Successfully Copied

सदन द फाइभ पेटल्स

अनिशाले आफूले भोगेका तथा वरपर देखेका घटनाहरूका कारण उत्पन्न हुने विचार तथा अनुभूतिहरूलाई चित्रमार्फत व्यक्त गरेकी छिन् । विशेषगरी उनले पितृसत्ताको खोलमा मिल्काइएका महिला अनुभवलाई उजागर गरेकी छिन् ।

युवा महिला कलाकार सविता डंगोल, अनिशा महर्जन, दीपमाला महर्जन, अनामिका गौतम तथा नम्रता सिंहका अन्तहर््दयका आवाजहरू ‘सदन: द फाइभ पेटल्स’ चाकुपाटस्थित क्लासिक ग्यालरीमा प्रस्तुत भएका छन् । यी ५ जना कलाकारले आ–आफ्नो क्यानभासमा स्वतन्त्र विषयवस्तुमा आफ्ना भावना व्यक्त गरेका छन् । सविता, अनिशा, दीपमाला, नम्रता एउटै कलेजमा एमएफए गरेका सहपाठी हुन् भने अनामिकाले लखनउ युनिभर्सिटीबाट स्नातक गरेकी हुन् । उनीहरूले आ–आफ्नो कलामार्फत महिला सशक्तीकरण, देशको अवस्था एवं समसामयिक विषय आदिलाई प्रस्तुत गरेका छन् । एउटै फूलका ५ फरक पत्रझैं यी युवा कलाकार एउटै मञ्चमा समाजका फरक–फरक आयाम लिएर प्रदर्शनीमा उपस्थित भएका हुन् ।

एउटै ब्याचमा एमएफए गरे पनि सक्रियताको हिसाबमा कलाकार सविता डंगोलले ४ वटा एकल कला प्रदर्शनी गरिसकेकी छिन् भने उनी विदेशका प्रदर्शनीहरूमा समेत सहभागी भैसकेकी छिन् । सविताको कलाको प्रतीक काइँयो हो । उनका यहाँ समावेश कलामा पनि काइँयो र प्रेमिल जोडीहरू समावेश छन् । प्रेमिल जोडीलाई आफ्नो चित्रकलाको मुख्य विषय बनाएकी सविताले आफ्नो मूल प्रतीक काइँयोलाई यथावत् राखी अष्ठमण्डलका आकृतिलाई समावेश गरेकी छिन् । बौद्ध धर्मदर्शनले अष्ठमण्डललाई शुभमंगलको प्रतीकका रूपमा लिने गरेको छ । कलाकार दीपमालाले आफ्नो क्यानभासमार्फत पितृसत्ताले विवाहित महिलालाई कति साँघुरो ठाउँ दिएको छ र उनीहरू कसरी अप्ठेरो गरी बसेका छन् भन्ने कुरा उजागर गरेकी छिन् । उक्त साँघुरो घेरा कुनै दिन तोडिन सक्छ भन्ने सन्देश पनि उनका चित्रमा पाइन्छ ।

कलाकार अनामिकाले समाजमा विद्यमान लैंगिक विभेद, सामाजिक संरचना तथा राजनीतिक समस्याप्रति आफ्नो विरोधपूर्ण विचार व्यक्त गरेकी छिन् । अनामिका क्यानभासमा रंग भर्नुअघि नेपाली कागज टाँस्छिन् र विभिन्न टेक्निक अपनाई त्यसमा चित्र कोर्छिन् । यो उनको पृथक् अभ्यास हो ।

अनिशाले आफूले भोगेका तथा वरपर देखेका घटनाहरूका कारण उत्पन्न हुने विचार तथा अनुभूतिहरूलाई चित्रमार्फत व्यक्त गरेकी छिन् । विशेषगरी उनले पितृसत्ताको खोलमा मिल्काइएका महिला अनुभवलाई उजागर गरेकी छिन् । अनिशाका चित्रमा महिला तथा बालबालिकाहरूका विविध पक्ष समेटिएका छन् ।

कलाकार नम्रताले भने बुद्धको ज्ञान, आध्यात्मिकपथ एवं नि:स्वार्थ प्रेमलाई आत्मसात् गर्दै तिनमै केन्द्रित चित्रहरू कोरेकी छिन् । उनका चित्रमा मिथिला कलाको छनक पाइन्छ ।

 Image