Successfully Copied

तिहारको रमाइलो

वर्षौं भेट नभएका दाजुभाइलाई टीका लगाई आशीर्वाद दिइने हुँदा तिहारमा उनको मन चंगा हुन्छ । यसपटक आमा पनि नेपालमा आफूसँगै भएकीले यसपटकको तिहार अझ रमाइलो हुने उनको अनुमान छ । उनका तीन जना दाजुका साथै आमाको हातबाट टीका लगाउन तीन जना मामा पनि

मिस नेपाल सुगारिका केसीलाई सबैभन्दा मनपर्ने पर्व नै तिहार हो । एक त उनको जन्मदिन पनि भाइटीकाकै दिन पर्छ । सानैदेखि शाकाहारी सुगारिकालाई तिहारमा काटमार नहुने र काग, गाई, कुकुर एवं गोरुको पूजा हुने हुँदा तिहार रमाइलो लाग्छ । तिहारमा सबैतिर झिलिमिली हुँदा तथा पटका पड्काइँदा मौसम नै रमाइलो लाग्ने उनले बताइन् । सानैदेखि देउसी खेल्ने सुगारिका अहिले छोराको पछि लागेर दैउसी खेल्छिन् । उनी घरमै सेल, पुरी तथा अनरसा बनाउँछिन् । माछा–मासु नखाने भएर होला घरमा मिठार्इंको वासनाले उनको मनमा रोमाञ्चकता सिर्जना गर्छ । सानैदेखि आमाले भगवान् सफा–सुग्घरमा बस्छन् भन्नुहुन्थ्यो त्यसैले उनी घरका कुनाकाप्चा सबै सफा गरी घर चिटिक्क बनाउँछिन् । सुगारिकाका अनुसार तिहार विद्या र धनको मुख्य पर्व पनि हो । धनतेरसका दिन उनी चाँदीका सामान पनि किन्छिन् ।

गायिका मीना पोखरेल निरौलालाई सानैदेखि तिहार मन पथ्र्याे । भारतको मणिपुरमा जन्मिएकी मीनालाई तिहारमा घरहरू झिलिमिली हुँदा, लिपपोत गरी सफा राख्दा तथा मगमग वासना आउने गरी घरका झ्यालढोकामा सयपत्री फूलका माला सजाइँदा वातावरण नै रमाइलो भएजस्तो लाग्छ । उनी लक्ष्मीपूजाका दिन बैंकमा राखिएका गहना र पैसा घरमा ल्याई पूजा गर्छिन् । परिवारका सदस्यहरू सँगै बसेर मिठाईं पनि बनाउँछिन् । कुकुर, काग एवं गाई पूजाका साथै भाइटीकाका लागि मखमली तथा दूबोका माला उन्न पनि सारै जाँगर चल्छ उनलाई । मीना दसैं र तिहारको मौका पारेर माइती मणिपुर जान्छिन् जहाँ उनी साथीभाइहरूसँग देउसी खेल्छिन् । वर्षौं भेट नभएका दाजुभाइलाई टीका लगाई आशीर्वाद दिइने हुँदा तिहारमा उनको मन चंगा हुन्छ । यसपटक आमा पनि नेपालमा आफूसँगै भएकीले यसपटकको तिहार अझ रमाइलो हुने उनको अनुमान छ । उनका तीन जना दाजुका साथै आमाको हातबाट टीका लगाउन तीन जना मामा पनि काठमाडौं आउने भएका छन् । दाजुभाइसँगको सम्बन्ध विशेष बनाउने र पशुपंक्षी तथा जनावरको पूजा गरिने चाड भएकाले पनि उनलाई अरु चाडपर्वको तुलनामा तिहार विशेष लाग्छ ।

