्बन्ध प्रगाढ भएको हो । कक्षा १० पछि सागरलाई नपढाउने पसलमै राख्ने सोच थाहा पाएर उनी दिदीको घरमा बस्न थाले ।

सागर बुद्धलक्ष्मीका आमाबुवालाई आफ्नो दोस्रो आमाबुवा मान्छन् । २७ वर्षअघि बनेपाको गल्लीभित्रको संकुचित भावनाले घेरेको समाजमा सागरलाई छोराका रूपमा घरमा राख्नु पक्कै सानो कुरा होइन । सागरको परिवारमा मानन्धरको घरमा छोरा बस्न थालेपछि दाजुभाइले किचलो नै गरे तर आमालाई सन्चो नहुँदा बुद्धलक्ष्मीले सागरको घरमा पकाउने, ख्वाउने गर्न थालेपछि उनको घरमै क्रान्ति भयो । भान्सामै लान नहुने भन्ने जातलाई पकाउन दिएर खाएपछि घरमा युटर्न आयो । सागरले सुरुमा कम्प्युटर सेन्टर खोल्दा बुद्धलक्ष्मीले ४ वटा कम्प्युटर किनिदिएकी थिइन् ।

 त्यतिमात्र होइन बुद्धलक्ष्मीले स्वीटर बुनेर सागरको कलेजको फि तिरिदिन्थिन् । अहिले दिदीभाइ दुवैको आ–आफ्नो परिवार छ तैपनि उनीहरूको सम्बन्ध यथावत् छ । अहिले उनीहरू एउटै घरमा छुट्टाछुट्टै फ्ल्याटमा बस्छन् । दुवै परिवारको मुख्य जिम्मेवारी पनि दिदी बुद्धलक्ष्मीले नै लिएकी छिन् । बुद्धलक्ष्मी सागर कम्प्युटरकी सिइओ हुन् भने भाइ चेयरमेनको पदमा छन् । २७ वर्षअघि फिल्मी शैलीमा दिदी बनाएपछि २५ वर्षदेखि सागरको निधारमा बुद्धलक्ष्मीले भाइटीका लगाइदिँदै आएकी छिन् ।

त्यसैले उनीहरूको नाता रगतको नाताभन्दा प्रगाढ देखिन्छ । सागरको आजको अवस्थाको मुख्य श्रेय पनि दिदी बुद्धलक्ष्मीलाई नै जान्छ । बुद्धलक्ष्मी भन्छिन्–मैले सुरुवाती दिनमा साथ दिए पनि सागरको मेहनत र आत्मबलकै कारण उनले सफलता प्राप्त गरेका हुन् ।

 Image