नायिका माला लिम्बू सिंगापुरमा हुर्किए पनि चाडपर्वहरू राम्रोसँग मनाउँदै आएकी छिन् । विदेशमा नेपाली चाडपर्वलाई अझ बढी महत्व दिइने हुँदा उनलाई सबै पर्वका बारेमा जानकारी छ । तिहारमा सैनिक क्याम्पलाई केही समय अघिदेखि नै झिलिमिली पारिने तथा समूहमै काग, कुकुर एवं लक्ष्मीपूजा आदि गरेर मनाइने उनले बताइन् । सिंगापुरमा यहाँ जस्तै गोबरले लिपेर, देउसी खेलिन्थ्यो । नेपाल आएपछि धरानको कलेजबाट साथीहरूसँग भैली खेल्न गएको अनुभव पनि छ मालासँग । भाइलाई विधिपूर्वक टीका एवं माला लगाइलिने चलनले भातृत्व तथा एकता कायम राख्ने मालाको धारणा छ ।

मोडल तथा नायिका पूजन थापालाई गाउँमा साथीहरू भेट्ने तथा समूह–समूह मिलेर देउसी खेलिने भएकै कारण पनि तिहार रमाइलो लाग्छ । काठमाडौं बस्दै आएकी पूजन तिहारका लागि इटहरी जान्छिन् । उनीहरूको टोलमा आमा समूह, युवा समूह तथा बाल समूहको छुट्टाछुट्टै देउसी–भैलो आयोजित हुन्छन् । साथीहरूसँग देउसी खेलेर कमाएको पैसाले उनीहरू तिहारपछि फेरि रमाइलो गर्छन् । पूजन दसैंमा हालेको पिङ तिहारसम्म यथावत् हुने हुँदा साथीहरूसँग मिलेर पिङमा मच्चिएर आफ्नो बालापन पनि सम्झन्छिन् । तिहारमा उनलाई सबैभन्दा रमाइलो लाग्ने दिन भाइटीका हो । आफ्नो एक जना भाइ भए पनि अरू भाइहरू गरेर चार जनालाई टीका लगाइदिन्छिन् । मामाघर पनि इटहरि नै भएकाले आमासँग मामाघर गएर टीका लगाउने चलन छ । तिहारमा मामा–माइजूले पनि भान्जीहरूलाई टीका लगाई दक्षिणा दिने चलन भएकाले पूजनका लागि भाइटीकाको दिन दक्षिणा र उपहारको बहारै आउँछ । उनी आमासँग विभिन्न प्रकारका मिठाईं पनि बनाउँछिन् । अरू बेला दाजुभाइसँग केही मनमुटाब भए पनि यो पर्वले सम्बन्धलाई मजबुत बनाउने पूजनको तर्क छ ।

नायिका बेनिशा हमाललाई पनि तिहार विशेष रमाइलो लाग्छ । टोल–बजार सबै झिलिमिली बत्तीले रंगीन हुन्छ भने देउसी–भैली खेल्न आउनेहरूले वातारण अझ थप रमाइलो बनाइरहेका हुन्छन् । तिहारका ५ दिन उनलाई त्यत्तिकै स्पेशल लाग्छन् । त्यसमा पनि धेरै जना दाजुभाइलाई टीका लगाइदिन पाइने हुँदा भाइटीका अझ रमाइलो लाग्ने उनी बताउँछिन् । बेनिसाले ६ जना दाजुभाइलाई भाइटीका लगाइन्छिन् । चितवनकी बेनिसा हरेक तिहारमा चितवनको मूलघरमै पुग्छिन् । अहिले व्यस्त भएकीले तिहारको सेडुअल पनि डामाडोल हुने उनले बताइन् । बेनिसा बाल्यकालमा गुन्यू–चोलो लगाई मेकअप गरेर भैलिनी खेल्न जान्थिन् भने त्यसबाट आएको पैसाले भोलिपल्ट पसलमा गएर मीठा–मीठा परिकार किनेर खान्थिन् । बाल्यावस्थामा जस्तो ठूलो भएपछि त्यति रमाइलो त हुँदैन तर कुकुरलाई सारै माया गर्ने बेनिसा कुकुर पूजामा कुकुरको पूजा गरी टीका, माला लगाइदिँदा भने सारै रमाइलो मान्छिन् ।

 Image